सोमबारदेखि आयातित उपभोग्य सामानमा लेबल अनिवार्य, लेबल नलगाएको जफत हुन्छ ?

अनन्तराज न्यौपाने
२०८० असार २९ गते ०७:५९ | Jul 14, 2023
सोमबारदेखि आयातित उपभोग्य सामानमा लेबल अनिवार्य, लेबल नलगाएको जफत हुन्छ ?

विराटनगर। साउनदेखि आयातित उपभोग्य मालवस्तुमा आयातकर्ता र वितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेब साइट र एक्जिम कोडको लेबल अनिवार्य टाँस्नुपर्ने भन्दै सूचना प्रकाशित गरेपछि व्यवसायीहरू अन्योलमा परेका छन्।

Tata
GBIME
Nepal Life

विभागले गत जेठ १५ गतेको बजेट वक्तव्यलाई कार्यान्वयन गर्दै आगामी साउन १ देखि विक्रीका लागि बजारमा लगिने आयातित मालवस्तुको प्याकिङमा अनिवार्य रूपमा लेबल टाँस्नुपर्ने जनाएको हो। लेबल नलगाएका सामान भन्सारले जफत गर्ने आशंका उनीहरुमा छ।

भन्सार कार्यालय विराटनगरका प्रमुख ज्ञानेन्द्रराज ढकालले यस बारेमा स्पष्ट पार्दै मालवस्तुको जाँचपासका लागि लेबल अनिवार्य नहुने बताए।

प्रमुख ढकालले आयातकर्ताले लेबल नटाँसी ल्याएको मालवस्तु पनि जाँचपास गरिने जानकारी दिए। ढकालले भने, ‘आयातकर्ताले बजारमा वा वितरकलाई उक्त मालवस्तु पठाउँदा भने आयातकर्ता र बजारवितरकको नाम, ठेगाना, इमेल ठेगाना वा वेबसाइट र एक्जिम कोडको लेबल अनिवार्य टाँसेको हुनुपर्ने व्यवस्था छ।’

उनले मालवस्तुको आयात भएका अवस्था वा बजारमा विक्रीवितरणका लागि पठाउनुअघि गरी दुबै अवस्थामा लेबल लगाउन सकिने स्पष्ट पारे। तर बजारमा पुग्दाका बखत भने लेबल अनिवार्य टाँसिएको नै हुनुपर्नेछ। विभागले प्रकाशित गरेको सूचनामा उद्योगको कच्चा पदार्थका रूपमा आयात गरिने मालवस्तु, औद्योगिक मेसिनरी तथा उपकरण एवम् निर्माणकार्यमा प्रयोग गरिने संरचनाजस्ता मालवस्तुमा यस्तो लेबल लगाउनु नपर्ने जनाइएको छ।

तर आम उपभोक्तालाई प्रत्यक्ष रूपमा विक्रीवितरण हुने अन्य सबै प्रकारका मालवस्तुमा भने लेबल अनिवार्य रूपमा लगाउनुपर्ने बताइएको छ। सूचनामा यस्तो मालवस्तुको प्रकृति, आकार तथा तौलका कारण प्रत्येक एकाइमा लेबल लगाउन नमिल्ने भएमा त्यसपछि प्याकिङ हुने सानो एकाइमा लगाउनु पर्ने खुलाइएको छ।

त्यस्तै सूचनामा एउटै आयातकर्ताका बजारवितरकहरू धेरै हुनसक्ने हुँदा बजारवितरकको लेबल सम्बन्धित बजारवितरकले लगाउन सक्ने भनिएको छ। विभागले आयातकर्ता र वितरकले यस्तो लेबलको दुरूपयोग हुन नदिन लेबल लगाएर बजारमा पठाएको मालवस्तुको अभिलेख व्यवस्थित गरी राख्न पनि सूचित गरेको छ।

यस्तो लेबल नेपाली वा अंग्रेजी भाषामा हुनुपर्ने स्पष्ट पारिएको छ। नेपालको बजारमा अवैध मार्गबाट भित्र्याएका बिस्कुट, स्न्याक्स, जुत्ताचप्पल, तेल, मसला, दाल, चिनी, चामल, कोल्ड ड्रिङ्क्स, कपडा, पानमसला, नुडल्स, पास्ता लगायतका धेरै मालवस्तुहरू विक्रीका लागि राखिएको पाइन्छ।

सरकारले यस्ता उपभोग्य मालवस्तुको प्याकिङमा लेबलको अनिवार्य गरेपछि बजारमा अवैध बाटोबाट आएका मावलस्तुहरू नियमनकारी निकायले सजिलै जफत गर्नसक्ने बताइएको छ। भन्सार कार्यालय काँकडभिट्टाका प्रमुख रामप्रसाद रेग्मीले भने, ‘अब बजारमा वाणिज्य कार्यालय, प्लान्ट वा खाद्य क्वारेन्टाइन, प्रहरी–प्रशासन, भन्सार कार्यालय वा स्थानीय तह कुनै पनि निकायले अनुगमन गरेर लेबल नभएका मालवस्तु जफत गर्न सक्नेछन्।’

प्रमुख रेग्मीले लेबल लगाउन र यसको आवश्यक व्यवस्था गर्न नै सरकारले जेठ १५ देखि असार मसान्तसम्मको डेढ महिनाको समय दिएको उत्तर दिए।

समस्यामा को को ?
सरकारले आयात गरिने मालवस्तुमा लेबलको व्यवस्था अनिवार्य गरेपछि तरकारी, आलु, प्याज र फलफूलजस्ता सामग्रीका आयातकर्ता अप्ठ्यारोमा देखिएका छन्।

व्यवसायीले यस्ता मालवस्तु जाली भएका बोरामा प्याक भई आउने हुँदा लेबल लगाउन अप्ठ्यारो पर्ने बताएका छन्।
भन्सार कार्यालयले स्याउ, अङ्गुर र सुन्तलाजस्ता फलफूलका हकमा भने यस्ता फलफूल कार्टुनमा प्याक भई आउने र सोही कार्टुनमा लेबल लगाउन सकिने बताएको छ।

त्यस्तै बोरामा प्याक भई आउने प्रशोधित वा अप्रशोधित दालका बोरामा लेबल लगाउन सकिने रेग्मीले स्पष्ट पारे।