वाग्मतीमा कांग्रेस-माओवादी आरोपप्रत्यारोप, ७१ दिनदेखि जिम्मेवारीविहीन छन् मन्त्री चित्रकार

निशा गुरुङ
२०८० साउन १६ गते १२:३२ | Aug 1, 2023
वाग्मतीमा कांग्रेस-माओवादी आरोपप्रत्यारोप, ७१ दिनदेखि जिम्मेवारीविहीन छन् मन्त्री चित्रकार


हेटौंडा। वाग्मती प्रदेश सरकारका बिनाविभागीय मन्त्री रामकृष्ण चित्रकार ७१ दिनदेखि जिम्मेवारीविहीन छन्। वाग्मती प्रदेश सभामा कांग्रेसका संसदीय दलका उपनेता चित्रकारलाई हेटौंडा-२ स्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा एउटा कोठा दिइएको छ, सरकारमा जिम्मेवारी छैन।

Tata
GBIME

उनले गत जेठ ७ गते मन्त्री पदको शपथ लिँदा नै छिट्टै जिम्मेवारी तोकिने आश्वासन दिइएको थियो। सुरुवातदेखि नै भागबण्डाको किचलोमा फसेको शालिकराम जम्कट्टेल नेतृत्वको सरकारमा उनी अहिलेसम्म मन्त्रालयविहीन छन्। लामो समयसम्म चित्रकारलाई जिम्मेवारीविहीन बनाइएपछि आइतबार प्रदेशको मन्त्रिपरिषद् बैठकमा छिट्टै मन्त्रालय तोक्ने छलफल भयो।

चित्रकारले मन्त्रीका रुपमा बस्ने क्वाटरसमेत पाएका छैनन्। दुई महिनासम्म होटलमा बसेका उनले भर्खरै हेटौंडामा एउटा कोठा भाडा लिएका छन्। चित्रकार प्रदेशसभा निर्वाचनमा विजयी भएपश्चात मुख्यमन्त्रीको दाबेदार थिए। ललितपुर-२(२) बाट प्रदेशसभामा उनी ६ हजार ९९५ मतसहित निर्वाचित भएका हुन्।

७ जेठमा कांग्रेसबाटै मसिना खड्का भण्डारीले वन तथा वातावरण, पुकार महर्जनले पर्यटन उद्योग तथा सहकारी र उत्तम जोशीले स्वास्थ्य मन्त्रीको शपथ लिए। तर, दलको उपनेता नै बिनाविभागीय मन्त्री बन्न पुगे। त्यतिबेला कांग्रेसभित्र मन्त्रीका लागि ठूलै लडाइ चलेको थियो।

वाग्मतीमा मुख्यमन्त्री जम्कट्टेलले १४ मन्त्रालयलाई घटाएर ११ मा झारेका थिए। गठबन्धनमा भागबण्डा नमिल्दा उनी आफ्नै निर्णयबाट पछि हट्न बाध्य भए। जसकारण कांग्रेसका चित्रकारसहित १२ सदस्य मन्त्रिपरिषद् गठन गरे उनले।

अहिले पनि मन्त्रालय संख्या बढाएर विवादित बन्न नचाहने मनसायमा मुख्यमन्त्री बसेका जम्कट्टेल छन्। तर चित्रकारलाई जिम्मेवारी नदिँदा भने गठबन्धनमा विवाद देखिन थालेको छ।

आफूलाई मुख्यमन्त्री कार्यालयमा राखेर खरिदार कर्मचारीको हैसियतमा पुर्‍याएको भन्दै चित्रकार रुष्ट छन्। चित्रकारले जम्कट्टेलाई राजीनामा दिने चेतावनीसमेत दिइसकेका छन्।

‘मलाई जिम्मेवारी पछि तोकिने भनेर मन्त्रीको शपथ गराइयो। अहिले मुख्यमन्त्री कार्यालयमा राखेर खरिदार कर्मचारी जस्तो बनाइएको छ। कर्मचारीको दैनिकीले म दिक्क भइसकेँ। अब राजीनामा दिन्छु।,’ उनले भने।

सुरुकम एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीसँगको गठबन्धन गरेर जम्कट्टेल मुख्यमन्त्री बनेका थिए। त्यो गठबन्धन टुटेर नेपाली कांग्रेस र नेकपा (एकीकृत समाजवादी) सँग मिलेपछि दोस्रोपटक विश्वासको मत लिएर सरकार चलाइरहेका जम्कट्टेल बजेटको तयारी देखाएर चित्रकारलाई पन्छाइरहेका थिए। बजेट पनि सकिएपछि भने चित्रकारलाई थुम्थुम्याउने ठाउँ नदेखिएकाले मुख्यमन्त्री जम्कट्टेल दबाबमा छन्।

