सुन प्रकरणले भन्सार कार्यालयमा खैलाबैला, कार्गो भवनमा सोधपुछ, केही कर्मचारी भाग्यलाई धन्यवाद दिँदै

सविन ढकाल
२०८० साउन ४ गते १२:३९ | Jul 20, 2023
सुन प्रकरणले भन्सार कार्यालयमा खैलाबैला, कार्गो भवनमा सोधपुछ, केही कर्मचारी भाग्यलाई धन्यवाद दिँदै


काठमाडौं। त्रिभुवन विमानस्थल भन्सार कार्यालय अगाडि बिहीबार बिहान १० बजेतिर मानिसको भीड लागेको थियो। लोड अनलोड गरिएका मालवाहक ट्रलीहरू कार्गोको गेट अगाडि लामबद्ध थिए।

Tata
GBIME

कार्गो गेटभित्र भने सुनसान। प्रांगणमा सेना तैनाथ थिए। गेट पूरै बन्द गरेर मानिसलाई कार्यालयभित्र पस्न प्रतिबन्ध लगाइएको थियो।

दृश्यमा भीडमा देखिएका अधिकांश मानिस भन्सार कार्यालयका कर्मचारी र कार्गोका कर्मचारी थिए। उनीहरुबीच खासखुस चलिरहेको थियो। उनीहरुको बुधबार बरामद भएको सुनकै विषयमा खासखुस गरिरहेका थिए।

‘त्यो अर्बको सुन आएको रहेछ। त्यसैको छानबिनको लागि सिल झैँ गरिएको हो नि!’ एक कर्मचारीले भने।

राजस्व अनुसन्धान विभागको टोलीले बुधबार हङकङबाट ‘ब्रेक सु’भित्र आएको सुन बरामद गरेपछि बिहीबार बिहान १० नबज्दै  विभागले भन्सारका कर्मचारीमाथि अनुसन्धान थालेको थियो। त्यसैको लागि कार्गोको भवनमा भन्सारका कार्यालयका सबै कर्मचारीलाई बोलाएर सोधपुछ भइरहेको थियो।

भन्सार कार्यालयका प्रमुख अरुण पोखरेल बिदामा थिए। एक कर्मचारीले दुई महिना बिरामी बिदा लिएर बसेको सुनाए। तर घटना भएपछि उनी पनि कार्गो भवनमा पुगेका थिए। अन्य कर्मचारीहरू पनि सहभागी थिए।

बुधबार भन्सार जाँच पास भएर सुनसहितको सामान बाहिरिएको थियो। सुनसहितको सामान भन्सारबाट जाँचपास भएपछि भन्सार कर्मचारी र एक्स-रे प्रविधिमाथि पनि प्रश्न उठेको छ। कसरी सुन भएको सामानको जाँचपास भयो त? बिहीबारदेखि राजस्व अनुसन्धान विभागले सोधपुछ गरेको हो।

कार्गोको भवनअगाडि कर्मचारीको गफ चलिरहेको थियो। कर्मचारीहरु माझ अनेक आशंका र प्रश्नहरू उब्जिरहेका थिए- कसैले यत्रो सुन ल्याउन कत्रो आँट? यो ठूलै मान्छेले मात्र ल्याउन सक्छ? मैले त अहिलेसम्म यत्रो सुन आएको थाहै पाएको थिइनँ।

एकछिनमा एक महिला कर्मचारी स्कुटरमा हुँइकिएर आइन्। साथी भएनिरै लगेर स्कुटर रोकिन्। त्यतिकैमा अर्का कर्मचारीले बोले, ‘तपाईँको ठूलै भाग्य रहेछ।’ उनको अनुहारमा हताश र चिन्ता दुवै झल्किन्थ्यो।

उनले सुस्त हुँदै बोलिन्, ‘धन्न म अस्पताल गएकाले बचेँ।’

उनी बच्नुको कारण सुन जाँचपास भएको दिन गयल रहिछिन्। कार्यालय आएको भए त्यस दिन उनको ड्युटी हुने थियो र उनी पनि सोधपुछको दायरामा पर्ने थिइन्। त्यसैले लामो सासमा उनले बचेँ भनेकी रहेछिन्।

धेरै समय कर्मचारीलाई त्यसरी नै कार्गो भवन अगाडि होल्ड गरियो। त्यसपछि परिचयपत्र हेरेर एकाएक गर्दै भित्र छिराइयो। हामी पनि कसोकसो गरेर कार्गो भवनभित्र छिर्ने मौका मिल्यो।

भित्र कर्मचारी उस्तै अलमलमा देखिए। माथि सोधपुछ चलिरहेको थियो। कार्गोबाट आयातको काम भए पनि निर्यातको काम रोकिएको थियो। बुधबार सामानभित्र सुन बाहिरिएको ठाउँमा भने सिल गरिएको थियो। केही कर्मचारीले त्यहाँ जान रोकेर राखेका थिए।

अहिलेसम्म कति परिमाणमा सुन आएको भन्ने यकिन भइसकेको छैन। राजस्वले भन्सारबाट सुन सहितको सामान कसरी बाहिरियो भन्ने खोजी रहेको छ। त्यसपछि सुन कसले ल्याएको हो? अरु कस कसको संलग्नता छ भन्ने खुल्दै जाला।