काठमाडौं। एक वर्षअघिको असार मसान्तका दिन वाणिज्य बैंकहरुको औसत निष्क्रिय कर्जा (खराब ऋण) १.२ प्रतिशत पुग्यो। त्यसपछि गतअसोज मसान्तमा १.८३ प्रतिशत पुग्यो।
पुसमा आउँदा २.४९ रहेको खराब ऋण चैतमा ३.२३ प्रतिशत पुगेको थियो।
तरलता अभाव, बढेको ब्याज दर र आर्थिक मन्दीका कारण खराब ऋण निरन्तर बढिरहेको छ। यही हिसाबले चालु वर्षको असार मसान्त अर्थात वार्षिक खराब ऋण बढ्ने अनुमान सबैले गरिरहेका छन्।
बैंक उच्च व्यवस्थापकहरु राजधानीमा कम, जिल्ला-जिल्लामा बढी धाइरहेका छन्। उनीहरु जसरी हुन्छ डुबेको ऋण उठाउन लागिपरेका छन्। तैपनि कतिपय बैंकको ४ प्रतिशतमाथि खराब ऋण पुगिसकेको छ।
बजार, सरोकारवाला, नियामकलगायतलाई पनि चालु वर्ष खराब ऋण ५ प्रतिशत हाराहारी पुग्ने लागिरहेको छ। तर, सबैलाई चकित पार्दै यसपाली खराब ऋण चैतको औसतभन्दा माथि नजाने देखिएको छ।
बिजमाण्डूले बैंकका प्रमुख कार्यकारी अधिकृतहरुसँग गरेको कुराकानी अनुसार, अब बढ्ने खराब ऋणले वार्षिक वासलात मात्रै बिग्रिने होइन, नियामकदेखि अन्य सरोकारवालासम्मले गर्ने व्यवहारमा फरक पर्छ। त्यसो हुँदा उनीहरु सबैले चैतको भन्दा नबढ्ने गरी खराब ऋण व्यवस्थापनमा यसपाली निकै मिहिनेत गरेका छन्।
‘पछि थपिएका सहकारीलगायतका विषयले केही-केही बैंकको खराब ऋण बढ्न पनि सक्ला,’ एक बैंकरले भने, ‘तर, बैंकिङ क्षेत्रको समग्र खराब ऋण पनि बढ्नेवाला छैन।’
असार मसान्त बैंकहरुको लागि मुख्य बाली भित्र्याउने समय हो। बैंकहरुले अरु बेलाको त्रैमासिक वित्तीय विवरणमा तल-माथि पारेर हिसाबकिताब देखाए पनि त्यसको ठूलो महत्त्व रहँदैन। असार मसान्तमा जुन हिसाब उनीहरुले देखाउँछन् त्यही नै वास्तविक चित्र हुन्छ।
अहिलेको हिसाबकिताबबाटै बैंकहरुको वास्तविक नाफादेखि, कर दायित्वसम्म यकिन हुन्छ। यसबाहेक कर्मचारीले पाउने बोनसदेखि सेयरधनीले पाउने लाभांशसम्म असार मसान्तको हिसाबकिताबले यकिन गर्छ।
‘त्यही कारण पनि यसअघिको त्रैमासमा जेजसरी खराब ऋण बढिरहेको छ असारमा त्यो हुँदैन,’ अर्का एक बैंकरले भने, ‘नाफाको वृद्धि दरमा पक्कै कमी आउँछ तर पोहोरको भन्दा नराम्रो अवस्था वासलातमा आउँदैन।’
असारमा सरकारले बाँकी रहेको भुक्तानी दिएको छ। त्यो पैसा बैंकको ऋण तिर्न प्रयोग भएको छ। कसैले नियतबश ऋण तिर्न आनाकानी गरिरहेको थियो भने पनि उसले अर्को साल नयाँ व्यवसाय थाल्न वा भएकैलाई चलाउन बैंकको ऋण प्रयोग गर्नुपर्ने हुन्छ। अहिले नतिर्ने अर्को आर्थिक वर्ष बैंकले सहयोग गर्दैन। यसले गर्दा पनि असारमा बैंकहरुको ऋण उठ्ती राम्रो देखिएको छ।
बैंकरले ऋणीलाई अहिले सकभर असारसम्मकै, नभए गत चैतसम्मको साँवा र ब्याज तिर्न पनि मनाइरहेका छन्। कतिपयलाई धम्क्याएर त कतिपयलाई इज्जत प्रतिष्ठाको लोभ दिएर पनि ऋण तिराइरहेका छन्। यसले पनि बढ्दो क्रममा रहेको खराब ऋणमा ब्रेक लागेको छ।
साथै राष्ट्र बैंकले पछिल्लो पटक दिएको पुनर्तालिकीकरणका साथै पुनर्संरचनाको सुविधाले पनि बैंकहरुलाई पुरानो ऋण नियमित गराउन सजिलो भएको छ। असारमा बैंकहरुले ऋण उठाउनका लागि धेरैभन्दा धेरै सम्पत्तिहरुको लिलामी गरेका थिए। यसबाट पनि पैसा उठेको छ।
बैंकहरुले रणनीतिक रुपमा नै असारमा खराब ऋण बढ्न नदिएका हुन्। शीघ्र सुधारात्मक कारवाही (पीसीए) मा पर्ने त्रासले बैंकहरुलाई ऋण उठाउन निकै दबाब दिएको थियो। यसअघि ऋण उठ्तीमा लचिलो हुनेहरु पनि ‘मेरो खराब ऋण बढ्छ भने तपाइँलाई पनि मेरो सहयोग हुँदैन’ भन्दै ऋणीलाई थर्काएरै भए पनि पैसा उठाइरहेका छन्।
खराब ऋण बढ्दा बैंकहरुको पुँजी कोष क्षयीकरण हुन्छ। क्षयीकरण भएपछि पीसीए लाग्छ। पीसीए लागेमा बैंकहरुप्रतिको विश्वासमा कमी त आउँछ नै नियामकदेखि दिने सुविधा पनि खोसिन्छ। अन्य संस्थागत निक्षेपकर्ताले पनि पैसा राख्छ छाड्छ। यसबाट बैंक थप कमजोर हुन्छ। त्यसबाट जोगिन पनि बैंकहरुले असारमा ‘साम, दाम, दण्ड, भेद’ नीति लिएका छन्।
त्यसैले गर्दा असारमा खराब ऋण चैतको भन्दा माथि जाँदैन, अलिकति भए पनि घट्ने देखिएको छ।