
काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार कार्गोबाहिरबाट पक्राउ परेको सुनका बारेमा कर्मचारीको संलग्नता जाँच गरिने भएको छ।
करिब १०० किलो सुन भन्सार जाँचपासबाट पास भएर सिधै बाहिर पुगेपछि कर्मचारीको संलग्नतामाथि जाँच गरिने भएको हो।
राजस्व अनुसन्धान विभागको टोलीले बुधबार दिउँसो ३ बजे विमानस्थलबाट अहिलेसम्मकै ठूलो परिमाणमा सुन बरामद गरेको थियो। विभाग स्रोतका अनुसार, एक अर्बभन्दा बढी मूल्यको सुन भएको प्रारम्भिक अनुमान छ।
सुन हङकङबाट नेपाल ल्याइएको हो। क्याथे प्यासिफिकको मंगलबार राति १० बजेर २ मिनेटमा अवतरण भएको जहाजबाट सुन ल्याइएको थियो।
अहिले एयरपोर्ट भन्सार प्रधानमन्त्री कार्यालयअन्तर्गत रहेको राजस्व अनुसन्धान विभागको नियन्त्रणमा छ। बिहीबार १० बजेदेखि विभागले नेपाली सेनाको विशेष सुरक्षामा नियमित कार्यालय आएका भन्सार कर्मचारीलाई पनि छिर्न नदिई अनुसन्धान गरिरहेको छ।
विभाग स्रोतका अनुसार, हिजो समातिएको सुन एयरपोर्ट भन्सारको एक्सरे मेसिनमा पुन: जाँच गरिने छ। एक्सरेले देखाएन भने पनि मिलेमतोमा बिगारिएको पुष्टि हुने छ। देखायो भने पनि कर्मचारीले मिलेमतोमा सुनको रेकर्ड नराखी पास गरेको पुष्टि हुने छ।
राजस्व अनुसन्धान विभागले अहिले हरेक कोणबाट अनुसन्धान थालेको छ।
सुराकीको माध्यमबाट उक्त परिमाणमा सुन समातिएको हो। सुराकीको सूचनाका आधारमा सुन समातिएकाहरुले उनीहरुले कमिसन पाउँछन्। त्यो रकम निक्कै ठूलो हुने छ।

मोटरका पार्टसभित्र सुन राखेर ल्याएको देखिएको छ। मंगलबार आएको सामान भन्सार कार्यालयबाट जाँचपास भएपछि बाहिरिएको थियो। त्यस लगतै राजस्वको टोलीले सामानसहित मानिसलाई नियन्त्रणमा लिएको हो। पार्ट्सभित्र हेर्दा सुन भेटिएको हो।
भन्सार कार्यालयको एक्सरे मेसिनले ठूला फलामका सामानलाई मेसिनमा राखेर हेर्न मिल्दैन। त्यसैले भौतिक रुपमा नै जाँच गरेर जाँचपास गरिएको हुन्छ। त्यसको फाइदा उठाउँदै सुन तस्करी भएको देखिएको हो।
‘हाम्रो भन्सार कार्यालयमा ठूला मेसिनरी सामानको एक्सरे हुँदैन। त्यसैले भित्रको कुरा थाहा नभएको हो,’ भन्सार कार्यालयका एक कर्मचारीले भने।
राजस्व अनुसन्धानको टोलीले भन्सार एजेन्ट र अर्का एक जना व्यक्तिलाई नियन्त्रणमा समेत लिएको छ।
पछिल्लो समय नेपाल प्रहरीको रेकर्डमा एकैपटक सबैभन्दा धेरै ८८ किलो सुन बरामद भएको थियो। २०७४ भदौमा ठमेलबाट चिनियाँ नागरिकले ल्याएको ८८ किलो सुन समातिएको थियो।