काठमाडौं। घरजग्गा किनबेचबाट सरकारले संकलन गर्ने राजस्व ३३ अर्ब ८१ लाख रुपैयाँले घटेको छ। गत वर्ष घरजग्गा कारोबारमा आएको गिरावटका कारण राजस्व संकलन गम्भीररूपमा प्रभावित बनेको हो।
कित्ताकाट, बैंक तथा वित्तीय संस्थाको तरलता र ब्याज वृद्धिले घरजग्गा कारोबारमा भारी गिरावट आएको छ। गत आर्थिक वर्ष २०७९/८० मा ४१ अर्ब ७३ करोड रुपैयाँ मात्रै राजस्व संकलन भएको छ। अघिल्लो आव २०७८/७९ मा सरकारले ७५ अर्ब ५५ करोड रुपैयाँ राजस्व उठाएको थियो। यसले घरजग्गा क्षेत्र ठूलो मन्दीमा फसेको पुष्टि गर्छ।
यस्तै, आव २०७८/७९ को तुलनामा ०७९/८० मा लिखत पारित २ लाख ७७ हजार ५११ ले घटेको छ। आव ०७९/८० मा ७ लाख ४५ हजार ११९ लिखत पारित भएकोमा आव ०७९/८० मा घटेर ४ लाख ६७ हजार ६०८ मा झरेको छ।
गत आव २०७९/८० को जेठको तुलनामा असारमा घरजग्गा कारोबार केही घटे पनि सरकारले उठाउने राजस्व भने बढेको छ। बैंक ब्याजदरदेखि तरलता सहज हुँदै गएपछि जेठयता घरजग्गा कारोबार केही लयमा फर्किन थालेको देखिन्छ। यसले स्थायित्व पाउने नपाउनेमा शंका भने उत्तिकै छ।
भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार असारमा देशभरका मालपोत कार्यालयहरुबाट ४८ हजार ७७१ लिखत पारित भएको छ। जेठको तुलनामा यो ६२ सय ९८ ले कम हो। तर, राजस्व संकलनका हिसाबले सुधार देखिन्छ। जेठको तुलनामा असारमा घरजग्गा कारोबारबाट सरकारले उठाउने राजस्व ५१ करोड ८२ लाख रुपैयाँले बढी हो।
असारमा सहरी तथा बढी मूल्य भएका क्षेत्रहरुको घरजग्गा बिक्री बढी हुँदा कारोबार संख्या घटे पनि राजस्व संकलन बढेको हो।जेठमा देशभरका मालपोत कार्यालयहरुबाट ५५ हजारभन्दा बढी लिखत पारित भएको थियो।
वैशाखको तुलनामा जेठमा लिखत पारित १२ हजार ६०८ ले बढेको थियो। जेठमा चालु आर्थिक वर्षकै सबैभन्दा बढी लिखत पारित भएको थियो। राजस्व संकलनका हिसाबले चैत उत्तम थियो। चैतमा सरकारले घरजग्गा कारोबारबाट ४ अर्ब ५१ करोड रुपैयाँ राजस्व उठाएको थियो।
जेठमा घरजग्गा किनबेचबाट सरकारले ३ अर्ब ७५ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो। वैशाखमा ३ अर्ब ६८ करोड रुपैयाँ राजस्व संकलन भएको थियो।
चालु आव प्रवेश गर्दा गत साउनमा घरजग्गा कारोबारमा चर्को मन्दी छाएको थियो। साउनमा देशभरका मालपोतहरुबाट घरजग्गा कारोबारबाट जम्मा २ अर्ब ७३ करोड रुपैयाँ राजस्व उठेको थियो। जबकि असारमा ६ अर्ब रुपैयाँभन्दा बढीको राजस्व उठेको थियो। वैशाखमा चार अर्ब ७८ करोड, जेठमा चार अर्ब २४ करोड रुपैयाँ राजस्व घरजग्गा कारोबारबाट सरकारले उठाएको थियो।
भदौमा भने साउनको भन्दा झिनो सुधार देखिएको थियो। भदौमा ३४ हजार ७२० लिखत पारित हुँदा सरकारले ३ अर्ब ५६ करोड रुपैयाँ राजस्व उठाएको थियो। साउनबाटै घरजग्गा कारोबारमा आएको मन्दीकै कारण धमाधम सहकारी संस्थासमेत डुब्न थालेका थिए। त्यो क्रम अझै जारी छ।
घरजग्गा व्यवसायी मीनमान श्रेष्ठले भू-उपयोग नीतिका कारण गत वर्ष घरजग्गा व्यापार ६ महिनाभन्दा बढी प्रभावित भएको बताए। सरकारले जग नै नहाली घर निर्माण गरेकाले राज्यको ठूलो राजस्व गुम्न पुगेको टिप्पणी गरेका छन्। कित्ताकाट सरलीकरण छिटोभन्दा छिटो गर्न उनले सरकारसँग माग गरेका छन्।
साउन ताका बैंक तथा वित्तीय संस्थाले लिलामीमा राखेका घरजग्गासमेत बिक्री हुन छाड्यो। साउन अघि त्यसरी राखिएका घरजग्गा सजिलै बिक्री हुन्थे। त्यसबाहेक पनि घरजग्गा व्यवसायीले प्लटिङ गरेका जग्गा समेत बिक्न छाड्यो। जसका कारण साउनमा सरकारलाई घरजग्गाबाट उठ्ने राजस्वमा ठूलो धक्का पुगेको थियो। साउनमा घरजग्गाको लिखत पारित घटेर ३३ हजार ८ सय ३४ मा झरिसकेको थियो।
असोजमा दसैंसहितका ठूला चाडपर्वका कारण घरजग्गा कारोबार थप प्रभावित बन्न पुग्यो। असोजमा देशभरका मालपोत कार्यालयहरुबाट २५ हजार ७८९ लिखत पारित हुँदा सरकारले २ अर्ब ५६ करोड रुपैयाँ राजस्व संकलन गरेको थियो।
कात्तिकमा बढेर लिखत पारित २७ हजार ९३९, मंसिरमा २९ हजार १८४, पुसमा ३८ हजार ८७१ पुगेको थियो।
त्यसैगरी, राजस्व संकलनका हिसाबले असोजमा सरकारले २ अर्ब ५६ करोड, कात्तिकमा ३ अर्ब, मंसिरमा २ अर्ब ६४ करोड, पुसमा ३ अर्ब ७१ करोड, माघमा ४ अर्ब ६९ करोड रुपैयाँ भएको थियो। फागुनमा भने केही घटेर ३ अर्ब ५६ करोड उठेको राजस्व चैतमा एकैपटक साढे ४ अर्ब रुपैयाँ नाघेको थियो।