
काठमाडौं। चार वर्षसम्म लगातार घामपानीमा थन्क्याइएको मोटरसाइकल कस्तो हुन्छ होला? राजस्व अनुसन्धान कार्यालय अत्तरियामा एउटा मोटरसाइकल यस्तै हालतमा लडिरहेको थियो।
घटना झन्डै पाँच वर्षअघिको हो। सशस्त्र प्रहरीको टोलीले जनकपुर उपमहानगरपालिका लोहनाबाट भारततिर जाँदै गरेको मोटरसाइकल र ९२ प्याकेट चाँदी (पाँच किलो) बेवारिसे अवस्थामा फेला पारेको थियो। मोटरसाइकलमा भएका व्यक्ति भने सशस्त्र प्रहरी देखेपछि फरार भएका थिए। आफ्नो क्षेत्रमा अनुसन्धान नपर्ने भएपछि प्रहरीले बरामद गरेको चाँदीसहित मोटरसाइकल राजस्व कार्यालयलाई बुझायो। चाँदी सरकारको खातामा गयो। मोटरसाइकल त्यसै कार्यालयमा लडिरहेको थियो। अनुसन्धान कार्यालय अत्तरियाले केही महिनापछि उक्त मोटरसाइकलको हकदाबीका लागि सूचना जारी गर्यो। प्रहरीले समातेको, त्यसमाथि अवैध तरिकाले चाँदी बोकेको। आफ्नो भन्दै कसले दाबी गर्ने? हकदाबी परेन।
त्यसको करिब चार वर्षपछि मोटरसाइकल लिलामीको सूचना निकालियो। बोलपत्र हालेकामध्ये तीन जनाले सो मोटरसाइकललाई १५ हजारभन्दा कम मूल्य कबोल गरेका थिए। एक जना भने त्यसैलाई ७५ हजार रुपैयाँ तिर्न तयार भए। मोटरसाइकल नचल्ने भएर कवाडीको हालतमा थियो। जसले किन्न चाहेका थिए -उनले किन त्यति धेरै कबोले?
लिलामीको बोलपत्रमा परेको रकमबारे कार्यालयले राजस्व अनुसन्धान विभागमा नै जानकारी गरायो। त्यतिखेर विभागका महानिर्देशक थिए दीर्घराज मैनाली। उनलाई मोटरसाइकलको अवस्था र बोलपत्रमा तिर्न तयार भएको रकम अस्वाभाविक लाग्यो। त्यसपछि उनले बोलपत्र नै नखोल्न निर्देशन दिए।

त्यसपछि उक्त मोटरसाइकल काठमाडौं ल्याइयो।
मोटरसाइकल खोलेर हेर्दा पेट्रोल ट्याङ्कीमा २५ किलो चाँदी भेटियो। तेल ट्याङ्कीभित्र बनाइएको लक खोलेर हेर्दा सेतो प्लास्टिकमा लुकाई राखेको प्रति प्याकेट २ किलो ५०० ग्रामका १० वटा पोका भेटियो।
बोलपत्रबाट मोटरसाइकल महंगोमा सकार्न चाहने व्यक्ति निर्मलकुमार सिंघानिया थिए। सिंघानिया धनुषामा शिव ज्वेलर्स नाम गरेको सुनचाँदी पसलका सञ्चालक। अनुसन्धान उनै सिंघानियातिर सोझियो।
अन्ततः उनी चाँदीको तस्कर भएको खुल्यो। त्यसपछि सिंघानियासहित दुई जनाविरुद्ध ३५ करोड ५५ लाख बिगो दाबीसहित अदालतमा मुद्दा दायर भयो।
२०७९ पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिक ली हेन काठमाडौं ओर्लिँदा उनका साथमा दुई सुटकेस थिए। भन्सार कार्यालयमा खटिएका नासु टिकाराम माझीले सुटकेसको एक्स-रे गरे। माझी नेपाल उड्डयन प्राधिकरणबाट एक्स-रे/ स्क्रिनिङ तालिम लिएर खटिएका कर्मचारी थिए। सुटकेस एक्स-रे गर्दा एउटै वस्तु धेरै संख्यामा ल्याएको देखेपछि ‘व्यापारिक प्रयोग’ र ‘भन्सार तिर्नुपर्ने’ भन्दै रेड च्यानल ‘आरसी’ लेखेर पठाए।
आरसी लेख्नुको अर्थ हो भित्रिरहेको मालसामानको पुनः एक्स-रे गर्नुपर्छ। दोहोर्याएर रेड च्यानलमा परीक्षण गर्दा महंगो धातु वा अन्य पदार्थ रहे नरहेको देखिन्छ। पुनः एक्स-रे गर्दा पनि केही देखिएन तर शंका निवारण पनि भएन भने भौतिक रूपमा नै खोलेर खानतलासी गरिन्छ -म्यानुअल रूपमा।
भन्सारका नासु भुवनराज घिमिरेले सुटकेसमा रहेको सामान गणना गर्दा ७३ वटा प्याकभित्र ७३० वटा भेप रहेको विवरण उठाए। भेप सुर्तीजन्य बस्तु भएकाले लिलामी गर्न मिल्ने कानुन छैन। त्यसैले नष्टको विकल्प छैन।
