प्रहरीजस्तै तस्करीमा सरकारी कर्मचारी : ‘मालदार अड्डा’को मोहले पुर्‍याउँछ अपराधको सञ्जालमा

सविन ढकाल
२०८० साउन ८ गते १६:३० | Jul 24, 2023
प्रहरीजस्तै तस्करीमा सरकारी कर्मचारी : ‘मालदार अड्डा’को मोहले पुर्‍याउँछ अपराधको सञ्जालमा


काठमाडौँ। ‘हाम्रो सुन साहुले माथिका हाकिमलाई ५० हजारका दरले पैसा दिएर मिलाएकाले डराउनु पर्दैन भनेका थिए।’

Tata
GBIME

सात वर्षअघि पक्राउ परेपछि त्रिभुवन विमानस्थल भन्सार कार्यालयका कर्मचारी श्रीनारायण यादव प्रहरीसँगको बयानमा यसै भने। ३३ किलो सुन प्रकरणमा मुछिएपछि उनले प्रहरीमा दिएको बयानले सुन तस्कर र कर्मचारीको नाता कस्तो छ भन्ने संकेत गर्छ।

विमानस्थल भन्सार कार्यालयबाट पास भएर बाहिरिएको ३३ किलो सुन प्रहरीले विमानस्थल बाहिर पिंगलास्थानबाट बरामद गरेको थियो। त्यसको अनुसन्धान गर्दै जाँदा दुबईबाट आउने सुन विमानस्थलबाट पास गराउन लागि भन्सार कर्मचारी र प्रहरीको मिलेमतो देखिएको थियो।

तत्कालीन सीआईबी प्रमुख नवराज सिलवालको नेतृत्वमा भएको अनुसन्धानले विमानस्थल सुरक्षागार्डअन्तर्गत खटिएका १ सय ५० प्रहरीलाई मिलाउन कर्मचारी यादवले एसएसपी श्याम खत्रीसँग सेटिङ मिलाएको र खत्रीले सोही अनुसार काम गरेको निष्कर्ष निकालेको थियो। जसमा भन्सार अधिकृत राजकुमार ढकालको पनि संलग्नता देखिएको थियो।

अनुसन्धानको निचोड अनुसार तस्करीमा सघाएबापत् विमानस्थलमा कार्यरत कर्मचारी र एसएसपी खत्रीले सुन पास गराउँदा प्रतिकिलो ५० हजारदेखि ८० हजारसम्म पाउने गरेका थिए। सोही अनुसार ३३ किलो सुन बाहिरिँदा यी दुवैले करिब १७ लाख रुपैयाँ पाएको प्रहरीको दाबी थियो। दुबईबाट आएको सुन भन्सार पास गर्न तस्करले कर्मचारीको सहायता लिएका थिए। उक्त प्रकरणले पैसाको लोभमा कर्मचारीहरु तस्करको जालोमात्र जोडिएको देखियो।

एसएसपी खत्री पहिलो घटनामा सफाइ पाएर पछि भने काममा फर्किएका थिए। त्यसपछि फेरि अर्को ३३ किलो सुन प्रकरण चर्चित रह्यो, जसमा उनी फेरि मुछिए। यस घटनामा पनि उनले सफाइ त पाए तर जेलमुक्त हुँदा उनले जागिरबाट अवकाश पाइसकेका थिए।

सुन प्रकरणमा उच्च प्रहरी कर्मचारी र भन्सार अधिकृत समातिएका केसहरु जति भए पनि विमानस्थलबाट हुने सुन तस्करी भने यथावत रह्यो। कर्मचारीलाई हातमा लिएर पहेलो सुनको कालो धन्दा हुनेक्रम २० बाट १९ मा झरेन।

‘तस्करको करोडौं लगानी भएको हुन्छ। त्यसैले ‘रिस्क’ लिन चाहँदैनन्। उनीहरूले कर्मचारीदेखि अन्य संयन्त्रलाई प्रयोग गर्ने गरेका छन्,’ पूर्व एआईजी विज्ञानराज शर्माले भने।

