काठमाडौं। राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. मीनबहादुर श्रेष्ठले न्युयोर्कमा जारी उच्चस्तरीय राजनीतिक फोरमलाई सम्बोधन गरेका छन्। नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गर्दै अमेरिका पुगेका उपाध्यक्ष श्रेष्ठले उच्चस्तरीय राजनीतिक मञ्च (एचएलपीएफ) मा अल्पविकसित देश (एलडीसी) हरुको तर्फबाट सम्बोधन गरेका हुन्।
यसअघि उपाध्यक्ष नेतृत्वको टिम मञ्चको तीन दिने उच्चस्तरीय सम्मेलनको उद्घाटन सत्रमा समेत सहभागी भए। फोरममा विभिन्न देशका मन्त्रीस्तरीय प्रतिनिधिहरुको सहभागिता छ। उपाध्यक्ष श्रेष्ठले अल्पविकसित राष्ट्रहरूमा विभिन्न संकटले पारेका प्रभावहरू प्रस्तुत पार्दै अल्पविकसित राष्ट्रहरूमा एसडीजी कार्यान्वयनलाई तीव्रता दिनुपर्ने बताए।
दोहा कार्ययोजनाको पूर्ण र समयमै कार्यान्वयन सुनिश्चित गर्न र नवप्रवर्तन र प्रविधि हस्तान्तरण मार्फत संरचनात्मक रूपान्तरण हासिल गर्न एलडीसीहरूलाई सहयोग गर्न विश्व समुदायलाई उनले आग्रह गरे। उपाध्यक्ष श्रेष्ठले बहुपक्षीयताको महत्त्व र विश्वव्यापी वित्तीय संरचनाको सुधारको आवश्यकतामा जोड दिए।
उच्चस्तरीय पोलिटिकल फोरममा सहभागी हुन नेपाली टोली गत बिहीबार (१३ जुलाई) न्युयोर्क पुगेको हो।
उपाध्यक्ष श्रेष्ठले नेतृत्व गरेको प्रतिनिधिमण्डलमा संघीय सांसद सदस्य तथा राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समितिका अध्यक्ष प्रकाश पन्थ, संघीय सांसद तथा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौला र माओवादी केन्द्रका सांसद माधव सापकोटा, योजना आयोगका सदस्य सचिव तोयनारायण ज्ञवाली, नेपाल सरकारका सचिव तथा अधिकारीहरु र संयुक्त राष्ट्र संघका लागि नेपालको स्थायी नियोगका अधिकारीहरु सहभागी छन्।