सुन प्रकरणमा जोडेपछि दीपक मल्होत्राले भने- ‘यस्तो धन्दामा कहिल्यै कुनै संलग्नता छैन, डराउन्न’

बिजमाण्डू
२०८० साउन ४ गते १५:१९ | Jul 20, 2023
सुन प्रकरणमा जोडेपछि दीपक मल्होत्राले भने- ‘यस्तो धन्दामा कहिल्यै कुनै संलग्नता छैन, डराउन्न’


काठमाडौं। व्यवसायी दीपक मल्होत्राले बुधबार राजस्व अनुसन्धान विभागले बरामद गरेको सुन प्रकरणमा आफ्नो कुनै पनि संलग्नता नभएको दाबी गरेका छन्।

Tata
GBIME

बिहीबार उनीमाथि सुन प्रकरणमा जोडेर प्रश्न उठेपछि पत्रकार सम्मेलन गर्दै आफू, परिवार र आफ्नो व्यवसायी फर्मको कुनै पनि संलग्नता नभएको बताएका हुन्। अनुसन्धानको क्रममा आफ्नो संलग्नता देखिए कानुन बमोजिम सजाय भोग्न तयार रहेको उनको भनाई छ।

‘मैले गलत गरेको छैन। त्यसैले डराउन्न। सुनमा मेरो संलग्नता छैन। यस्तो किसिमको धन्दामा म कहिले पनि संलग्न थिइन,’ मल्होत्राले भने।

बुधबार त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलको भन्सार कार्यालयको कार्गोबाट जाँच पास भएर बाहिरिएको मोटर पार्टस्भित्र सुन भेटिएको छ। सुन एक अर्ब बराबरको भएको देखिएको छ। जसमा राजस्व अनुसन्धान विभागले ६ जनलाई पक्राउ गरेको छ। मलहोत्राले आफ्नो नाम जोडेर वास्तविक सुन प्रकरणमा संलग्नलाई जोगाउन घटना डाइभर्सन गरेको बताए।

‘मेरो नाम ल्याएर वास्तविक अभियुक्तलाई उन्मुक्ति दिन यस्तो भएको जस्तो मलाई लाग्छ,’ मल्होत्राले भने।

उनी आइएमएस ग्रुपका अध्यक्ष समेत हुन्। तर अहिलेसम्म सुन प्रकरणलाई लिएर आफूलाई कुनै पनि निकायबाट सम्पर्क नभएको बताए। बुधबार बरामद भएको सुनको परिमाण पत्ता लगाउन टक्सार विभाग लगिएको छ।