
काठमाडौं। आगामी आर्थिक बर्षको मौद्रिक नीतिमाथि छलफल गर्न नेपाल राष्ट्र बैंक सञ्चालक समितिको बैठक सुरु भएको छ।
अहिले साढे ८ बजेदेखि बैठक सुरु भएको हो। गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार बेलुका सञ्चालक समितिको बैठक आइतबार बिहानका लागि डाकेका थिए।
राष्ट्र बैंकको व्यवस्थापन समितिले मौद्रिक नीति पारित गरिसकेको छ। सञ्चालक समितिले पारित गरेमा आज दिउँसो २ बजेसम्म जारी गर्ने कार्यक्रम रहेको गभर्नर कार्यालय स्रोतको दाबी छ।
बजेट पछाडि सबैको ध्यान मौद्रिक नीतिमा छ। खासगरी सेयर बजार र घरजग्गा क्षेत्रका लागि कस्तो मौद्रिक नीति आउला भनेर चासो बढेको छ।
राष्ट्र बैंक आँफैले सेयर बजार र घरजग्गालाई केन्द्रमा राखेर दशकयता नीतिहरु तय गर्न थालेपछि मौद्रिक नीति ‘सेयर र जग्गा नीति’ बन्न पुगेको छ।
राष्ट्र बैंक स्रोतका अनुसार ऋण बिस्तार लक्ष्य ११ प्रतिशत हाराहारी हुने छ। राष्ट्र बैंकले निर्माण क्षेत्रलाई चलायमान बनाउन घर निर्माण कर्जामा केही खुकुलो नीति लिने बताइएको छ।
सेयर बजारमा भने संसय छ। केही समयअघि गभर्नर आँफैले सेयर ब्रोकरहरुसँग छलफल गरेका थिए। उनीहरुको आँकलनमा, गभर्नरले यसपाली सेयर बजारमा झन् कडाइ गर्ने छन्। उनले बैंक तथा वित्तीय संस्थाहरुमार्फत गइरहेको सेयर धितो ऋणलाई हटाएर ब्रोकरमार्फत मात्र लागू गर्ने नीति लिने ब्रोकरहरुको बुझाइ छ।