गत बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको ठूलो परिमाणको सुनले पनि शर्माको तर्कलाई साथ दिएको छ। विमानस्थल भन्सार कार्गोबाट बाहिरिएको १ सय ५५ किलो सामानभित्र रहेको सुन विभागले समातेको छ।

पाँच दिनदेखि विभागले गरेको अनुसन्धानमा १६ जना पक्राउ परेका छन्। जसमा तीन जना भन्सार कार्यालयका कर्मचारी छन्। उनीहरूलाई सुन बरामद गरेको भोलिपल्ट नै निलम्बन गरिएको थियो। त्यसपछिको प्रारम्भिक अनुसन्धानमा उनीहरुको संलग्नता देखिएपछि विभागले आइतबार नियन्त्रणमा लिएको थियो। त्यस्तै, अन्य तीन जना भन्सार एजेन्ट समातिएका छन्।

‘ब्रेक शु’ ल्याउँदा ‘एक्स-रे’मा जाँच भयो जसमा कैफियतको शंका देखियो। एक्स-रे अपरेटर सुरज श्रेष्ठले त्यही शंकाका आधारमा रेड च्यानल (आरसी) लेखेर पुनः जाँच गर्न पठाएका थिए। जाँचकी कुमार ढकाल र अधिकृत सन्तोष चन्दले सामान हेरे। तर, सहजै भन्सार पास भयो। त्यही पास भएको सामानभित्र अन्दाजी एक अर्ब रुपैयाँको सुन रहेछ।

आइतबार राजस्वले उनीहरूलाई बयानको लागि बोलाएको थियो। ललितपुरको हरिहर भवन पुगे। त्यही उनीहरुलाई गिरफ्तार गरियो।

‘अनुसन्धान गर्दा केही भेटिएर नै उहाँहरूलाई नियन्त्रणमा लिएको हो,’ राजस्व विभागका सूचना अधिकारी नवराज अधिकारीले भने।

२०७४ माघ ९ गते विमानस्थलबाट बाहिरिएको ३३ किलो सुन प्रकरणमा पनि कर्मचारीको संलग्नता देखिएको थियो। सुन हराएपछि तस्करी गिरोहको धम्कीका कारण थाई एयरलाइन्सका एक कर्मचारीले माघ २२ गते गुडिरहेको ट्यांकरमा छिरेर आत्महत्या नै गरे। उक्त घटनाले पनि तस्करले विमानस्थलका कर्मचारीलाई कुन हदसम्म प्रभाव र दबाबमा राखिरहेका हुन्छन् भन्ने देखाउँछ।

विमानस्थलको ग्राउन्ड ह्यान्डलिङमा कार्यरत कर्मचारी, लोडर र प्रहरीको उच्च तह उक्त प्रकरणमा मुछिए। ३३ किलो सुन र सनम शाक्य हत्या प्रकरणमा ७७ जनालाई प्रतिवादी बनाएर अदालत मुद्दा लगिएको थियो। जसमा धेरैले सफाइ पाए। मुख्य अभियुक्त चूणामणि उप्रेती ‘गोरे’ सहित ६ जनालाई अदालतले जन्मकैद सजाय सुनायो।

सफाइ पाएका केही प्रहरी अहिले पनि ड्युटीमा छन् भने केही अवकाश भइसकेका छन्। प्रहरीमात्र होइन, अनुसन्धानमा खटिएका निजामती कर्मचारी पनि यसखाले घटनामा तानिएका छन्। अनुसन्धानको जिम्मा दिँदा अपरेसनमा नै खटिएका कर्मचारीलाई प्रमाणबिना प्रतिवादी खडा गरिएको आरोप लागेको पनि छ। तर जसरी प्रहरीलाई सुन प्रकरणमा बदनाम गरिन्छ, कर्मचारी चाहिँ जोगिँदै आएका छन्।

