काठमाडौं। सुदूरपश्चिम प्रदेश सरकारले सवारीसाधनमा करको नयाँ दर निर्धारण गरेको छ। प्रदेश सरकारले सवारी साधन र तीनको क्षमता अनुसार कर निर्धारण गरेको हो।
१००० सीसी क्षमतासम्मका कार, जिप, भ्यान र माइक्रोबसका लागि १९ हजार, १००१ देखि १ हजार ५०० सीसीसम्मका लागि २१ हजार र १ हजार ५०१ देखि २००० सीसीसम्मका लागि २३ हजार रुपैयाँ वार्षिक कर तोकिएको छ।
यसैगरी २ हजार १ सीसीदेखि २ हजार ५०० सीसीसम्मका सवारीसाधनले ३२ हजार, २ हजार ५०१ देखि २ हजार ९०० सीसीसम्मका सवारीसाधनले ३७ हजार र २ हजार ९०१ सीसीभन्दा माथिकाले ५३ हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्नेछ।
यस्तै विद्युतीय कार, जीप, भ्यान र माइक्रोबसका हकमा ४९ किलोवाटसम्म १० हजार, ५० देखि १२५ किलोवाटसम्म १५ हजार, १२६ देखि २२५ किलोवाटसम्म २० हजार र २२६ किलोवाटभन्दा माथिकाले ३० हजार रुपैयाँ वार्षिक कर तिर्नुपर्नेछ।
मोटरसाइकल तथा स्कुटरको वार्षिक कर सीसी अनुसार २ हजार ५०० देखि ९ हजार रुपैयाँसम्म छ। १२५ सीसीसम्मका लागि २ हजार ५००, १२६ देखि १५० सीसीसम्मका लागि ४ हजार ५००, १५१ देखि २५० सीसीसम्मका लागि ५ हजार ५००, २५१ देखि ४०० सीसीसम्मका लागि ८ हजार र ४०० सीसीभन्दा माथिका लागि ९ हजार रुपैयाँ तोकिएको छ।
डोजर, एक्साभेटर, लोडर, ट्रिपर वा क्रेन जस्ता उपकरण तथा मिनि ट्रिपरको पनि कर बढेको छ। डोजर, एक्साभेटर, लोडर वा क्रेन ट्रिपर जस्ता केशिनरी उपकरणको ३५ हजार र मिनिट्रिपरको २५ हजार रुपैयाँ कर तिर्नुपर्नेछ।
यस्तै, मिनिबसको २० हजार र ट्रक वा ठुला बसको ३० हजार रुपैयाँ वार्षिक कर तोकिएको छ।
भाडाका कार, जिप, भ्यान र माइक्रोबसको पनि सीसी अनुसार ८ हजार रुपैयाँदेखि १५ हजार रुपैयाँसम्म वार्षिक कर निर्धारण गरिएको छ। यसैगरी भाडाका विद्युतीय सवारीाधनमा क्षमता अनुसार २ हजार ५०० देखि १५ हजार रुपैयाँ वार्षिक कर तोकिएको छ।