
काठमाडौं। दुई महिनाको अन्तरालमा दुईवटा हेलिकोप्टर दुर्घटना भएपछि नेपाल नागरिक उड्डयन प्राधिकरणले नयाँ प्रावधान ल्याएको छ।
प्राधिकरणले सेप्टेम्बरसम्म माउन्टेन फ्लाइट, पुष्पवृष्टि, सिलिङ लगायत अत्यावश्यक नरहेका उडानमा प्रतिबन्ध लगाएको छ। प्राधिकरणका प्रवक्ता जगन्नाथ निरौलाले दुर्घटनालाई हेरेर यी तीन क्षेत्रमा उडान प्रतिबन्ध लगाइएको जानकारी दिए।
‘पछिल्लो समय भएका दुर्घटनालाई मध्यनजर गर्दै प्राधिकरणले सेप्टेम्बरसम्म लागु हुने गरी तीन किसिमका उडानमा प्रतिबन्ध लगाएका छ,’ उनले बिजमाण्डूसँग भने, ‘त्यसपछि अवस्था हेरेर उडानका बारेमा निर्णय हुनेछ।’
प्राधिकरणले उडान गन्तव्यबाहेक जहाँ पाए त्यहीँ उडान गर्न नपाउने र अरु क्षेत्रमा उडान गर्दा प्राधिकरणको हवाई विभागबाट अनिवार्य अनुमति लिनुपर्ने व्यवस्था गरेको छ।
यसैगरी प्राधिकरणले हेलिकोप्टर कम्पनीको स्वामित्व रहेका क्याप्टेनलाई उडानमा सहभागी हुन नपाइने व्यवस्था गरेको छ। दुई महिना अघि संखुवासभामा कार्गो उडानका क्रममा सिम्रिक एयरको हेलिकोप्टर दुर्घटनामा परेको थियो।
मंगलबार सुर्केबाट-काठमाडौं आउने क्रममा लाम्जुरापास भन्ने ठाउँमा मनाङ हेलिकोप्टर दुर्घटना हुँदा चालकदलसहित ७ जनाको निधन भएको थियो। यो दुई दुर्घटनापछि प्राधिकरणले कडा प्रावधान ल्याएको हो।