बैंकिङ कसुरका अपराधमा आक्रामक बन्दै प्रहरी, दुर्गा प्रसाईंको अभियानले सुरक्षा चुनौती

सविन ढकाल
२०८० साउन १ गते १८:१२ | Jul 17, 2023
बैंकिङ कसुरका अपराधमा आक्रामक बन्दै प्रहरी, दुर्गा प्रसाईंको अभियानले सुरक्षा चुनौती


काठमाडौ। प्रहरीले बैंकिङ कसुरका अपराधमा आक्रामक कारवाही अगाडि बढाउने तयारी गरेको छ। आर्थिक मन्दीसँगै बैंकिङ कसुरका अपराधको ग्राफ बढेपछि प्रहरीले कारवाही प्रक्रिया आक्रामक बनाउन लागेको हो।

Tata
GBIME

काठमाडौंमा आर्थिक वर्ष २०७९/८० मा बैंकिङ कसुरका घटना करिब दोब्बर सङ्ख्या बढेर छ।जिल्ला प्रहरी परिसर, काठमाडौँले एक आर्थिक वर्षमा ७ हजार १०१ वटा मुद्दा अदालतमा दर्ता गराएको छ।

अघिल्लो आर्थिक वर्ष २०७८/७९ मा भने बैंकिङ कसुरमा दर्ता हुन मुद्दाको सङ्ख्या ३ हजार ७१५ थियो। यसरी हेर्दा गएको आर्थिक वर्षमा बैंकिङ कसुरको मुद्दा झन्डै दोब्बरले बढेर गएको हो।

काठमाडौं जिल्लामा आर्थिक वर्षभरिमा भएका १० अपराधमध्ये बैंकिङ कसुर सबैभन्दा धेरै हो। दोस्रोमा रहेको अभद्र व्यवहारमा प्रहरीले २ हजार ८९४ वटा मुद्दा मात्र दायर भएको छ। काठमाडौंमा बैंकिङ कसुरको घटना बढ्नुमा आर्थिक मन्दी देखिएको परिसरका प्रमुख एसएसपी दानबहादुर कार्कीले बताए।

‘सबैभन्दा धेरै घटना बैंकिङ कसुरको देखिएको छ। यसको मुख्य कारण आर्थिक मन्दी र तरलता अभाव भएको देखिन्छ,’ एसएसपी कार्कीले भने।

बैंकिङ कसुरका घटना बढ्दा काठमाडौंभित्र भएका अपराधको ग्राफ पनि उकालो लागेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा १३ हजार ४६४ वटा मुद्दा दर्ता भएका छन्। जुन अघिल्लो आर्थिक वर्ष (२०७८/७९) को तुलना गर्दा ४ हजार ४८७ले बढी हो। एसएसपी कार्कीको अनुसार बैंकिङ कसुरको मुद्दा बढ्दा अन्य मुद्दा संख्या बढेको दाबी छ।

बैंकिङ कसुर सम्बन्धी जाहेरीहरू दिनप्रतिदिन बढ्दो अवस्थामा रहेको, बैंक-सहकारी ठगी, हुन्डी, नक्कली नोटको कारोबार, राजस्व अपचलन तथा ठगीका घटनाले प्रहरीलाई आर्थिक चुनौती थपिदिएको छ।

प्रहरीले अहिले बैंकिङ कसुरका घटनामा मेलमिलाप नभए मुद्दा नै चलाएर पक्राउ गर्ने गरेको छ। तर यसरी पक्राउ पर्नेको सङ्ख्या भने उजुरीको आधारमा १० प्रतिशत मात्र देखिन्छ। तर अब यसलाई बढाएर ४० प्रतिशतसम्म पुर्‍याउने प्रहरीको तयारी रहेको छ।

चेकलाई नोटकै रुपमा नलिएर सामान्य रुपमा लिँदा पनि बैंकिङ कसुरको घटना बढेको देखिएको छ। तरलता अभावले पनि कसुरको संख्या ह्वातै बढाएको देखिन्छ।

‘उजुरी परेपछि हामीले सुरुमा फोन गरेर दुई पक्ष मिलेर जानु भन्छौँ। तर केही मिल्नु हुन्छ भने धेरै कसले के गर्छ भन्ने रूपले लिएर बस्नु हुन्छ। त्यसपछि मुद्दा दर्ता गरेर नै पक्राउ गर्छौं,’ एसएसपी कार्कीले भने।

