महँगो मूल्यका सेयर बढेको बढ्यै, मौद्रिक नीतिपछिको गिरावटमा पनि चम्किन छोडेनन्, कारण के?

विक्रम भट्टराई
२०८० साउन १५ गते १२:१२ | Jul 31, 2023
महँगो मूल्यका सेयर बढेको बढ्यै, मौद्रिक नीतिपछिको गिरावटमा पनि चम्किन छोडेनन्, कारण के?


काठमाडौं। युनिलिभर नेपालको सेयर प्रतिकित्ता ३७ हजार रुपैयाँमा किनबेच हुँदैछ। जुन मूल्य हालसम्मकै उच्च हो। गत पुस तेस्रो सातायता कम्पनीको सेयर मूल्य दोब्बर भइसकेको छ। बजारको लयलाई उछिनेर कम्पनीको सेयरमा यस्तो भारी वृद्धि किन? 

Tata
GBIME

नेप्सेको सबैभन्दा मूल्यवान कम्पनी यसरी उचालिंदा चलखेलको आशंका लगानीकर्तामा बढेको छ। साथै उनीहरुमा कम्पनीको मूल्यलाई लिएर कौतुहलता पनि बढेको छ। ‍अझै बढ्ला? अथवा ५० हजार नै नाघ्ला? जस्ता जिज्ञासा बढेका छन्। 

स-साना कित्ता किनबेचको भरमा मूल्य अचाक्ली बढ्दा युनिलिभर र यसलाई टक्कर दिने टप टायर कम्पनीमा समग्र बजारको आँखा गडिएको हो। महँगामध्येका बोटलर्स नेपाल तराई र राष्ट्रिय बीमा कम्पनीको सेयरमा पनि सामान्यभन्दा बढी सक्रियता देखिन्छ। यतिसम्म कि मौद्रिक नीतिपछिको फराकिलो गिरावटमा पनि महंगा स्टकको मूल्य वृद्धिले निरन्तरता पाइरहेको छ।

तर अनुभवीहरु ‘फ्लोट’ हुने कित्ता अत्यधिक कम हुँदा सामान्य गतिविधिले पनि कम्पनीको सेयर तरंगित हुने तर्क गर्छन्। ‘एक त कारोबारयोग्य सेयर नै ज्यादै न्यून छ। जति छन्, म्युचुअल फण्डमा पनि बाँडिएका छन्। जोसँग ठूलो संख्यामा सेयर छ, उनीहरुको लगानी ‘माइनस’ मै पुगिसक्यो। बेच्ने कारण नै छैन,’ उनले भने।  

यो असामान्य भने होइन। अन्तर्राष्ट्रिय सेयर बजारलाई हेर्ने हो भने यस्ता उदाहरण थुप्रै छन्। विश्वका छैटौं धनाढ्य व्यक्ति वारेन बफेटको कम्पनी बर्कशायर ह्याथवेको एक कित्ता सेयरको मूल्य ५ लाख २७ हजार ७५० अमेरिकी डलर छ। यो विश्वबजारमै सबैभन्दा महँगो कित्ता हो। कम्पनीको कुल ५ लाख ८५ हजार ८४८ कित्ता सेयर छ। जबकि कम्पनीले पछिल्लो ५२ वर्षको इतिहासमा कुनै प्रतिफल नै दिएको छैन।

युनिलिभर नेपालमा सर्वसाधारणको हिस्सेदारी १५ प्रतिशत मात्रै छ। सूचीकृत ९ लाख २० हजार ७ सय कित्तामध्ये एक लाख ३८ हजार १०५ कित्ता मात्रै सर्वसाधारणको हो।

त्यसैले ठूलाले चलखेल गरे भन्नु पनि तार्किक नहुने ती अनुभवी बताउँछन्। ‘कम्पनीका मुख्य लगानीकर्ताले आफ्नो स्वामित्व बजारमा उतार्दा किन्न सक्ने क्षमताको नै कोही छैनन्,’ उनले भने, ‘पछिल्लोपटक बजारले सबै सेक्टर र सबै स्टकलाई बढ्ने मौका दिएको छ। सबैको पालो सकिँदा अब बढाउने नयाँ विकल्पमा यी स्टक परेका हुन्।’     

युनिलिभर नेपालमा सर्वसाधारणको हिस्सेदारी १५ प्रतिशत मात्रै छ। सूचीकृत ९ लाख २० हजार ७ सय कित्तामध्ये एक लाख ३८ हजार १०५ कित्ता मात्रै सर्वसाधारणको हो। हिन्दुस्तान युनिलिभर लिमिटेडको ८० र एनई ग्रुपका अध्यक्ष रविभक्त श्रेष्ठको सिवक्रिम होल्डिङ्स प्रालिको ५ प्रतिशत लगानी छ। 

