काठमाडौं । अहिले विश्वभर दुईवटा हलिउड फिल्महरु चर्चामा छन् : ‘ओपनहाइमर’ र ‘बार्बी’। ओपनहाइमर र बार्बीले विश्वभरका बक्सअफिसमा आक्रामक ओपनिङ गरेसँगै व्यापारमा दुवै फिल्मबीच कडा प्रतिस्पर्धा चलिरहेको छ।
गत शुक्रबारबाट रिलिज भएका यी फिल्महरुले नेपालमा पनि राम्रो कमाइ गरिरहेका छन्। मल्टिप्लेक्सहरुमा यी दुई फिल्मको टिकट बुकिङ पनि आक्रामक छ।
चलचित्र विकास बोर्डको बक्सअफिस रिपोर्टअनुसार ‘ओपनहाइमर’ले हालसम्म ८० लाख रुपैयाँ ग्रस (५३ लाख ७८ हजार नेट) कलेक्सन गरेको छ। त्यस्तै, बार्बीले भने २० लाख २५ हजार ग्रस (१३ लाख ५० हजार नेट) कलेक्सन गरेको बोर्डका सदस्य रवि अधिकारीले जानकारी दिए। यो आइतबार बिहानसम्मको कलेक्सन हो।
अमेरिकी वैज्ञानिक जे रोबर्टको बायोपिक फिल्म ‘ओपनहाइमर’मा क्रिस्टोफर नोलनको निर्देशन रहेको छ। रोबर्टको परमाणु बमको विकास गरेको व्याख्या यस फिल्मले गर्छ। यस फिल्ममा सिलियन मर्फी, एमिली ब्लन्ट, म्याट डेमन, रोबर्ट डाउनी जुनियर र फ्लोरेन्स पगको अभिनय छ।
कमेडी र एड्भेन्चर जनरामा बनेको ‘बार्बी’लाई ग्रेटा गर्विगले निर्देशन गरेका हुन्। यस फिल्ममा मार्गो रोबी, रायन गोस्लिङ र एम्मा म्याकीलगायतको भूमिका छ।
यी दुई हलिउड फिल्महरुलाई एप्पल इन्टरटेनमेन्टले नेपाल भित्र्याएको हो। निर्देशक क्रिस्टोफर नोलनको चर्चाका कारण ‘ओपनहाइमर’ हिट भइरहेको एप्पल इन्टरटेनमेन्टकी व्यवस्थापक जेनिस पहारी बताउँछिन्। ‘लाइट मुभी’ भएर बार्बी पनि दर्शकहरुको रोजाइमा परेको उनको भनाइ छ।
त्यसैगरी, गत असार २९ गते रिलिज भएको सरोज खनालको डेब्यू निर्देशित फिल्म ‘बगान’ले भने हालसम्म ४३ लाख रुपैयाँ (३६ लाख नेट) कमाएको छ। यस फिल्ममा सरोजका साथै करिश्मा मानन्धर, नीर शाह, प्रमिला कार्की, आकाश श्रेष्ठलगायतको अभिनय छ।