हेटौंडा औद्योगिक क्षेत्रका ९ उद्योगः जग्गा छोड्दैनन्, कारबाही पनि हुँदैन

निशा गुरुङ
२०८० साउन ७ गते ०६:२५ | Jul 23, 2023
हेटौंडा औद्योगिक क्षेत्रका ९ उद्योगः जग्गा छोड्दैनन्, कारबाही पनि हुँदैन


हेटौंडा।  क्षेत्रफलका हिसाबले देशकै ठूलो औद्योगिक क्षेत्र हो हेटौंडा औद्योगिक क्षेत्र। ३२ सय २८ रोपनीमा फैलिएको यो औद्योगिक क्षेत्रमा हाल १०६ वटा उद्योगहरु संचालनमा रहेका छन्। तर उद्योगीले नयाँ उद्योग खोल्न चाहेमा यहाँ जग्गा पाउन गाह्रो छ।

Tata
GBIME

नयाँ उद्योग खोल्नका लागि यहाँ जग्गा अभाव हुनुको कारण हो – पहिला संचालित उद्योगले जग्गा कब्जा गरिराख्नु। वर्षौदेखि उद्योग बन्द भए पनि शक्तिको आडमा जग्गा कब्जा गरेर राखिरहँदा नयाँ उद्योग खोल्न चाहनेहरु समस्यामा परेका छन्।

हेटौंडा औद्योगिक क्षेत्रमा जग्गा सम्झौता गरेको दुई वर्षभित्र उत्पादन सुरु नगरेमा सम्झौता रद्द गर्नुपर्ने कानुनी व्यवस्था छ। जग्गा सम्झौताको ६ महिनाभित्र आवश्यक संरचना निर्माण गरिसक्नुपर्ने र २ वर्षभित्रमा उत्पादन थाल्नु पर्ने कानुन लत्याउँदै वर्षौंदेखि जग्गा ओगटेर बसेका उद्योगलाई उन्मुक्ति दिँदै आइएको छ। हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले २०७९ साल असोज २ गते १५ वटा उद्योगको सम्झौता रद्द गर्ने बारे ३५ दिने सूचना नै निकालेको थियो। जसमध्ये अधिकांश उद्योगले काम नगरी जग्गा ओगटेर मात्रै बसेका छन्।

२०६६ सालदेखि र पछिल्लो समय २०७८ सालमा जग्गा सम्झौता गरेका  केही उद्योग संचालनमा छैनन्।  औद्योगिक क्षेत्रभित्र यस्ता पुराना ९ वटा उद्योगहरुको संरचना छ। ती प्रयोगविहीन संरचना नयाँ उद्योग स्थापनाका लागि अवरोध सृजना गरिरहेका सरोकारवाला बताउँछन्।

औद्योगिक क्षेत्रको व्यवस्थापनका लागि काम गरिरहेको सरकारी निकाय हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालय भने निरीह जस्तै बनेको छ। वर्षौंदेखि जग्गा कब्जा भइरहँदा पनि कुनै कारबाही प्रक्रिया अगाडि बढाइएको छैन।

विगतमा संचालित ९ वटा उद्योग बन्द भइसकेको बताउँछन् हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयका प्रमुख क्षेत्र व्यवस्थापक भोजराज बिनाडी। बन्द भएका ९ वटा उद्योगमा नेपाल वनस्पति घ्यु उद्योग लिमिटेड, प्लाष्टिक फर्निचरलगायतका सामग्री उत्पादन गर्ने हिमालयन पोलिमर्स प्रालि, टिनका कन्टेनर र डब्बा उत्पादन गर्ने बाबा म्यानुफयाक्चरिङ प्रालि, जैविक मल उत्पादन गर्ने ग्रिनगोल्ड इन्टरनेशनल प्रालि रहेका छन्। यस्तै, प्लाष्टिकका बोत्तल उत्पादन गर्ने बानियाँ मल्टी प्रोडक्ट्स ईण्डष्ड्रिज, मदिरा उत्पादन गर्ने सन्नी डिष्टिलरी प्रालि, बियर पेय पदार्थ उत्पादन गर्ने नेपाल ब्रुअरिज प्रालि, चिया प्याकिङ गर्ने त्रिपुरा इण्डष्ड्रिज (नेपाल) प्रालि, प्लाष्टिकका सामग्री उत्पादन गर्ने इन्भारोप्लाष्ट नेपाल प्रालि उद्योग पनि बन्द भइसकेका छन्।

