रासायनिक मल कारखाना अध्ययनको जिम्मा जर्मनी कम्पनीलाई, ९२ अर्ब लाग्ने अनुमान

बिजमाण्डू
२०८० असार २८ गते १८:२५ | Jul 13, 2023
रासायनिक मल कारखाना अध्ययनको जिम्मा जर्मनी कम्पनीलाई, ९२ अर्ब लाग्ने अनुमान

काठमाडौं। नेपालमा रासायनिक मल कारखाना स्थापना गर्ने भन्दै विस्तृत सम्भाव्यता अध्ययन गर्ने जिम्मा जर्मनी कम्पनी डायग इन्ड्रष्ट्रिज जीएमबीएचलाई दिइएको छ।

Tata
GBIME
Nepal Life

बिहीबार लगानी बोर्ड, नेपाल र जर्मनी कम्पनीबीच समझदारीपत्रमा हस्ताक्षर भएको हो।  समझदारीपत्रमा लगानी बोर्डका प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट र  कम्पनीका प्रबन्ध निर्देशक बेन्जामिन बेकरले हस्ताक्षर गरेका छन्।

सार्वजनिक-निजी साझेदारी तथा लगानी नियमावली, २०७७ को व्यवस्था अनुसार जर्मनी कम्पनीले अध्ययनको जिम्मा पाएको हो। कम्पनीले गरेको प्रस्तावका आधारमा लगानी बोर्डको २०७८ चैत्र १७ गते बसेको ५० औं बैठकले अध्ययन अनुमतिपत्र प्रदान गर्ने निर्णय गरेको थियो।

प्रस्तावकसँग गरिने समझदारीपत्र को मस्यौदा २०७९ चैत ३० मा सम्पन्न लगानी बोर्डको ५३ औं बैठकबाट स्वीकृत भएको थियो।

समझदारीपत्रको प्रावधान बमोजिम प्रस्तावक डायगले अनुमतिपत्र प्राप्त गरेको २४ महिना भित्र  विस्तृत सम्भाव्यता अध्ययन प्रतिवेदन तयार पारेर लगानी बोर्डको कार्यालयसमक्ष पेस गर्नुपर्नेछ।

कम्पनीले प्राकृतिक ग्यास, इलेक्ट्रोलाइसिस वा  हाइब्रिड प्रविधिमध्ये एउटा उपयुक्त प्रविधि प्रयोग गरी वार्षिक सात लाख टन रासायनिक मल (युरिया) उत्पादन गर्ने प्रस्ताव गरेको छ। उल्लिखित प्रविधि र क्षमतामा रासायनिक मल उत्पादनका लागि ७१४ मिलियन अमेरिकी डलर(९२ अर्ब ८२ करोड) लागत लाग्ने प्रारम्भिक अनुमान रहेको छ।

आगामी आर्थिक वर्ष २०८०/८१ को बजेटमा लगानी बोर्डको सहजीकरणमा सार्वजनिक-निजी साझेदारीमा नेपालमा रासायनिक मल कारखाना स्थापना सम्बन्धी विस्तृत परियोजना प्रतिवेदन तयार गरिने उल्लेख छ।

लगानी बोर्डका सीइओ भट्टले तोकिएकै समयभित्र सम्भाव्यता जाँचसहितको प्रतिवेदन पेस गर्न प्रस्तावकलाई आग्रह गरे।