
काठमाडौं। युनियन हाइड्रोपावर लिमिटेडले ६० मेगावाटको माथिल्लो तमोर ‘ए’ जलविद्युत आयोजना निर्माण अघि बढाउने भएको छ।
प्रस्तावित आयोजना ताप्लेजुङको फक्ताङलुङ गाउँपालिकामा निर्माण हुनेछ। आयोजनाको सम्भाव्यता अध्ययन भइसकेको छ भने वातावरणीय प्रभाव (इआइए) प्रतिवेदन तयार पारेर स्वीकृतिका लागि वन तथा वातावरण मन्त्रालय पठाइएको छ। मन्त्रालयले स्वीकृति दिने प्रक्रिया अन्तिम चरणमा पुर्याएको छ।
मन्त्रालयले सोमबार सार्वजनिक सूचना प्रकाशन गर्दै आयोजना निर्माण र सञ्चालन गर्दा कुनै प्रतिकूल असर पर्ने भए ७ दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवालालाई आग्रह गरेको छ।
यो नदी प्रवाहमा आधारित प्रकृतिको आयोजना हो। आयोजनाबाट सुक्खायाममा १००.३२७ गिगावाट आवर र बर्खायाममा २३३.५१५ गिगावाट आवर उत्पादन हुनेछ। आयोजनाले सरदर वार्षिक ३३३.८२२ गिगावाट आवर उत्पादन हुनेछ।

आयोजनाको लागि २० किलोमिटर पहुँचमार्ग समेत निर्माण गर्नुपर्नेछ। आयोजनाका संरचना तथा पहुँचमार्ग निर्माणका लागि १९.९३८ हेक्टर जग्गा अधिग्रहण गर्नुपर्छ। कंचनजंघा संरक्षण क्षेत्रको वन क्षेत्र प्रयोग गरिनेछ।
आयोजना इआइए प्रतिवेदन स्वीकृत भएपछि निर्माण प्रक्रिया सुरु गर्ने तयारीमा कम्पनी छ।