जम्मकट्टेल भने केही दिनभित्रै चित्रकारलाई जिम्मेवारी दिने दाबी गरिरहेका छन्।

जिम्मेवारी दिने विषयमा साउन १४ गते सत्तारुढ दलका शीर्ष नेताहरुबीचसमेत छलफल भएको थियो।

‘जिम्मेवारीविहीन भएर बस्दा उहाँलाई असहज हुनु स्वभाविक हो। तर हाम्रो गठबन्धन दलका माओवादी र कांग्रेसबीच धारणा फरक फरक हुँदा यस्तो परिस्थीति सिर्जना भएको हो,’ मुख्यमन्त्री जम्मकट्टेलले भने, ‘अब केहिदिनमै उहाँलाई जिम्मेवारी दिन्छौं।’

प्रदेशमा ११ मन्त्रालय रहेको तर कांग्रेसकै अडानले १२ जनालाई मन्त्री बनाउनुपर्दा यो समस्या देखिएको जम्मकट्टेल बताउँछन्।

भौतिक मन्त्रालय फुटाउनुपर्ने अडान

कांग्रेसको आँखा माओवादी केन्द्रका युवराज दुलालले सम्हालिरहेको भौतिक पूर्वाधार विकास मन्त्रालयमा छ। प्रदेशको सबैभन्दा ठूलो बजेट हिस्सा ओगटेको भौतिक मन्त्रालय फुटाएर चित्रकारलाई जिम्मेवारी दिनुपर्ने माग कांग्रेसले मुख्यमन्त्री जम्कट्टेल समक्ष राखेको हो। तर कांग्रेसले भौतिक मन्त्रालय फटाउनुपर्ने बताए पनि त्यसको विकल्पमा अर्कै मन्त्रालय फुटाउने तयारी भइरहेको जम्कट्टेल बताउँछन्। जम्कट्टेलको अडानका कारण कांग्रेसको अडान अहिले धरमरमा छ।

भौतिक मन्त्रालय फुटाएर सहरी विकास तथा भवन हेर्ने गरी छुट्टै मन्त्रालय बनाउनुपर्ने प्रस्ताव कांग्रेसले राखेको छ। चालु आर्थिक वर्ष २०८०-८१ का लागि सहरी विकास तथा भवनको शीर्षकमा छुट्टै बजेट विनियोजन भएको छ। तर, माओवादीभित्रकै दबाबले यो कार्य रोकिनु पुगेको हो।

कांग्रेस वाग्मती प्रदेश संसदीय दलका नेता एवं अर्थमन्त्री बहादुर सिंह लामाले सुरुदेखि नै कांग्रेसले भौतिक मन्त्रालयमा दाबी गरेको बताए। बजेट नभएको र कामको हिसाबले पनि सानो मन्त्रालय फुटाउनु औचित्य नभएको उनको भनाई छ।

‘भौतिक मन्त्रालय फुटाउने पक्षमा मुख्यमन्त्री नदेखिएपछि बीनाविभागीय मन्त्रीले अहिलेसम्म जिम्मेवारी पाउन सकेको छैन। अरु सानो मन्त्रालय र थौरै मन्त्रालय फुटाएर पनि कुनै औचित्य छैन। त्यसकारण हाम्रो दाबी भौतिक मन्त्रालय फुटाएर सहरी विकास तथा भवन मन्त्रालय बनाउनुपर्ने हो,’ लामाले भने।

उनले बीनाविभागीय मन्त्री चित्रकारलाई जिम्मेवारी दिने विषयमा केहि समय अगाडि नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग छलफल हुने भनिए प्रचण्ड पत्नी सिता दाहालको निधनले छलफल रोकिएको र पछि प्रधानमन्त्री फेरि वैदेशिक भ्रमण निस्किएपछि छलफल ढिला भएको बताए। उनले अबको एक दुई दिनमा जिम्मेवारी नदिए कांग्रेस आफैले निर्णय गर्नेसमेत चेतावानी दिइसकेको बताए।

वाग्मती प्रदेशसभामा सातवटा दलको प्रतिनिधित्व छ। प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको दुईजना सांसद छ।

मुख्यमन्त्रीसहित ४ वटा मन्त्रालय माओवादीसँग, कांग्रेसले आर्थिक मामिलासहित ५ वटा मन्त्रालय लिएका छन्। कांग्रेसले बीनाविभागीय मन्त्री चित्रकारका लागि थप एउटा मन्त्रालय लिन बाँकी छ। एकीकृत समाजवादीले श्रम रोजगार तथा यातायात र कृषि तथा पशुपन्छी विकास मन्त्रालय लिएको छ।