खाणलाई निलम्बन गर्ने ‘मुड’मा छैन कांग्रेस, केन्द्रीय समितिमा छलफल नहुने

बिजमाण्डू
२०८० साउन १ गते १८:४७ | Jul 17, 2023
खाणलाई निलम्बन गर्ने ‘मुड’मा छैन कांग्रेस, केन्द्रीय समितिमा छलफल नहुने


काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका पूर्व गृहमन्त्री बालकृष्ण खाणलाई पार्टीको केन्द्रीय सदस्यबाट तत्काल निलम्बन नगर्ने ‘मुड’मा नेपाली कांग्रेस देखिएको छ। नेपाललाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने कार्यमा संलग्न रहेको आरोपमा खाण वैशाख २७ गते पक्राउ परेका थिए।

Tata
GBIME

मंगलबार बस्ने केन्द्रीय समिति बैठकमा खाणलाई कारबाहीबारे छलफल होला? धेरैको प्रश्न थियो। किनकि शरणार्थी प्रकरणमै पक्राउ परेका नेकपा एमालेका सचिव टोपबहादुर रायमाझीलाई निलम्बन गरिसकेको छ। तर, खाणलाई कारबाहीको बारेमा कुनै एजेन्डा नभएको कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माले बताए।

सोमवार पार्टी सभापति शेरबहादुर देउवाको निवास धुम्बाराहीमा बसेको पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठकले मंगलवार बस्ने केन्द्रीय समिति बैठकका लागि १० वटा एजेन्डा तय गरेको छ। ती एजेन्डामा खाणलाई कारबाही गर्ने उल्लेख छैन।

कारागारमा रहेका खाण देउवा निकट केन्द्रीय सदस्य हुन्। पार्टीको १४औं महाधिवेशनमा महामन्त्रीका आकांक्षी रहेका उनलाई त्यतिबेला देउवाले थुम्थुमाएपछि उनले आकांक्षा त्यागेका थिए। शरणार्थी प्रकरणमा खाण निर्दोष रहेको दाबी देउवाले गर्दै आएका छन्। पुर्पक्षका लागि थुनामा जानुअघि खाण पक्षका नेता देउवा निवासमा ‘डेलिगेसन’ गएका थिए। उनीहरुको माग थियो – खाणलाई तत्काल हिरासतबाट छुटाउनु। सोही भेटमा देउवाले ती नेताहरुसँग भनेका थिए – बालकृष्ण पैसामा बिक्ने मान्छे हैन। मैले चिनेको मान्छे हो। उहाँको प्रमाण फेला पारेको छैन।

जेठमै पत्रकार सम्मेलन गरेर अर्थमन्त्रीसमेत रहेका कांग्रेस प्रवक्ता डा प्रकाशशरण महतले खाणले आफैंले निर्दोष प्रमाणित गर्छु भनिरहेकाले निलम्बन नगरेको बताएका थिए। ‘निर्दोष रहेको उहाँले भनिरहेकाले निलम्बनको निर्णय पार्टीले नगरेको हो,’ जेठ २ मा अर्थमन्त्री महतले भनेका थिए।

देउवाको बोली सुनेपछि खाण निकट नेता ढुक्क भएर फर्कन्थे। तर, जेठमा देउवाले खाणको समर्थन गरेर नेताहरुलाई फर्काए पनि असार १ गते भने अदालतले खाणलाई थुन्ने आदेश आयो। हाल खाण पुर्पक्षका लागि थुनामा छन्।

यसअघि पनि पार्टी पदाधिकारी बैठकमा पार्टी सभापति देउवा, महामन्त्रीद्वय गगन थापा र शर्मा र अन्य पदाधिकारीले केन्द्रीय समितिमा खाणलाई निलम्बनको निर्णय प्रस्तुत नगर्ने भद्र सहमति गरेका थिए।