बोर्टलर्स नेपाल बालाजुको ९०.७८ प्रतिशत लगानी रहेको बोटलर्स नेपाल तराईमा सर्वसाधारणको ९.२ प्रतिशत मात्रै होल्डिङ छ। बोर्टलर्स नेपाल बालाजुको सेयर संरचनामा गहिरिने हो भने यसमा उद्योगी राजेन्द्र खेतानको प्रमुख लगानी भएको गोर्खा ब्रुअरीको २२ र कोकाकोला साउथबेष्ट एसियाको ७६.१५ प्रतिशत सेयर भेटिन्छ। आम सर्वसाधारणको हिस्सा १.८४ प्रतिशत मात्रै हो। 

यी सबैका बाबजुद बजारले ३२ सयको ऐतिहासिक उचाइ कायम गर्दैगर्दा दौडमा पछि परेका यी कम्पनी अहिले एकाएक चम्किएका छन्। गत आर्थिक वर्षको वित्तीय विवरण आउनु अगावै कतै आन्तरिक व्यवस्थापनबाटै सूचना त चुहिएन? लगानीकर्ताबीच चर्चा छ।

कम्पनीले चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँबाट साढे २ अर्ब पुर्‍याउनुपर्नेछ। ८०.४६ प्रतिशत सरकार र सरकारी स्वामित्वका कम्पनीको हिस्सेदारी भएको राष्ट्रिय बीमा २.२४ अर्ब रुपैयाँ क्यापिटल डिफिसिटमा छ। जसको विकल्प बोनस सेयर अथवा हकप्रद नै हो।

यी कम्पनी आधारभूत रुपमा निकै बलिया हुन् भन्ने साधारण लगानीकर्तालाई थाहा नभएको होइन। युनिलिभर र बोटलर्स नेपाल जस्ता ब्लूचिप कम्पनीमा आकर्षण हुनु सामान्य हो।

दुवै कम्पनीले उत्साहजनक कारोबार गरेका छन्। पछिल्ला तीन वटै त्रैमासमा युनिलिभरको नाफा उल्लेख्य दरमा वृद्धि भएको छ। उसले गत वर्ष चैतसम्म १ अर्ब २६ करोड रुपैयाँ खुद नाफा कमाएको छ। यही अनुपातमा गए अघिल्लो वर्षको नाफालाई उछिन्ने निश्चित छ। जुन डेढ अर्ब रुपैयाँ थियो।

कम्पनीको लाभांशको ट्रयाक रेकर्ड पनि निकै लोभलाग्दो छ। पोहोर १२१५ रुपैयाँ प्रतिकित्ताका दरले वितरण गरेको थियो। यस पटकको नाफा पोहोरभन्दा बढी हुँदा लाभांश दर पनि नबढ्ला भन्न सकिँदैन। उसले १२७० प्रतिशतसम्म दिएको रेकर्ड छ।   

यता बोटलर्स नेपालका दुवै कम्पनीले दिने लाभांश पनि आकर्षक छ। पोहोर तराईले ६० र बालाजुले २० प्रतिशत दिएका थिए।

तर यी दुईमा भन्दा बजारको आँखा राष्ट्रिय बीमा कम्पनीमा केन्द्रित छ। कम्पनीले चुक्ता पुँजी २६ करोड ६६ लाख रुपैयाँबाट साढे २ अर्ब पुर्‍याउनुपर्नेछ। ८०.४६ प्रतिशत सरकार र सरकारी स्वामित्वका कम्पनीको हिस्सेदारी भएको राष्ट्रिय बीमा २.२४ अर्ब रुपैयाँ क्यापिटल डिफिसिटमा छ। जसको विकल्प बोनस सेयर अथवा हकप्रद नै हो। कम्पनीले लाभांश नदिएको झन्डै दुई दशक हुन लागेको छ।

तर कम्पनीले गत जेठ ३१ गते यी प्रस्ताव बेगर साधारणसभा सम्पन्न गर्‍यो। पर्याप्त जगेडा र अवितरित नाफाले गर्दा कम्पनीको पुँजीकोष भने निकै बलियो छ। कम्पनीले कोषको रकम परिचालन गरेरै चुक्ता पुँजी पुर्‍याउन सक्छ। चैतसम्म यस्तो कोषमा ३ अर्ब ७२ करोड रुपैयाँ सञ्चित छ।