विराटनगरको व्यापार प्रवर्द्धनमा महानगरको चासो, साउनदेखि नाकामा कडाइ गर्न सहमत

बिजमाण्डू
२०८० असार २७ गते १४:५६ | Jul 12, 2023
विराटनगरको व्यापार प्रवर्द्धनमा महानगरको चासो, साउनदेखि नाकामा कडाइ गर्न सहमत


विराटनगर। विराटनगरको व्यापार प्रवर्द्धनका लागि आगामी साउन १ देखि विराटनगर-जोगबनी नाकालाई कडा बनाएर लैजाने निर्णय गरिएको छ।

Tata
GBIME

भैरहवामा सीमापारि पुगेर गरिने किनमेललाई कडाइका साथ नियन्त्रण गरिएको खबरपछि विराटनगर महानगरले पनि यस्तै कडाइका लागि चासो देखाएको हो।

विराटनगर महानगरपालिकाले आयोजना गरेको छलफलका सहभागीले नाकामा कडाइ नगरेसम्म आन्तरिक व्यापार नफस्टाउने निष्कर्ष निकाल्दै यस्तो निर्णय गरेका हुन्।

जसअनुसार आगामी साउन १ गतेदेखि भन्सार नतिरी भित्रिएका खाद्यान्न, लत्ताकपडालगायत सबै दैनिक उपभोग्य वस्तुको आयातलाई कडाइका साथ निरूत्साहित गरिने छ।

महानगरका प्रमुख नागेश कोइरालाका अनुसार छलफलमा कुनै पनि व्यक्तिले एक सय रुपैयाँसम्मको सामान आयात गर्न छुट पाउने कानुनी–व्यवस्थाका विषयमा पनि छलफल गरिएको थियो। 

व्यावसायिक संघसंस्थाका प्रतिनिधिले नाकाबाट मालवस्तु वारपार गर्ने व्यक्तिले उक्त व्यवस्थाको दुरूपयोग गरिरहेको विषय उठाएका थिए।

प्रमुख कोइरालाले कानुनी सुविधाको गलत प्रयोग गरी एकै व्यक्तिले एक सय रुपैयाँको मालवस्तु भन्दै दिनमा दर्जनौँ पटक भित्र्याएको चर्चा गरे।

यसले गर्दा ठूलो मात्रामा राजस्व गुमेको र आन्तरिक व्यापारमा समेत असर परेको उनको भनाइ छ। 

बैठकमा उनले भने, ‘अब नाकाबाट नेपालतर्फ भित्रने हरेक मालवस्तुको भन्सार महसुल अनिवार्य रूपमा तिरिनुपर्छ। हामी पसल पसलमा अनुगमन गरेर भन्सार महसुल नतिरी भित्र्याइएका मालवस्तुको पहिचान गर्छौं। अनि त्यस्ता वस्तु जफत गरेर आवश्यक कानुनी कार्बाही अघि बढाउँछौँ।’

उनले विराटनगर महानगरका पसलमा भन्सार महसुल नतिरेका सामानहरू भेटिए तत्काल कार्बाहीमा लैजाने चेतावनी दिए। उनले यसका लागि बजार–अनुगमनलाई आक्रामक बनाइने जानकारी दिए।

महानगरका प्रमुख प्रशासकीय अधिकृत राजेन्द्र पराजुलीले व्यवसायीलाई आफ्ना पसलमा गैरकानुनी रूपमा भित्र्याइएका सामानहरू विक्रीका लागि नराख्न व्यावसायिक संघसंस्थाले अपिल गर्नुपर्ने धारणा राखे। 

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवले सबै मिलेर भन्सारमा कडाइ गर्नुपर्नेमा जोड दिए।

मोरङ प्रहरी प्रमुख एसपी दीपक पोखरेलले सबैभन्दा पहिला स्वदेशी बजारमा सामान खरिद गर्न नेपाली उपभोक्ताकै सोचमा परिवर्तन ल्याउनुपर्ने उल्लेख गरे।

सशस्त्र प्रहरीका एसपी तीर्थबहादुर थापाले जोगबनी र विराटनगरमा सामानको खुद्रा मूल्यमा धेरै अन्तर गर्न नहुने आग्रह गरे।

छलफलमा नेपाल उद्योगवाणिज्य महासंघ कोशी प्रदेश, परिसंघ, उद्योग संगठन मोरङ, मोरङ व्यापार संघ र विराट व्यापार संघका प्रतिनिधि सहभागी थिए।

सबै संघसंस्थाले सबै मालवस्तु स्वदेशभित्रै खरिद गरेर आन्तरिक बजारलाई प्रवर्द्धन गर्न आआफ्नो निकायले अपिल गर्ने  प्रतिबद्धता जनाएका थिए ।