
भरतपुर। नेपालकै ठूलो पाउडर प्लान्ट चितवन मिल्कले दैनिक एक लाख लिटर दूध प्रशोधन गरिरहेको छ। भरतपुर-१ ठिमुरास्थित उद्योगले परिमाण बढाएर दैनिक एक लाख लिटर पुर्याएको हो।
कुनै समय घाटामा गएका कारण बन्द भएको चितवन मिल्क क्रमशः तंग्रिँदै गएको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले बताए। असार महिनामा पनि उद्योगमा दूधको अभाव छैन।
चितवन मिल्कको दैनिक प्रशोधन क्षमता डेढ लाख लिटर छ। उद्योग बिहान ६ देखि बेलुका ८ बजेसम्म सञ्चालन हुने गरेको उनले जानकारी दिए। पाउडर र बटर बनाउनका लागि यहाँ पूर्व मेचीदेखि पश्चिम महाकालीका विभिन्न जिल्लाका डेरीबाट दूध ल्याउने गरिएको छ। अहिले दैनिक तीन सय बोरा पाउडर र तीन सय ५० क्रेट बटर उत्पादन भइरहेको प्रबन्धक पराजुलीले बताए। उनका अनुसार अहिले उत्पादनले गोदाम भरिएको छ।
‘जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्’, उनले भने, ‘१० दिनसम्म यहीँ कोल्डस्टोरमा राखिदिने गरेका छौं।’ एक लाख लिटर दूधबाट १० टन पाउडर बन्छ। पाउडर मिल्कको चार सयदेखि पाँच सय रुपैयाँको बीचमा मूल्य पर्छ। एक किलो पाउडरले ११ लिटर दूध बन्छ भने ११ लिटर झोल दूधबाट एक किलो पाउडर बन्छ।
असार महिनामा यसरी प्लान्ट चलेको पहिलोपटक भएको जनाउँदै उनले बत्ती र पानीको समस्याले अझ पूरा समय सञ्चालन गर्न नपाएको बताए।
‘जेठ महिनादेखि नै दूध धेरै आएको थियो, असारमा झन् बढ्यो,’ उनले भने। २०७२ को भूकम्पपछि उद्योग तीन वर्ष बन्द भएको थियो। सञ्चालनमा आएपछि किसानले उत्पादन गरेको दूध खपत भएको छ। मिल्क होलिडे (उत्पादन भएको दूध बिक्री नहुने अवस्था) गर्नुपर्ने अवस्था छैन।
‘यहाँको मेसिन जर्मन प्रविधिको हो। एउटा सामान बिग्रे पनि जर्मनबाट ल्याउनुपर्छ,’ उनले भने। सुरुमा उद्योगबाट उत्पादित दूध पाकिस्तानमा पनि बिक्री हुन्थ्यो। हाल नेपालमै खपत भइरहेको महाप्रबन्धक पराजुलीले बताए। अहिले ३२ जनशक्तिले उद्योगमा काम गरिरहेको उनले जानकारी दिए।
चितवन मिल्क बन्द हुँदा दूध उत्पादन धेरै हुने ‘सिजन’मा उद्योगीले दूध लिन बन्द गर्दा किसानले सडकमै दूध फ्याँकेर विरोधसमेत गरेका थिए। उत्पादित दूधले बजार नपाएपछि पुनः मिल्क होलिडे हुन थालेको भन्दै केन्द्रीय दुग्ध सहकारी सङ्घले जिल्ला-जिल्लामा आन्दोलनसमेत गरेको थियो।
जिल्ला दूध उत्पादक सहकारी संघ चितवनका अध्यक्ष किशोर बगालेले बजारमा दूध नबिकेको अवस्थामा उद्योगमा प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा खेर जाने अवस्था नआएको बताए। किसानलाई चितवन मिल्क र अन्य प्रशोधन उद्योगका कारण मिल्क होलिडे गर्नुपर्ने अवस्था नआएको जानकारी उनले दिए। रासस