
काठमाडौं। नेपाल राष्ट्र बैंकले अब ५० लाखसम्मको सेयर धितो कर्जामा कायम गर्नुपर्ने जोखिम भार अनुपात पनि घटाउने भएको छ।
गभर्नर महाप्रसाद अधिकारीका अनुसार यो सीमाअन्तर्गतको सेयर धितो कर्जामा १०० प्रतिशत जोखिम भार कायम गरे पुग्नेछ।
‘बाँकी थ्रेसहोल्डमा होइन। ५० लाख माथिको कर्जामा होइन, नझुक्किनुहोला। आउनेवाला सर्कुलरले यसबारे स्पष्ट पार्नेछ,’ उनले भने।
राष्ट्र बैंकले यसअघि २५ लाख भन्दा कम सेयर धितो कर्जा लिँदा जोखिम भारको अनुपात १०० प्रतिशतमा झारिसकेको थियो। तर त्यसमाथिको सीमाको हकमा भने सेयर धितो कर्जा दिए बापत १५० प्रतिशत जोखिम भार कायम गर्नुपर्ने व्यवस्था थियो। बैंक तथा वित्तीय संस्थाहरु स्वयंको लागत बढेकाले पछिल्लो समय सेयर धितो कर्जा निरुत्साहित हुँदै थियो।
जसलाई चालु आर्थिक वर्षको मौद्रिक नीतिले पुनरावलोकन गर्ने जनाएको हो। सोही अन्तर्गत अब ५० लाखसम्मको सेयर धितो कर्जा लिँदा बैंकहरुको लागत सस्तिने भएको छ। यस्तो कर्जा दिन पनि उनीहरुलाई प्रोत्साहन मिल्नेछ।
५० लाखभन्दा माथिको कर्जामा भने विद्यमान व्यवस्था नै लागू गरिएको छ। यस्तै, समग्र वित्तीय प्रणालीबाट १२ करोडसम्मको सेयर धितो कर्जा पाउने व्यवस्था पनि यथावतै छ।