नेपाल बीमा प्राधिकरणद्वारा पशुधन र माछाको बीमालेख जारी, यस्ता छन् व्यवस्था

बिजमाण्डू
२०८० असार २७ गते १४:२५ | Jul 12, 2023
नेपाल बीमा प्राधिकरणद्वारा पशुधन र माछाको बीमालेख जारी, यस्ता छन् व्यवस्था


काठमाडौं। नेपाल बीमा प्राधिकरणले पशुधन तथा माछाको बीमालेख जारी गरेको छ। प्राधिकरणको जेठ ३० गतेको निर्णयबाट उक्त बीमालेख संशोधन स्वीकृत भएको हो। यी दुई बीमालेख नयाँ आर्थिक वर्ष साउन १ गतेदेखि लागु हुने भएको छ।

Tata
GBIME

कृषि बीमालाई प्रोत्साहन गर्नका लागि प्राधिकरणले पशुपक्षी पालन र कृषि बालीहरुको क्षति रक्षावरण गर्नका लागि बीमालेख जारी गर्दै आएको छ। यसअघि पनि प्राधिकरणले खाद्यान्न, टिम्मुर, बाख्रा र जडिबुटी सम्बन्धि बीमालेख जारी गरिसकेको छ।

यो पछिल्लो बीमाले ७ प्रकारका घटनामा हुने क्षति तथा नोक्सानीको रक्षावरण गर्नेछ। जसमा आगो, हावा, पानी, भूमि, चट्याङ र रोग, आकस्मिक तथा दुर्घटनाजन्य बाह्य कारणहरुबाट हुने क्षतिमा रक्षावरण गर्ने छ।

पशुधन तथा माछाको बीमालेखअनुसार बीमा अवधिभित्र दुर्घटनाका कारण पशुवस्तु मरे, स्पाइनल इन्जुरीको कारण हड्डी काम नलाग्ने भएमा, खुट्टा पुरै काम नलाग्ने भएमा, दृष्टि गुमेमा दुर्घटना बीमाबापत बीमांक रकम २ लाख रुपैयाँ कम्पनीले बीमितलाई भुक्तानी गर्नुपर्ने छ।

पशुधनको बीमा गर्दा बीमांक रकमको ५ प्रतिशतका दरले बीमाशुल्क लाग्नेछ। यस बीमालेख अनुसार गरिने पशुधनको आंशिक बीमा गर्न नपाइने भएको छ। बीमालेख जारी भइसकेपछि बीमांक रकम परिवर्तन गर्न नपाउने, पशुधनको बीमा सामूहिक रुपमा गर्न सकिने प्रावधान छ।

त्यस्तै, माछाको बीमा न्यूनतम तीन महिनादेखि अधिकतम बाह्र महिनासम्म गर्न सकिन्छ। यस अन्तर्गत गरिने माछाको बीमामा बीमाशुल्क ३ प्रतिशत कायम गरिएको छ। प्रजनन प्रयोजनका लागि पालिएको माछाको बीमा गर्दा १२ केजीभन्दा बढीको माछाको बीमा नहुने व्यवस्था छ।

यो बीमालेखमा दुर्घटना बीमा वापत बीमाशुल्क प्रति बीमित ५०० रुपैयाँ तोकिएको छ। माछाहरुको पनि आंशिक बीमा गर्न नपाउने व्यवस्था गरिएको छ। बीमितले बीमाशुल्क भुक्तानी गरेको रकम बैंक खातामा जम्मा भएको प्रमाण बीमकले प्राप्त नगरेसम्म बीमालेख जारी गर्न नपाइने भएको छ।