सीएनआइ-ऊर्जामन्त्री बस्नेत छलफल, विद्युत खरिद सम्झौता तत्काल खुला गर्न माग

बिजमाण्डू
२०८० असार २९ गते १९:४२ | Jul 14, 2023
सीएनआइ-ऊर्जामन्त्री बस्नेत छलफल, विद्युत खरिद सम्झौता तत्काल खुला गर्न माग

काठमाडौं। नेपाल उद्योग परिसंघ र ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतबीच छलफल भएको छ।

Tata
GBIME
Nepal Life

परिसंघका नवनिर्वाचित अध्यक्ष राजेशकुमार अग्रवाल नेतृत्वको परिसंघ पदाधिकारीहरुले शुक्रबार मन्त्रालयमा मुलुकको अर्थतन्त्र, उर्जालगायतका विषयमा छलफल गरेका थिए।

परिसंघका नवनिर्वाचित अध्यक्ष अग्रवालले जलविद्युत आयोजनाको विद्युत खरिद सम्झौता (पीपीए) खुला गर्न आग्रह गरे। प्रधानमन्त्रीको हालै भएको भारत भ्रमणका क्रममा भारतले १० वर्षमा १० हजार मेगावाट विद्युत खरिद गर्ने समझदारी गरिसकेकाले जलविद्युत आयोजनाको पीपीए पूर्ण रुपमा खुला गरी निर्माणको वातावरण बनाउनुपर्नेमा उनले जोड दिए।

नेपाल विद्युत प्राधिकरणको पुनर्संरचना गर्न, प्रसारणलाइन निर्माण तथा विद्युत व्यापारमा निजी क्षेत्रको संलग्नता गराउन अग्रवालले आग्रह गरे। विद्युत निर्यात हुँदै गर्दा स्वदेशमै रहेका उद्योगहरुले सहज रुपमा विद्युत नपाइरहेको र यसले उद्योगहरुको उत्पादन लागत बढाएको अग्रवालले बताए।

मन्त्री बस्नेतले समग्र ऊर्जाको विकासका लागि निजी क्षेत्रसँग सहकार्य गरेर अगाडि बढ्न प्रतिबद्ध रहेको बताए। उनले हालकै लागतमा १० हजार मेगावाट उत्पादन गर्न २० खर्ब बराबर लगानी आवश्यक पर्ने र त्यसले अर्थतन्त्रमा दूरगामी प्रभाव पार्ने बताए।

छलफलमा सीएनाइका उपाध्यक्षहरु विरेन्द्रराज पाण्डे र अमित मोर सहभागी थिए।