५७० मेगावाटको हुम्ला कर्णाली-१ र २ चिनियाँसँग लिएर अघि बढाउँदै नेपाली कम्पनी

बिजमाण्डू
२०८० असार २८ गते ०७:५३ | Jul 13, 2023
५७० मेगावाटको हुम्ला कर्णाली-१ र २ चिनियाँसँग लिएर अघि बढाउँदै नेपाली कम्पनी

काठमाडौं। चिनियाँ कम्पनीले सर्वे लाइसेन्स पाएका हुम्ला कर्णाली-१ र हुम्ला कर्णाली-२ जलविद्युत आयोजना नेपाली कम्पनीले लिएका छन्।

Tata
GBIME
Nepal Life

चिनियाँ कम्पनीले बनाएका आयोजनाको विद्युत भारतले नकिन्ने घोषणासँगै ती दुई आयोजना नेपाली कम्पनीले लिएका हुन्। २३५ मेगावाटको हुम्ला कर्णाली-१ र ३३५ मेगावाटको हुम्ला कर्णाली-२ जलविद्युत आयोजना रुरु जलविद्युत परियोजना लिमिटेडले र कर्णाली वाटर पावर प्रालि मिलेर आयोजना अघि बढाउन लागेका हुन्।

रुरु जलविद्युतले दुवै आयोजना निर्माण अघि बढाउन उत्पादन अनुमतिपत्र (जेनेरेसन लाइसेन्स) माग गर्दै विद्युत विभाग समक्ष आवेदन दिएको छ। चैत २६ गते दुवै आयोजनाको अनुमतिका लागि निवेदन दिइएको छ भने वातावरणीय प्रभाव मूल्यांकन (इआइए) प्रतिवेदनको ठेक्का लगाएको छ।

गत साता हाइड्रो कन्सल्ट इन्जिनियरिङ लिमिटेडलाई इआइए जिम्मा दिइएको हो। ‘हामीले हाइड्रो कन्सल्टलाई इआइएको जिम्मा दिएका छौं। ६ महिनामा प्रतिवेदन तयार पार्नेछ। त्यसमा हामीले कमेन्ट गर्नेछौं। त्यसपछि कम्पनीले फाइनल प्रतिवेदन तयार पार्नेछ,’ रुरु जलविद्युतका अध्यक्ष आशिष सुवेदीले बिजमाण्डूसँग भने,’एक खालको प्रतिवेदन तयार नै छ। थप अध्ययन गर्न लागिएको हो।’

दुवै आयोजनाको चिनियाँ कम्पनी सिचुवान वाङपिङ इनर्जीले निर्माण गर्ने भन्दै लाइसेन्स लिएको थियो। अहिलेको परिस्थितिमा नेपालमा लगानी गर्न नसकिने भन्दै चिनियाँ कम्पनीले हात उठायो। सिचुवानले अरु कुनै कम्पनीले लिन चाहे आयोजना दिने भन्दै खोजिरहेको थियो।

रुरु ले चिनियाँसँग आयोजना लिएर अघि बढाउन छलफल थाल्यो। चिनियाँ कम्पनी आयोजना दिन तयार भयो। त्यसपछि रुरुले कर्णाली वाटर पावर प्रालिसँग मिलेर निर्माण गर्ने गरि सर्वे लाइसेन्स लिएको हो। चिनियाँ कम्पनीले आयोजनामा गरेको खर्च दिएर कम्पनीले लाइसेन्स लिएको हो।

‘हामीले आयोजना लिएर आवश्यक अध्ययन गर्नका लागि परामर्शदाताहरु नियुक्त गर्ने लगायतका काम गरिरहेका छौ। आयोजना निर्माण गरि छाड्ने योजनामा छौं,’ सुवेदीले भने। करिब एक वर्षभित्र सबै खालको अध्ययन सक्ने योजना छ।

प्रस्तावित दुवै आयोजना अर्ध-जलाशय प्रकृतिको हुनेछन्। प्रारम्भिक अध्ययन अनुसार हुम्ला कर्णाली-२ जलविद्युत आयोजनाको हुम्ला कर्णाली-१ जलविद्युत आयोजना क्यासकेड हुनेछ। दुवै आयोजना हुम्लाको कर्णाली नदीमा निर्माण हुनेछ।