‘भन्सार एजेन्ट, कर्मचारीको मिलोमतो नभइ तस्करी सम्भव नै हुँदैन। तस्करले यस्ता संयन्त्रलाई हातमा नलिइ ठूलो जोखिम मोल्न चाहँदैनन्,’ पूर्व एआईजी विज्ञानराज शर्माले भने।

त्रिभुवन भन्सार कार्यालयका कर्मचारी संलग्न भएको पछिल्लो सुन प्रकरण हो – भेप भित्र  लुकाएर ल्याइएको सुन। प्रहरीले त्रिभुवन विमानस्थल भन्सार कार्यालयका नायव सुब्बा (नासु) रेवन्त खड्का, सुरक्षा गार्ड निर्मल विक, र भन्सार एजेन्ट दिनेश बस्नेतको संलग्नता देखिएको थियो। उनीहरूसहित पाँच जना अहिले पुर्पक्षका लागि थुनामा छन्। पक्राउ परेका नासु एक वर्षअघिमात्र विमानस्थलको भन्सार कार्यालय खटिएका थिए।

गत पुस १० गते फ्लाइ दुबईबाट चिनियाँ नागरिकले २ वटा सुटकेसमा ७३ वटा प्याकभित्र ७३० वटा भेप ल्याएका थिए। व्यापारिक प्रयोजनका लागि भन्दै ठूलो‍ परिमाणमा भेप भित्रिएको देखिएपछि भन्सार कार्यालयले त्यसलाई जफत गरेको थियो।

जफत गरिएको भेपभित्र लुकाएर तस्कर गिरोहले पटकपटक भन्सार कार्यालयको कोठा नम्बर १११ मा बाहिर्‍याउने प्रयास गरेको थियो।

भन्सार एजेन्ट दिनेश बस्नेत र नासु रेवन्त पछिल्लो समय एकाएक तस्करीको प्रकरणमा चिनिएका पात्र हुन्। यी दुई पात्रले भेपभित्र लुकाएर ल्याइएको सुन निकालेर अर्कै सुन नभएको भेप साटेको प्रहरीको दाबी छ। यी त देखिएका पात्र भए, भन्सारमा कार्यरत नदेखिएका पात्र कति छन् यसै भन्न सकिन्न।

निजामति सेवामा ‘मालदार अड्डा’ भन्ने शब्द ओपन सेक्रेट रहँदै आएको छ। विशेषगरी त्यस्ता अड्डामा जान कर्मचारीबीच होडबाजी नै चल्छ। यस्ता क्षेत्रमा कर्मचारीको सरुवामा आर्थिक लेनदेन समेत हुने गरेको कर्मचारीहरु नै स्वीकार्छन्। जब कर्मचारी लगानी गरेर मालदार ठाउँमा जान्छन्, स्वाभाविक रुपमा उनीहरुले लागत मात्र उठाउँदैनन्, त्यसबाहेक आर्थिकोपार्जनको उच्च महत्वाकांक्षा समेत बढाउँछन्। तस्करको नेटवर्कसँग सहकार्यकमा यिनै कारणले उनीहरुलाई जोड्छ।

प्रहरी प्रशासन, कर्मचारी तस्करसँग जोडिएका हुन्छन् भने तस्करी व्यापारीसँग। व्यापारी र राजनीतिको गाँठो पनि बलियो भएकाले यसखाले सञ्जालमा कुनै पनि क्षेत्र चोखो नहुनसक्छ। तर, सतहमा फेला पर्छन् दिलिप भुजेल जो न कर्मचारी हुन् न व्यापारी वा नेता नै। तर, सबै कानुनी दस्ताबेजमा दिलिप चाहिँ पक्का दोषी देखिँदैछन्। उनलाई जोगाउन राजनीति दलका नेता, कर्मचारी र व्यापारी छैन।