काठमाडौं। नेपाल वायुसेवा निगमको दुई वटा न्यारोबडी जहाजमा समस्या आएपछि ग्राउण्डेड भएका छन्। न्यारोबडी जहाज ९ एन-एकेडब्लु एक साता अघि र ९-एकेएक्स शनिबार समस्या आएपछि ग्राउण्डेड भएको हो।
दुई वटा न्यारोबडी जहाज एक महिनाको अवधिमा दुई पटक समस्या आइसकेको छ। यसरी किन पटकपटक समस्या आइरहेको छ ? निगमका एक प्राविधिकका अनुसार कुनै पनि नयाँ जहाजको पाँच वर्षसम्म समस्या नआउने तर त्यसपछि भने केही समस्याहरु आउन सुरु हुन्छ।
‘कुनै पनि जहाजको पाँच वर्षसम्म मर्मतको ठुलो खर्च आउँदैन। यो जहाज सात वर्ष पुगेपछि समस्या आउन थालेको हो,’ ती प्राविधिकले बिजमाण्डूलाई भने, ‘कोभिडको दुई वर्ष उडान कम भएर सात वर्षपछि समस्या आउन थालेको हो।’ उनका अनुसार निश्चित समयपछि जहाजमा समस्या आउने भएकाले निगमले आफ्नो मर्मत सम्भार शाखा(एयरवर्दी मेन्टिनेन्स डिपार्टमेन्ट)लाई बलियो बनाउनुपर्ने थियो।
तर व्यवस्थापनले त्यो शाखालाई बलियो नबनाउँदा कुनै समस्या आउनेवित्तिकै विदेशनै लैजानुपर्ने अवस्था आउने गरेको छ। त्यसले निगमको मर्मतको खर्च पनि अस्वभाविक रुपमा बढ्ने गरेको छ। ‘निगम व्यवस्थापनले इन्जिनियरिङ र मर्मत सम्भार शाखालाई बलियो बनाउने काम भएन।
निगमका इन्जिनियरले पनि फाइल सदर गर्ने काम मात्रै गरिरहेका छन्,’ ती प्राविधिकले भने, ‘जहाजमा कुनै समस्या आउनेवित्तिकै मर्मत गर्न विदेशनै पठाउनुपर्ने अवस्था छ। सँगै सामान्य मर्मत गरेर चलाउनसकिने अवस्था हुँदा पनि नयाँ किनेर फेर्ने प्रवृति देखिएको छ। यसले निगमको खर्च मर्मतका नाममा बढ्न थालेको छ।’ निगम व्यवस्थापन गैरजिम्मेवार रहेको तथ्य खोज्न टाढा जानु पर्दैन्।
सन् २०२१ डिसेम्बर २७मा कतारको दोहामा ९ एन-एकेडब्लु कलसाइनको न्यारोबडी जहाज पार्किङ वेमा लैजादा बायाँ इन्जिन विग्रियो। यो जहाज दोहामा ७० दिन ग्राउण्डेड भयो। इन्जिन मर्मत गर्नुपर्ने भएपनि निगमले नेदरल्याण्डको एमटीयू कम्पनीसँग ९० दिनका लागि भाडामा लिने गरी सम्झौता भयो। तर त्यो इन्जिन १८ महिनादेखि प्रयोग भइरहेको छ।
‘बाहिरबाटै कमजोरी देखिन थाल्यो’
निगमका पूर्व प्रवन्ध निर्देशक सुगतरत्न कंसाकारले पछिल्लो समय बाहिरबाटै देखिने गरी व्यवस्थापनबाट कमजोरी भइरहेको बताउँछन्। उनी अहिले भइरहेको कमजोरीको जवाफदेही पनि व्यवस्थापननै हुनुपर्ने बताउँछन्।
‘कुनै पनि संस्थाको बाहिरबाटै देखिने किसिमको कमिकमजोरी आयो भने तल रहेका कर्मचारी भन्दा पनि दोष नेतृत्वलाई नै जान्छ। यो नेपाल वायुसेवा निगममात्रै होइन संसारभर नै लागू हुने कुरा हो,’ उनले भने,’उड्डयन उद्योगमा विश्वसनीयता कायम हुन आवश्यक छ। पछिल्लो समय निगममा यी दुवै कुरा कायम नभएको सुन्नमा आएको छ।’
‘निगम व्यवस्थापन संवेदनशील भएन’
निगमका पूर्व प्रवन्ध निर्देशक डिमप्रसाद पौडेल परम्परागत व्यवस्थापन परिवर्तन नगरी सुधार सम्भव नहुने जिकिर गर्छन्।
सिर्जनशील र गतिशील व्यक्तित्वविना निगममा कुनैपनि सुधार नहुने बताउँदै उनले भने,’परम्परागत नेतृत्व रहुन्जेल परिवर्तन आउँदैन। जुन संरचनाको कर्मचारीतन्त्र, नियमावली छ, त्यसबाट पनि अगाडि बढ्दैन। अधिकांश कर्मचारीको माइन्डसेटमा जहाज विग्रिएको बेला एकदिन दुईदिन भन्दै महिनौंसम्म जहाज ग्राउण्ड भएको पनि देखियो। उडान ढिला हुँदा पनि भइहाल्छ भन्ने देखियो।’
पौडेलले जहाजका प्राविधिक र स्पेयर पार्ट्स चाहिएको समयमा परिचालन गर्ने विषयमा पनि व्यवस्थापन चुकेको बताए।
‘कुनै परिवर्तन आएको छैन। सेक्टर उही, जहाज संख्या उही। कोभिडपछि अलिकति आम्दानी वृद्धि भएको छ। प्रतिस्पर्धी विदेशी वायुसेवा कम्पनीको तुलनामा निगमले हालसम्म कुनै पनि दुरगामी योजना अगाडि सारेको छैन,’ उनले भने।