
चीनको विदेश मन्त्रीमा वाङ यी नियुक्त भएका छन्। १४औँ चिनियाँ राष्ट्रिय जनकंग्रेसको स्थायी समितिको बैठकले पूर्व विदेश मन्त्री समेत रहेका सीपीसीको केन्द्रीय कमिटीको विदेश मामिला विभागका निर्देशक तथा पोलिटब्युरो सदस्य वाङ यीलाई विदेश मन्त्रीमा नियुक्त गर्न मतदान गरेको हो।
यस्तै, चीनको केन्द्रीय बैंकको गभर्नरमा पान कोङसेनलाई नियुक्त गरिएको छ।
यसअघि विदेश मन्त्रालयको नेतृत्व सम्हालिरहेका छिन काङलाई किन हटाइयो भन्नेबारे केही जनाइएको छैन। तर उनी करिब ४ हप्तायता सार्वजनिक कार्यक्रममा देखिएका थिएनन्।
५७ वर्षीय करियर डिप्लोम्याट काङ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र हुन्। अमेरिकाका लागि चिनियाँ राजदूत रहेका काङ गत डिसेम्बरमा विदेशमन्त्री नियुक्त भएका थिए। काङ अघि वाङ यी नै चीनका विदेशमन्त्री थिए। काङलाई विदेश मन्त्रीबाट हटाए पनि स्टेट काउन्सिलरबाट हटाइएको छैन।
विदेशमन्त्रीका रुपमा उनले पछिल्लो समय श्रीलंका, भियतनाम र रसियाका प्रतिनिधिसँग भेटेका थिए। जुन २६ मा उनी रसियाका उप विदेशमन्त्री एन्ड्री रुडेन्कोसँग देखिएका थिए। त्यसयता उनी सार्वजनिक रुपमा कतै देखिएका छैनन्।