
चिनियाँ विदेशमन्त्री छिन काङ कहाँ छन् ? तीन हप्तादेखि उनी कुनै पनि सार्वजनिक कार्यक्रममा देखिएका छैनन्। त्यसैले उनको अवस्था अहिले सर्वत्र चासोको विषय बनेको छ।
५७ वर्षीय करियर डिप्लोम्याट काङ राष्ट्रपति सी चिनफिङका विश्वासपात्र हुन्। अमेरिकाका लागि चिनियाँ राजदूत रहेका काङ गत डिसेम्बरमा विदेशमन्त्री नियुक्त भएका थिए।
विदेशमन्त्रीका रुपमा उनले पछिल्लो समय श्रीलंका, भियतनाम र रसियाका प्रतिनिधिसँग भेटेका थिए। जुन २६ मा उनी रसियाका उप विदेशमन्त्री एन्ड्री रुडेन्कोसँग देखिएका थिए। त्यसयता उनी सार्वजनिक रुपमा कतै देखिएका छैनन्।
सोमबार काङ पत्रकार सम्मेलनमा समेत उपस्थित भएनन्। यसबारेमा चिनियाँ विदेश मन्त्रालयलाई प्रश्नसमेत गरियो। जवाफमा मन्त्रालयकी प्रवक्ताले चीनको कूटनीतिक गतिविधि पहिला जसरी नै संचालन भइरहेको बताइन्। उनले काङ सार्वजनिक रुपमा नदेखिनुको कारणबारे भनिन्,’उपलब्ध गराउन कुनै सूचना छैन।’
हाल अमेरिकामा बस्दै आएका कम्युनिष्ट पार्टी पत्रिकाका पूर्व सम्पादक डेङ युवेन भन्छन्, ‘विश्वमा चीनको प्रभावबीच त्यहाँका विदेशमन्त्री सार्वजनिक रुपमा २० दिनसम्म नदेखिनु अनौठो हो।’
यही साता बेइजिङ आएका वरिष्ठ अमेरिकी अधिकारीसँग काङले नभेटेपछि उनको खोजी भएको हो। यही महिना काङ र युरोपियन परराष्ट्र मामिला प्रमुख जोसेप बोररेलबीच भेट हुने तय थियो। तर बोरेल बेङजिङ आउनु दुई दिनअघि मात्रै चीनले काङसँग भेटका लागि समय उपलब्ध नरहेको जानकारी युरोपियन यूनियनलाई गरायो।
काङ गत साता इन्डोनेसियामा भएको आसियान राष्ट्रहरुको विदेशमन्त्रीको सम्मेलनमा समेत उपस्थित भएनन्। सम्मेलनमा चीनका वरिष्ठ कूटनीतिज्ञ वाङ यी सहभागी भएका थिए। चीनको विदेश मन्त्रालयले भने काङ स्वास्थ्यका कारण इन्डोनेसिया जान नसकेको जनाएको थियो। तर आधिकारिक पत्रमा सो कुरा उल्लेख थिएन।
चीन समर्थित दैनिक पत्रिका सिङ तावले जुलाई १० मा काङ कोभिडबाट संक्रमित भएकाले सार्वजनिक रुपमा नदेखिएको समाचार प्रकाशन गरेको थियो। यसको पुष्टि भने हुन सकेको छैन।
अहिले भने काङलाई लिएर अन्तर्राष्ट्रिय संचारमाध्यममा ‘गसिप’ समेत चलिरहेको छ। बेलायती मिडिया दी टाइम्सले एकजना टेलिभिजन प्रस्तोतासँग ‘अफेयर’को हल्लाबीच काङ बेपत्ता भएको समाचार प्रकाशन गरेको छ।
हङकङमा रहेको फोनिक्स टेलिभिजनकी कार्यक्रम प्रस्तोता फु सीयाओटिनसँग काङको सम्बन्ध रहेको समाचारमा उल्लेख छ। केही समययता फु र उनका छोरासमेत सार्वजनिक रुपमा देखिएका छैनन्। हाल फुले काङसँग लिएको अन्तर्वार्ता चिनियाँ सामाजिक संजालमा भाइरल छ।
यसबीच काङले राम्रोसँग विदेश मन्त्रालय सम्हाल्न नसकेकोसमेत चर्चा चलेको छ। चीनमा उच्च अहोदाका अधिकारी बेपत्ता हुनु नौलो होइन। यसअघि पनि विभिन्न अधिकारी बेपत्ता भएका थिए । हल्लाको केही महिनापछि मात्रै चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन विभागले उनीहरुलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको जनाउने गरेको थियो। राष्ट्रपति सीको भ्रष्टाचारविरुद्धको अभियानका क्रममा देखिने यो सामान्य घटना हो।
अहिले भने सीले गलत व्यक्तिलाई विदेश मन्त्रालयको जिम्मेवारी दिएको भन्दै आलोचना समेत भइरहेको छ।
डेङ भन्छन्, ‘काङलाई उच्च ओहोदामा सीले सिधै ल्याएका हुन्। उनीसँग जोडिएका कुनै पनि समस्याले सीलाई पनि प्रभाव पार्छ। यसरी हेर्दा सीले विदेश मन्त्रालय हाँक्न सही व्यक्ति छनोट गरेनन्।’ (एजेन्सी)