
काठमाडौं। कांग्रेसले केन्द्रीय सदस्य बनाएका अर्बपति उद्योगी विनोद चौधरीले पार्टी बलियो बनाउन बोली र अनुहार बिक्नेलाई अघि सार्नुपर्ने सुझाव दिएका छन्। पार्टीको जारी केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवालाई आइतबार उनले यस्तो सुझाव दिएका हुन्।
‘नयाँ विश्वासको सञ्चार गर्ने र वातावरण बनाउनका लागि त्यस्ता आवाजहरु जो कि जनताको अगाडि बिक्छन्। जसको बोली बिक्छ। त्यसलाई पार्टीले अगाडि नबढाउने हो भने फेरि त्यही नारामा देश बाहिर र भित्र पनि ट्रेडिसनल पार्टीभित्र भोलिका दिनमा चुनौती फेस गर्नुपर्ने छ,’ चौधरीले भने।
परम्परापत पार्टीका रुपमा कांग्रेस विस्तारै कमजोर बन्दै गएको र कारण पार्टीकै कमजोर नीति भएको चौधरीको दाबी रह्यो। ‘पार्टीलाई सिस्टमलाई आन्तरिक विवादलाई एकै सूत्रमा बाँध्न सकिएन भने भोलिका दिनमा नयाँ परिस्थिति बन्दैछ। नामै नसुनेका मान्छेहरु समेत, १० औं हजार भोट पाएका मान्छे मैले फेस गरेँ,’ उनले भने।
हालका दिनमा परम्परागत पार्टीप्रति वितृष्णा बढ्न थालेको उनको तर्क छ। हिजोआज नयाँ पार्टीहरुले सदस्य परिचालन, आर्थिक कारोबार र भोटरलाई प्रभावित पार्न समेत प्रविधिको प्रयोग गरिरहेको दृष्टान्त उनले राखे। चौधरीले भने, ‘हामीले सिक्नका लागि इतिहास बोकेको पार्टीले ती सबै आकांक्षालाई समेट्ने वातावरण बनाउन सकेनौ र त्यसलाई प्राथमिकतामा राख्न सकेनौ भने भोलिका दिनहरु अत्यन्तै कठिन हुन सक्छ। निश्चित छ।’
विभिन्न कारण विदेशिएका नेपालीहरुको मनमा परम्परागत पार्टीप्रतिको नकारात्मक धारणा परिवर्तनका लागि काम गर्नुपर्ने उनले बताए। ‘विदेशमा भएका ५० औं लाख नेपाली युवाहरुले ट्रेडिसनल पार्टीका कारण हामी विदेशिन बाध्य भयौ, ती पार्टीहरुलाई भोट दिने होइन भोट नयाँ पार्टीलाई दिने हो भन्ने जुन नारा लाग्ने क्रम जारी छ। त्यसलाई चिर्न नेपाली कांग्रेसले आफूलाई रुपान्तर गर्दै नयाँ एजेन्डालाई केन्द्रमा राख्दै जनताले रोजगारी चाहेका छन्। लगानी चाहेका छन्। त्यसलाई एड्रेस गर्न कांग्रेस सक्षम छ भन्ने सन्देश दिनु आजको अर्को महत्त्वपूर्ण चुनौती हो,’ चौधरीले भने, ‘यो काममा आउने दिनमा पार्टी खरो उत्रिन्छ भन्नेमा मैले विश्वास लिएको छु।’