तर, यसपटक जफत भएको भेप लिलामीका लागि कर्मचारीमाथि चर्को दबाब पर्न थाल्यो। भन्सार प्रमुख अरुण पोखरेल लिलामीका लागि तयार थिएनन्। किनकि कानुनी रूपमा उनी बाँधिएका थिए।
लिलामी नहुने भएपछि एकाएक घटनाक्रमले नयाँ मोड लियो। नासु खड्काको सहयोगमा भन्सार एजेन्ट दिनेश बस्नेत लगायतको समूहले प्लान बी लागू गर्यो। जसअनुसार भन्सारमा रहेको सामान साटफेर गर्ने। त्यसका लागि भन्सार गोदामबाट सुन निकाल्न खड्का र बस्नेत पटक पटक १११ नम्बरको कोठामा पुगेको देखियो। यस प्रकरणमा पक्राउ परेपछि दिनेशले प्रहरीसँगको बयानमा यसबारे स्वीकार गरेका छन्। भेपभित्र कूल ९ किलो सुन लुकाइएको थियो। भन्सारले लिलामीमा नलैजाने भएपछि उनीहरूले दोस्रो प्लानमा काम थालेका थिए।
‘करिब ८/९ दिन लगाएर रेवन्त खड्काको सामुन्नेमा भेप फुटाएर त्यसमा रहेको सुन झिकी बाहिर लगेको हो,’ दिनेशले प्रहरीलाई दिएको बयानमा उल्लेख छ।

भेप फुटाउँदा निस्किएको टुक्रा-धुलो समेत पोको पारेर बानेश्वरस्थित सुकुम्वासी बस्ती नजिकैको वाग्मतीमा फालेको उनले बयान दिएका छन्।
प्रहरीको अनुसन्धानमा उनीहरूले लिलामी भए रकम तिरेर आफ्नै समूहबाट खरिद गर्ने योजना बनाएका थिए। दोस्रो विकल्प पनि बन्द भएपछि तस्करी गिरोहले कर्मचारीलाई नै प्रयोग गरेर चोरीको अर्को योजना बनाएका थिए। उनीहरूको तेस्रो योजना पनि फेल खायो।
‘समातिएपछि लिलामी सकारेर सामानभित्रको सुन ल्याउन खोजेको देखिन्छ। तर, लिलामी नहुने भएपछि उनीहरुले चोरीको योजना बनाएका थिए,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।
एक पुरानो र एक नयाँ माथिका ‘केस’हरुले स्थापित गरेको तथ्य हो – तस्करको लिलामी सकार्ने शैली। यसमा उनीहरूले आफ्नै खाले नेटवर्क नै तयार पारेका हुन्छन्। राज्य संयन्त्रले नदेखे तस्करीमा सफल हुने। नत्र लिलामी ढुक्ने र कसैगरी पनि त्यसलाई हत्याउने।
जनकपुरको लिलामी सकार्ने शैलीले बहुमूल्य धातुको तस्करीमा अपनाइएको फरक शैली थियो। तत्कालीन महानिर्देशक मैनालीलाई शंका नलागेको भए उक्त घटना सतहमा आउने नै थिएन। सुन तस्कर सबै खाले संयन्त्रलाई झुक्याउन सधैँ ‘क्रियटिभ’ हुन्छन् भन्ने उदाहरण हो जनकपुरको मोटरसाइकल प्रकरण र काठमाडौंको भेप।
यस खाले कारोबारमा जोडिएका तस्करले सञ्जाल नै बनाएर विभिन्न विकल्पमा काम गरिरहेका हुन्छन्। ‘प्लान ए’ सफल भए बाँकी स्थगित। ‘ए’ असफल भए ‘बी’ वा ‘सी’ उनीहरूको ‘अप्सन’। सबै खाले तयारीका लागि उनीहरूको ‘होमवर्क’ कडा नै हुने गर्छ।
तस्करीको ‘क्रियटिभ शैली’ पछिल्लो सुन प्रकरणमा पनि देखियो। गएको बुधबार राजस्व अनुसन्धान विभागको टोलीले त्रिभुवन विमानस्थलको भन्सार जाँचपास भएपछि ‘ब्रेक शु’भित्र रहेको सुन बरामद गरेको थियो। माथिका दुई केसमा जस्तै ‘कोभर्ट’ हिसाबले तस्करीको प्रयास भएको थियो। प्रयासले करिब करिब सफलता पनि पाइसकेको थियो। सहजै जाँचपास भएर बाहिरिएको थियो करिब एक अर्बको सुन। भन्सारबाट उम्केको सुन राजस्व अनुसन्धान टोलीले बरामद गर्नु तस्कारका लागि अनपेक्षित रह्यो। यसमा पनि तस्करले कुनै ‘विकल्प’ सुझाएका छन् या छैनन् त्यो यसै भन्न सकिन्न। किनकि १ सय किलो सुन प्रकरणमा राजनीतिक नेतृत्वबाट जुन हिसाबले प्रतिक्रिया आउन थालेको छ, त्यसले विकल्पको पनि विकल्प त बनिरहेको थिएन भन्ने विषयलाई बल दिएको छ।