व्यवस्थापक बिनाडी औद्योगिक क्षेत्रमा उत्पादन बन्द गर्ने कम्पनीहरुले जग्गा छाड्नुपर्ने बताउँछन्। डेढ वर्षभित्र बन्द भएका उद्योगले पुनः उत्पादन नथालेमा कानुनी प्रक्रिया अनुसार कार्यालय अघि बढ्ने उनले बताए। तर, हाल आर्थिक संकटका कारण उद्योग पुनः संचालन गर्न नसक्ने जानकारी गराएकाले ती ९ उद्योगलाई डेढ वर्षसम्मको समय अवधि दिइएको छ।

 ‘उद्योग बन्द भइसकेपछि संरचना हटाउनुपर्ने हुन्छ। तर, उहाँहरुले हटाउनु भएको छैन। उद्योग संचालन गर्छु भनेर लिखित जानकारी नै दिएकाले समय दिएका हौं,’ उनले भने।

तोकिएको समयभित्र उत्पादन सुरु नगरे संरचना लिलामी गर्नेसम्मको कदम कार्यालयले उठाउने उनले बताए। उद्योगपतिहरुले पुनः उद्योग संचालन गर्ने भन्दै सम्झौता रद्द नगर्न लिखित रुपमै दबाब दिँदै आएको उनको आरोप छ।

हेटौंडा औद्योगिक क्षेत्रमा विगतमै बन्द भइसकेका उद्योगहरुको ठाउँमा नयाँ उद्योगहरु आएर उत्पादन थालिसकेको उदाहरण पनि छन्। बर्सेनी करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरु यसअघि नै बन्द भएर उक्त स्थानमा नयाँ उद्योग स्थापित भइसकेका छन्। त्यस्तै, एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरु पनि केहीवर्ष अघिदेखि अस्तित्वमा छैनन् र उक्त स्थानमा नयाँ उद्योग आएर उत्पादन गरिरहेका छन्।

५ वटा उद्योग बाहिरिए

गत आर्थिक वर्ष २०७९-८० मा हेटौंडा औद्योगिक क्षेत्रमा संचालित ५ वटा उद्योगले क्षेत्र नै छाडेर गएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

एक वर्षको अवधिमा हेटौंडा औधोगिक क्षेत्रमा संचालित दामुचन्द्र माला काष्ठ उद्योगले ३.०० रोपनी क्षेत्रफल छाडेर गएको छ। चुरियामाई काष्ठकला उद्योगले ४.०४ रोपनी, भविष्य मैदा मिल एण्ड हाईजिन प्रालिले १२.८८ रोपनी, रिजोइन क्वालिटी फुडस ई. प्रालिले ५४.२८ रोपनी, एप्पल पोलिमर्स प्रालिले ४०० रोपनी क्षेत्रफल छाडेर गएको औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जनाएको छ।

८ नयाँ उद्योगसँग सम्झौता

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले गत आर्थिक वर्ष २०७९-८० मा ९ वटा नयाँ उद्योगहरुसँग सम्झौता गरेको छ।

राधेराधे ईन्जिनियरिङ वर्कशप (२.४२ रोपनी), सुहिम प्लाष्टिक प्रोडक्ट ईण्डष्ट्रिज (५.०० रोपनी), बिएचपी मेनुफ्याक्चरिङ् प्रालि (५.०० रोपनी) र गुडहोम प्रोडक्ट प्रालि (१०.३३ रोपनी) जग्गामा उद्योग संचालनका लागि जग्गा सम्झौता गरेका छन् । यति पोलिकेम प्रालि (३.०० रोपनी), औषधि प्याकेजिङ् सालुसन प्रालिले (४.०४ रोपनी), सफ्टी हाईजिन प्रालि (१२.८८ रोपनी) र एसियन पेन्टस (नेपाल) प्रालिबट ५४.२८ रोपनी क्षेत्रफलमा नयाँ उद्योगका लागि सम्झोता गरेको हो।

२३ उद्योग निर्माणधीन

हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले दिएको तथ्यांकअनुसार हाल २३ वटा नयाँ उद्योग निर्माणधीन अवस्थामा रहेको छ। जग्गा सम्झौता भई निर्माणधीन अवस्थामा रहेको उद्योगहरुमध्ये पेट बोतल उत्पादन, दुध तथा दुधजन्य पदार्थ, औषधिजन्य पेट वोटलका सामानहरु, पिपि ओमन फेब्रिक र बाल पुटी उत्पादन गर्ने उद्योगहरु जग्गा सम्झौता भई निर्माणकै चरणमा रहेको प्रमुख बिनाडीले जानकारी दिए। 

यसैगरी, रंग रोगन उत्पादन, बिस्कुट तथा बेकरी उत्पादन, पेन्ट तथा पुटी उत्पादन, ग्याबिन आईरन वायर, मेटल फेब्रिकेशन सम्बन्धी, प्लाष्टिक तथा प्लाष्टिकरणजन्य सामान, किचनका सामानहरु उत्पादन गर्ने उद्योग निर्माणधीन कार्यालयले जनाएको छ।