सजिलो छैन वित्तीय व्यवस्थापन गर्न

रुरु र कर्णाली पावरले यी दुई ठुला आयोजना लिएपनि वित्तीय व्यवस्थापन गर्न कठिन छ।

तर यी दुबै कम्पनीका प्रवर्द्धकसँग ठुला आयोजना बनाएको अनुभव छैन। यो आयोजना बनाउन सवा खर्ब रुपैयाँ भन्दा बढी लाग्छ। यी दुई आयोजनाको प्रति मेगावाट २२ करोड लाग्ने अनुमान गरिएको छ। रुरुले पाँच मेगावाटको हुम्दी खोला जलविद्युत बनाएको छ भने कर्णाली वाटर कम्पनीका प्रवर्द्धक हिम पाठकले ८६ मेगावाटको सोलुखोला (दूधकोसी) जलविद्युत आयोजना बनाएको अनुभव छ। सुरुमा दूधकोशी सहकारी मोडलमा निर्माण गर्ने भनेर अघि बढाइएको थियो।

धेरै लगानीकर्ता सामेल गरेर बनाउन लागिएको दूधकोशी निर्माण अघि बढ्न नसकेपछि सुशील थापा लगायतका नयाँ लगानीकर्ताले टेकओभर गरेका थिए। नयाँ लगानीकर्ता आएकाले मात्रै त्यो परियोजना सम्भव भएको हो। त्यही ८६ मेगावाट जलविद्युत निर्माणमा पनि बैंक तथा वित्तीय संस्थाले समयमा पैसा नदिएर प्रवर्द्धकले आफ्नै घरजग्गा सहकारीमा राखेर पैसा निकालेर आयोजनालाई निरन्तरता दिएका थिए।

त्यही भएर सवा खर्बको परियोजनामा बैंक तथा वित्तीय संस्थाले वर्षेनि आउने तरलता संकटमा लगानी गर्नेमा शंका छ। र, यो तरलता संकट केही वर्ष रहने नै देखिन्छ। त्यही भएर यो आयोजना चिनियाँसँग लिएपनि कुनै अरु विदेशी लगानीकर्ता खोजेर मात्रै अघि बढ्नसक्ने देखिन्छ। पछिल्लो समयमा ठुला परियोजनामा भारतीय लगानी आकर्षित भएका छन्। यो आयोजना पनि कुनै भारतीय कम्पनीसँग जोइन्ट भेन्चर हुनसक्ने स्रोतको दाबी छ।

यी दुई कम्पनीका प्रवर्द्धक पनि ठुलो लगानीका लागि साझेदार खोजिरहेको स्वीकार गर्छन्।

५ मेगावाटको हुग्दी खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याएको रुरु परियोजनाले ठूलो आयोजनामा हात हाल्न लागेको हो। ‘म पनि कर्णाली वाटर पावर कम्पनीमा छु। एउटा आयोजना रूरु र अर्को कर्णाली वाटर पावरले लिड गर्ने भनेर छलफल भइरहेको छ,’ साहस ऊर्जाका अध्यक्ष हिम पाठकले भने,’ आयोजना अघि बढ्छ। त्यसैमा काम गरिरहेका छौं।’

 आयोजनाको लागत करिब २० देखि २२ करोड रुपैयाँसम्म हुने अनुमान गरिएको छ। ठूला आयोजना रहेका कारण लगानी जुटाउन पार्टनरहरु खोजिरहेको रुरुका अध्यक्ष सुवेदीले बताए।

‘रुरुले ५ मेगावाटको आयोजना संचालन गरेको छ। लिस्टेड कम्पनी हो। थप लगानी जुटाउन सजिलो छैन। रुरुको सेयर राखेर कर्णाली वाटर पावर कम्पनी बनाइएको छ,’ सुवेदीले भने,’ ठुलो लगानी चाहिएकाले हामीले पार्टनरहरु खोजिरहेका हौं।’ उनले यी आयोजनाको लागि लगानी जुटाउने विषय नै प्रमुख रहेको बताए।

स्थानीय बैंकहरुले लगानी गर्ने प्रतिवद्धता समेत जनाएका छन्। उनले लगानी जुटाउन जति छिटो सकिन्छ,आयोजना त्यति नै छिटो अघि बढाउन सकिने बताए।