
काठमाडौं। भन्सार विभागले त्रिभुवन विमानस्थल भन्सार कार्यालयबाट ठूलो परिमाणमा सुन जाँचपास भएको विषयमा छानबिन समिति गठन गरेको छ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको भन्सार जाँचपास भएको करिब १ सय किलो हाराहारीमा सुन बरामद भएपछि विभागले छानबिन समिति बनाएको हो। विभागको अनुसन्धान तथा अनुपालन शाखाका निर्देशक मानबहादुर पौडेलको संयोजकत्वमा समिति गठन गरिएको विभागका निर्देशक पुण्यविक्रम खड्काले जानकारी दिए।
समितिले दिने प्रतिवेदनका आधारमा कर्मचारीहरु दोषी भेटिए कारबाहीको लागि सिफारिस हुने विभागले जनाएको छ। विभागका महानिर्देशक शोभाकान्त पौडेलले गहन छानबिन गरेर दोषी देखिए कर्मचारीलाई कडा कारबाही गरिने बताए।
‘ठूलो परिमाणमा सुन जाँचपास भएर गएको खुल्न आएको छ। यो अत्यन्तै गम्भीर विषय हो’, उनले बिजमाण्डूसँग भने, ‘हाम्रो सबै संयन्त्र परिचालन गरेर छानबिन अगाडि बढाउँदैछौं।’
उनका अनुसार एक्सरे मेसिनले के कारणले ट्रयाक गर्न सकेन वा कर्मचारीकै मिलेमतोमा भएको हो भन्ने बारेमा अध्ययन गरेर दोषीलाई कडा कारबाहीको दायरामा ल्याइनेछ।

अहिले राजस्व अनुसन्धान विभागको टोलीले भन्सार जाँचपास क्षेत्रलाई सिल गरेर अनुसन्धान गरिरहेको छ। जसका कारण आयातको जाँचपास रोकिएको छ भने निर्यातको काम निर्वाध चलिरहेको छ।
त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास गरेर बाहिरिएको सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परिरहेका छन्। राजस्व अनुसन्धान विभागले यस घटनामा संलग्न अरुलाई समेत खोजिरहेको छ।
हङकङबाट विमानस्थलको कार्गो हुँदै आएको सामान जाँचपास गरेपछि भन्सार कार्यालयबाट बाहिरिएको थियो। त्यसैले भन्सार विभागले आफ्ना कर्मचारीसमेतको संलग्नता रहन सक्ने आशंका गर्दै समिति गठन गरेको हो।
विशेष सूचनाको आधारमा विमानस्थल पुगेको राजस्वको टोलीले सुन तस्करीमा संलग्नहरुलाई नियन्त्रणमा लिएको थियो।
पहिलो चरणमा सामान राखिएको ट्याक्सीका चालक र भन्सार एजेन्टलाई नियन्त्रणमा लिएको थियो। त्यसपछि बरामद सामान खोलेर हेर्दा सुन फेला परेको थियो। भन्सार कार्यालयबाट जाँचपास भएको सामानको तौल करिब १ सय ६० किलो रहेको बताइएको छ।
तर, सुन ठ्याक्कै कति तौलको छ भन्ने नखुलिसकेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए। रेडी ट्रेड प्राइभेट लिमिटेडले उक्त सामान मगाएको देखिएको छ। विभागले लिमिटेडका सञ्चालक समेतलाई नियन्त्रणमा लिइसकेको छ।