
काठमाडौं। हवाई दुर्घटना नियन्त्रणका लागि नागरिक उड्डयन प्राधिकरणले युरोपेली मापदण्ड लागू गर्ने भएको छ।
यसका लागि प्राधिकरणले युरोपेली युनियन अन्तर्गत युरोपियन एभिएसन सेफ्टी एजेन्सी (इआसा) मातहतका तीन जना विज्ञमार्फत कार्यशाला गोष्ठी सुरु गरेको उड्डयन सुरक्षा विभाग प्रमुख राजु श्रेष्ठले बताए।
‘हवाई दुर्घटना नियन्त्रणसँगै पाइलटको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले सोमबारबाट यो कार्यशाला गोष्ठी सुरु भएको छ,’ प्रमुख श्रेष्ठले भने, ‘जहाज उडानमा युरोपेली मापदण्ड प्रयोग गरी उड्डयन क्षेत्रलाई थप प्रभावकारी बनाउनका लागि निकट भविष्यमा अहिलेको मापदण्ड परिमार्जन गरिनेछ।’
उनका अनुसार एक दशक यता प्राधिकरणले मुलुकको उड्डयन उद्योगमा जहाज मर्मत सम्भारका लागि अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन ‘आइकाओ’ले तयार गरेको मापदण्ड पालना गर्दै आएको छ। आइकाओको तुलनामा इआसाको मापदण्ड थप प्रभावकारी रहेको उनले जानकारी दिए।
‘इआसाको मापदण्ड अझै प्रभावकारी रहेको छ। जहाज उडानका क्रममा लागू हुनुपर्ने थप कुराहरु यसमा समावेश गरिएको छ,’ उनले भने, ‘यो गोष्ठीपछि विभिन्न वायुसेवा कम्पनीका चालकदलसँग छलफल गरेर नयाँ मापदण्ड कार्यन्वयनमा ल्याउनेछौँ।’
सोमबार सुरु भएको यो गोष्ठी शुक्रबार समापन हुने प्राधिकरणले जनाएको छ।