विशेष सूचना पछ्याउँदा ‘ब्रेक सु’भित्र भेटियो सुन, मुख्य व्यक्तिको खोजी हुँदै

सविन ढकाल
२०८० साउन ४ गते ०७:५४ | Jul 20, 2023
विशेष सूचना पछ्याउँदा ‘ब्रेक सु’भित्र भेटियो सुन, मुख्य व्यक्तिको खोजी हुँदै

काठमाडौं। त्रिभुवन विमानस्थलको भन्सार कार्यालयबाट जाँचपास गरेर बाहिरिएको सुन बरामद प्रकरणमा हालसम्म ६ जना पक्राउ परेका छन्।

Tata
GBIME
NLIC

बुधबार रातभर अप्रेसन चलाएको राजस्व अनुसन्धान विभागको टोलीले भन्सार एजेन्टसहित अन्य ५ जनालाई नियन्त्रणमा लिएको हो।

पक्राउ परेका २ जनाको विवरण दिए पनि अन्य ४ जनाको नाम भने गोप्य नै राखिएको छ। समातिएका २ जनाको बयानको आधारमा कनेक्सन देखिएका अन्य मानिसलाई विभागले नियन्त्रणमा लिएको हो।

हङकङबाट विमानस्थलको कार्गोमा आएको सामान जाँचपास गरेपछि भन्सार कार्यालयबाट बाहिरिएको थियो

विशेष सूचनाको आधारमा विमानस्थल पुगेको राजस्वको टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको थियो।

पहिलो चरणमा सामान राखिएको ट्याक्सीका चालक र भन्सार एजेन्टलाई नियन्त्रणमा लिइएको हो। त्यसपछि बरामद सामान खोलेर हेर्दा सुन फेला परेको थियो।

उनीहरूले ‘ब्रेक सु’भित्र सुन राखेर ल्याएको देखिएको छ। विभागको टोलीले सबै सुन निकालेको छ।

कति छ सुनको परिमाण?

सुन मंगलबार राति हङकङबाट आएको क्याथे प्यासेफिक विमानमार्फत आएको थियो। राजस्व विभागलाई केही दिनअघिदेखि नै सुन आउने सूचना आएको थियो।

भन्सार कार्यालयबाट जाँचपास भएको सामानको तौल करिब १ सय ६० किलो रहेको छ।

तर सुन ठ्याक्कै कति तौलको छ भन्ने नखुलिसकेको राजस्व अनुसन्धान विभागका महानिर्देशक नवराज ढुंगानाले बताए।

‘हामीलाई ५० देखि सय किलोको बिचमा सुन छ भन्ने लागेको छ। आज बैंकबाट तौल गरेर ल्याएपछि भन्न सकिन्छ,’ महानिर्देशक ढुंगानाले भने।

रेडी ट्रेड प्राइभेट लिमिटेडले उक्त सामान मगाएको देखिएको छ। विभागले लिमिटेडका सञ्चालक समेतलाई नियन्त्रणमा लिएको छ।

यस घटनामा अन्य मानिसको पनि संलग्नता देखिने भएकाले अपरेसन जारी रहेको महानिर्देशक ढुंगानाले बताए। सुन ल्याउने मुख्य व्यक्तिको पनि खोजी भइरहेको उनले बताए।

उक्त कम्पनीले यसअघि पनि ‘ब्रेक सु’ मगाएको देखिएको छ। तर ती सामानमा सुन भए/नभएको भने खुल्दैन।

विभागलाई ठूलो सफलता

राजस्व अनुसन्धान विभागको अपरेसनमा सबैभन्दा धेरै सुन बरामद भएको यो पहिलो घटना हो।

नेपाल प्रहरीले भने २०७४ भदौमा ठमेलबाट ८८ किलो सुन बरामद गरेको थियो। जसमा चिनियाँ नागरिकको संलग्नता समेत खुलेको छ।

गत पुस ८ गते सुडानी नागरिकले ल्याएको १९ किलो सुन भन्सार कार्यालयले बरामद गरेको थियो। उक्त सुन भारत पुर्‍याउन लागिएको अनुसन्धानमा खुलेको थियो।

विदेशबाट यसरी आएको सुन भारत पुग्ने गरेको हो। बुधबार बरामद भएको सुन पनि भारत जाने प्रारम्भिक रुपमा देखिएको छ।

तर यस प्रकरणका मुख्य व्यक्ति नसमातिएसम्म घटनाको थप पाटो खुल्ने देखिदैँन। सुन प्रकरणमा प्रायः भरिया र सहयोगी मात्र समातिने गर्छन्।

२०७४ माघ ९ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ३३ केजी सुन बाहिरिएको घटना भने सबैभन्दा धेरै चर्चामा छ।

सो घटनामा ३५ वर्षीय सुन व्यापारी सनम शाक्यको हत्या पनि भएको थियो।

सो प्रकरणमा २०७५ बैशाख १९ गते सात जना प्रहरीसहित ६३ जनाविरुद्ध जिल्ला अदालत मोरङमा मुद्दा दर्ता भएको थियो। सङ्गठित अपराध, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यानमा मुद्दा दर्ता भएको थियो।

त्यसबाहेक अन्यलाई लगाऊ मुद्दा लगाइएको थियो। यसमा प्रहरीका उच्च कर्मचारी समेत पक्राउ परेका थिए। तर प्रहरीले भने सफाइ पाए।

मुख्य अभियुक्त भनिएका चुणामणी उप्रेती ‘गोरे’ भने हाल थुनामा छन्।