बानेश्वरमा विमलेन्द्रको डिनर, सुरुमै बोलेपछि देउवाले भने, ‘खाना कस्तो थाहै छैन, पहिल्यै धन्यवाद भन्नुपर्‍यो’

बिजमाण्डू
२०८० साउन ११ गते २१:५४ | Jul 27, 2023
बानेश्वरमा विमलेन्द्रको डिनर, सुरुमै बोलेपछि देउवाले भने, ‘खाना कस्तो थाहै छैन, पहिल्यै धन्यवाद भन्नुपर्‍यो’


काठमाडौं। बिहीबार साँझ कांग्रेस नेता विमलेन्द्र निधिले मैत्रीपूर्ण रात्रिभोज आयोजना गरे। नयाँ बानेश्वरको आनन्दभूमि इभेन्ट्समा साँझ ६ बजेबाट केन्द्रीय कार्यसमितिका सदस्यहरुलाई निम्तो दिइएको थियो।

Tata
GBIME
NLIC

नेताहरुको चहलपहल साढे ६ बाटै सुरु भए पनि पार्टी सभापति शेरबहादुर देउवा साँझ ७ बजे मात्र आइपुगे।

देउवा आइपुग्नसाथ निधिले औपचारिक कार्यक्रमका लागि सबैलाई मञ्चतिर डाके। एकै छिनमा निधिले केन्द्रीय कार्यसमितिको सम्मानमा मैत्रीपूर्ण भोजको आयोजना गरेको जानकारी दिँदै स्वागत गरे। त्यसपछि देउवालाई मन्तव्य राख्न अनुरोध गरे।

त्यतिबेला डिनर सुरु भइसकेको थिएन। देउवाले यही मौका छोपेर व्यङ्ग्य कस्न भ्याए।

‘खाना खाएपछि धन्यवाद दिउँला भनेको, खान कस्तो छ थाहै छैन,’ देउवाले निधिलाई धन्यवाद दिए।

भोजमा पार्टी सभापति शेरबहादुर देउवा, उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, पदाधिकारी तथा केन्द्रीय सदस्य, पार्टीबाट सरकारमा सहभागी मन्त्री, सांसदलगायतको उपस्थिति थियो।

मंगलबारमात्र डा शशांक कोइरालाले लैनचौरमा आयोजना गरेको चियापानमा देउवाले चियामात्र खुवाएर अरु केही नखुवाएको भन्दै व्यङ्ग्य गरेका थिए।

‘चिया मात्र खुवाउनु भयो, अरु केही खुवाउनुभएन, त्यसका लागि शशांकजीलाई धन्यवाद,’ देउवाले व्यङ्ग्य कसेका थिए।