
काठमाडौं। प्रोभिजनिङलाई पैसा छुट्याउँदा गत आर्थिक वर्ष लुम्बिनी विकास बैंकको नाफा सामान्य प्रभावित भएको छ।
बैंकले गत आर्थिक वर्षसम्म ६१ करोड २४ लाख रुपैयाँ खुद नाफा कमायो। पोहोरभन्दा यो ३.८८ प्रतिशत कम हो।
वितरणयोग्य मुनाफा पनि १४.६८ प्रतिशतले साँधुरिएको छ। पोहोर ४६ करोड रहेको वितरणयोग्य नाफा ३९ करोड २७ लाखमा खुम्चिएको हो। जस अनुसार बैंकले गत आर्थिक वर्षका लागि ११.६१ प्रतिशत लाभांश बाँड्न सक्छ। पोहोर १२ प्रतिशत लाभांश लिएको थियो।
तर बैंकको ब्याज आम्दानी २२.३१ प्रतिशत बढेर एक अर्ब ८७ लाख रुपैयाँ नाध्यो। तर मन्दीले बैंकको कर्जा असुली प्रभावित हुँदा बैंकको नाफामा धक्का पुगेको बैंकले जनाएको छ।
गत असारसम्म बैंकको निष्कृय कर्जा पोहोरभन्दा झन्डै दोब्बर छ। १.६८ प्रतिशतबाट बढेर ३.०१ प्रतिशत पुग्यो। चैतमा यस्तो अनुपात ३.७६ प्रतिशत थियो। ४० करोड ३१ लाख रुपैयाँ प्रोभिजनिङ गरेको छ। बेस रेट पनि बढेर १२.०२ प्रतिशत पुगेको हो।
असारसम्म बैंकले ४९ अर्ब १३ करोड निक्षेप उठाएर ४१ अर्ब ५६ करोड ऋण दिएको छ। यो वर्ष मात्रै निक्षेप १४.६ प्रतिशत र ऋण ९.१८ प्रतिशत बढेको छ।
गत आर्थिक वर्षको अन्त्यसम्म ३ अर्ब ३८ करोड चुक्ता पुँजी रहेको लुम्बिनी विकास बैंकको जगेडा र अवितरित नाफा कोषमा २ अर्ब ७७ करोड रुपैयाँ संचित छ।
नाफासँगै प्रति सेयर आम्दानी पनि घटेको छ। १८.११ रुपैयाँ कायम छ। र प्रति सेयर नेटवर्थ भने बढेर १८२.१७ रुपैयाँ पुगेको हो।