कर घट्दा लक्जरियस विद्युतीय गाडी भित्र्याउने होड, बीएमडब्लुसँगै मिफा र इभी-६ आउँदै



बिजमाण्डू
२०८० साउन ७ गते १९:४९ | Jul 23, 2023
कर घट्दा लक्जरियस विद्युतीय गाडी भित्र्याउने होड, बीएमडब्लुसँगै मिफा र इभी-६ आउँदै

काठमाडौं। कर घटेपछि स्थापित ब्राण्डका लक्जरियस विद्युतीय गाडी भित्र्याउने होड सुरु भएको छ।

Tata
GBIME
Zonsen

सरकारले चालु आर्थिक वर्षको बजेटमार्फत १०० किलोवाट भन्दा बढी क्षमताका मोटर भएका विद्युतीय गाडीमा २० प्रतिशतसम्म कर घटाएको छ। यो कर घटेपछि बीएमडब्लुको विद्युतीय गाडी नेपाल भित्रिएको छ भने टेस्लाको डिमान्ड पनि बढेको छ। कियाको इभी-६ पनि नेपाल आउँदैछ।

यो महिना १०० किलोवाट भन्दा माथि पावर भएका विद्युतीय गाडीहरुको आयात बढेको छ। ११ महिनासम्ममा यो सेग्मेन्टका गाडीहरुको आयात थोरै मात्रामा हुने गरेको भन्सार विभागको तथ्यांकले देखाउँछ। आर्थिक वर्ष २०७९/८० मा सरकारले १०० किलोवाट भन्दा माथिको कर बढाएको थियो। कर बढ्दा ती सेग्मेन्टका गाडीहरु १०० युनिटभन्दा कम आयात भएका थिए।

गत वर्ष टेस्ला र हुन्डाईको मात्र लक्जरियस इभी नेपाली बजारमा उपलब्ध थियो। यस्तै, किया गाडीको आधिकारिक बिक्रेता कन्टिनेन्टल ट्रेडिङ इन्टरप्राइजेजका सञ्चालक सुहृद घिमिरे कर घट्दा लक्जरियस सेग्मेन्टका गाडी आउने वातावरण बनेको बताउँछन्।

उनका अनुसार किया इभी ६ को अर्डर गरेपनि नेपाल आउन केही समय लाग्नेछ। कम्पनीले गाडी बुकिङ खुलाइसकेको छ। नाडा अटो शोमा यो गाडी प्रदर्शनीमा राख्ने तयारी कम्पनीले गरिरहेको छ। यो गाडीको मूल्य १ करोड २० लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

हुन्डाईको आयोनिक ५ र टेस्लाको मोडल वाईको मूल्य घटेर डिमान्ड बढेको छ। हुन्डाईको आयोनिक ५ को मूल्य १ करोड १७ लाख रुपैयाँबाट १ करोड ३ लाख रुपैयाँमा आएको छ भने यस्तै टेस्लाको पनि ४० लाखसम्मले मूल्य घटेर भित्रिन थालेको छ।लक्ष्मी ग्रुप अन्तर्गतको लक्ष्मी प्रिमियमले बीएमडब्लुको लक्जरियस गाडी आईएक्स ३ नेपाली बजारमा बिक्री सुरु भइसकेको छ।

कम्पनीका सेल्स हेड प्रवोद्ध श्रेष्ठले पहिलो लटमा ५ वटा गाडी आएको बताए। उनले कर घटेका कारण गाडी आयात सुरु भएको बताए। चालु बजेट अघि यो गाडीको मूल्य ३ करोड हाराहारी थियो। बजेटपछि यो गाडीको मूल्य २ करोड ३० लाख रुपैयाँ कायम भएको छ।

यस्तै, म्याक्ससको नयाँ लक्जरियस इभी मिफा-९ पनि नेपाल आउँदैछ। यो ब्रान्डको नेपालका लागि आधिकारिक बिक्रेता एमजीको बिक्रेता पारामाउन्ट मोटर्स रहेको छ। कर घटेपछि लक्जरियस सेग्मेन्टका विद्युतीय गाडी नेपाल ल्याउने प्रतिस्पर्धा सुरु भएको पारामाउन्ट मोटर्सका महाप्रवन्धक सचिन अर्याल बताउँछन्।

यो गाडीको केही दिनमै बुकिङ खुल्दैछ। मिफा-९ इभीमा ९० किलोवाट आवर (युनिट) क्षमताको ब्याट्री प्याक उपलब्ध छ। उक्त ब्याट्रीले एक पटक फुल चार्जमा ४४० किलोमिटर रेन्ज प्रदान गर्ने कम्पनीको दावी छ। यो गाडीको मूल्य कम्पनीले १ करोड २५ लाख रुपैयाँको हाराहारी हुनेछ। महिन्द्राको एक्सयुभी ४०० इभी पनि आउँदैछ।