अपराध अनुसन्धानमा शून्य सहनशीलताको सिद्धान्त लागु गर्दा पनि बैंकिङ कसुरमा पक्राउ पर्नेको सङ्ख्या कम हुने देखिएको छ। बैंकिङ कसुर अन्तर्गत धेरै जसो घटना चेक अनादरकै देखिएका छन्। चेकलाई नोटकै रुपमा नलिएर सामान्य रुपमा लिँदा पनि बैंकिङ कसुरको घटना बढेको देखिएको छ। तरलता अभावले पनि कसुरको संख्या ह्वातै बढाएको देखिन्छ।

त्यसो त काठमाडौं जिल्लामा मात्र होइन देशभर नै बैंकिङ कसुरका घटना ह्वातै बढेर गएको देखिन्छ।

आर्थिक वर्ष २०७३/७४ मा देशभर ९३ वटा मात्र बैंकिङ कसुरका मुद्दा दर्ता भएका थिए। तर, आर्थिक वर्ष २०७७/७८ मा आइपुग्दा यो संख्या २५ गुणाले वृद्धि भएर २ हजार ३७३ पुगेको थियो।

आर्थिक वर्ष २०७४/७५ मा ७७६ वटा बैंकिङ कसुरका घटना भए। जसमा काठमाडौं उपत्यकाभित्र मात्रै ४८८ वटा मुद्दा दर्ता भएका थिए। यी मुद्दाहरूमा ३१५ जना पक्राउ परे। जसमा तीन जना विदेशी नागरिकसमेत थिए।

आर्थिक वर्ष २०७५/७६ मा ३ हजार १६७ वटा मुद्दा दर्ता भए। आर्थिक वर्ष २०७६/७७ झन् मुद्दा दर्ताको सङ्ख्या बढेर गयो। काठमाडौं उपत्यकामा २ हजार ९१० सहित देशभर ३ हजार ३०९ वटा मुद्दा दर्ता भएको नेपाल प्रहरीको तथ्यांकले देखाएको छ।

दुर्गा प्रसाईं अभियानले सुरक्षा चुनौती

वित्तीय क्षेत्रले वृद्धि गरेको व्याजको मिनाहा गर्नु पर्ने माग सहित (दुर्गा प्रसाईं) लगायत असन्तुष्ट पक्षहरूले गर्ने विरोध प्रदर्शन सुरक्षाको हिसाबले प्रहरीको लागि चुनौतीको विषय बनेको छ। जिल्ला प्रहरी परिसर काठमाडौंले सुरक्षामा देखिएको चुनौतीमध्ये आर्थिक गतिविधि चुनौती भएको विश्लेषण गरेको छ।

त्यसो त केही समय अगाडी व्यवसायी प्रसाईंले बैंक तथा वित्तीय संस्थाले ब्याजको विषयलाई लिएर कालो मोसो दल्न समेत उक्साएका थिए। त्यसको लागि केही दस्ता समेत तयार पारेका थिए। त्यसपछि देशका केही ठाउँमा यस्ता घटना समेत भए। प्रसाईंको आन्दोलनको कारण बैंक तथा वित्तीय संस्थाका कर्मचारी समेत त्रसित बनेका थिए।

बैंकिङ कसुरका घटना बढ्दा काठमाडौंभित्र भएका अपराधको ग्राफ पनि उकालो लागेको देखिन्छ। आर्थिक वर्ष २०७९/८० मा १३ हजार ४६४ वटा मुद्दा दर्ता भएका छन्। जुन अघिल्लो आर्थिक वर्ष (२०७८/७९) को तुलना गर्दा ४ हजार ४८७ले बढी हो।

असार २२ गते बैंकका सीइओहरुले उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठसँग भेटेर प्रसाईंको अभिव्यक्ति र गतिविधि बारे जानकारी समेत गराएका थिए। उनीहरूले बैंक तथा वित्तीय संस्थामा असुरक्षा बढेको भन्दै सुरक्षा प्रबन्ध मिलाउन आग्रह समेत गरेका थिए।