पार्टीमा टिकट पाउनेहरुलाई हराउने प्रवृत्ति आफूले देखेकोले यस्तालाई पार्टीले पन्छाउनुपर्ने सुझावसमेत उनको रह्यो। ‘निर्वाचनका क्रममा टिकट पाउने वित्तिकै पार्टीका सबै मान्छे एकै ठाउँमा उभिएलान्, सहयोग गर्लान् भन्दा पनि कसरी यसलाई सिध्याउने हो भन्ने लागेको मेरो अनुभूति रह्यो। मलाई लाग्छ धेरै रिस्क अनुभूति गरेको हुनुपर्छ। निर्वाचनमा आफ्नो उम्मेदवारलाई हराउनेमात्र होइन विरोधीलाई जिताउन लागेको प्रत्यक्ष प्रमाण सार्वजनिक छन्,’ उनले भने, ‘पार्टीले यस्ता मानसिकता बोकेका मान्छेहरुलाई पन्छाउनै पर्दछ।’
‘अर्थतन्त्रमा प्वाल परेको छ’
चौधरीले बैंकहरुमा बेपत्ता तरलता बढेको उल्लेख गर्दै अर्थतन्त्रमा प्वाल परेको बताए। ‘बैंकहरुमा बेपत्ता लिक्विडिटी हुँदाहुँदै पनि राजस्वको यो पालाको स्थिति अत्यन्त कठिन छ। म अर्थमन्त्रीलाई किन दोष दिन चाहन्न। उनले यो इनहेरिन्ट गरेको लिगेसी इकोनोमी हो,’ चौधरीले भने।
राजस्व उठाउन सरकार असक्षम भएको उनको तर्क रह्यो। ‘पहिलोचोटि नेपालको इकोनोमी स्रिंक भएको स्थिति छ। नेपालको इकोनोमीमा दुई वर्षअघिको राजस्वको तहमा समेत हामीले राजस्व उठाउन सकेनौ,’ चौधरीले भने, ‘हामीले विनियोजन गरेको पैसा विकासको क्षेत्रमा साधारण खर्चमा कसरी गर्ने आउने दिनहरुमा अत्यन्त गम्भीर हुने अवस्था देखिन्छ। रोजगारीको अभावमा ५ लाख युवा भन्दा बढ्दा युवाहरु रोगजारीका क्षेत्रमा प्रवेश गर्छन्। ५० हजारलाई पनि हामी रोजगारी दिन सक्दैनौ। दुवै सरकारी र निजी क्षेत्रले।’
मौद्रिक नीतिले यी समस्याहरु समाधान गर्नेमा आफू विश्वस्त रहेको उनले बताए। ‘हुन त मोनिटरी पोलिसी आउँदैछ। अर्थमन्त्रीजीको आफ्नै भनाइले पनि मोनीटिरी पोलिसी इकोनोमीसँग जोडिएका धेरै कुरा एड्रेस गरिनेछ भन्ने कुरा विश्वासमा लिएको छु,’ चौधरीले भने।
कांग्रेसले वडादेखि माथिसम्म नयाँ रोजगार योजना ल्याउनुपर्नेसमेत उनको सुझाव रह्यो। ‘हाम्रो भावी दिनहरुका योजना के हुन्? वडादेखि माथिसम्म के छ नयाँ रोजगार सिर्जना गर्न सक्ने अवस्था,’ उनले भने।
शिक्षाका क्षेत्रमा पनि ठूलोमात्रमा पैसा बाहिरिएको अवस्थामा यसबारे पनि सोच्नुपर्ने चौधरीको भनाई रह्यो। ‘शिक्षाका क्षेत्रमा आजकै आँकडामा २ खर्ब बाहिरिएको छ। बाहिर पठाउनका सट्टा घरबार बेचेर जानुभन्दा तिनै इन्स्टिच्युसनलाई नेपालमा ल्याएर निर्माण गर्न सकेन भने नेपालका ट्यालेन्ट्सहरु कहिले पनि नफर्कने गरी बाहिर जानेछ,’ चौधरीले भने।
चौधरीले देउवालाई अहिलेसम्म गठबन्धनमा सुझबुझ पूर्ण तरिकाले अघि बढेको भन्दै उनले धन्यवाद दिँदै नयाँ वातावरण बनाउनसमेत सफलता मिलोस् भन्दै शुभकामनासमेत दिए। चौधरीले भने, ‘सभापतिले सुझबुझ ढंगले अघि बढाउनुभयो। नयाँ वातावरण बनाउन फेरि सफलता मिलोस्।’