नेपालसँग व्यापारका लागि चीनको प्राथमिकतामा केरुङ नाका, यसरी बन्दैछ पूर्वाधार

शुक्र गिरी
२०८० असार २५ गते ०७:२७ | Jul 10, 2023
नेपालसँग व्यापारका लागि चीनको प्राथमिकतामा केरुङ नाका, यसरी बन्दैछ पूर्वाधार

रसुवा। टिमुरे भन्सार विभागको परिसरको सानो सडक पनि कन्टेनरले भरिएका छन्। बाहिरै पार्किङका कारण अहिले कन्टेनरहरु सडक र निर्माण कार्य भइरहेको क्षेत्रमा छन्। आयातित गाडीहरु खाली जग्गामा राखिएका छन्। लगभग १५० युनिट नयाँ गाडी झण्डै १० ठाउँमा पार्किङ गरिएका छन्।

Tata
GBIME
Nepal Life

रसुवागढीमा चिनियाँ नाकाको भन्सार क्षेत्रका दृश्य हुन् यी। आयातित गाडीहरु एकै ठाउँ अर्थात एकीकृत जाँच चौकीमा राखेर भन्सार पास गर्नुपर्ने र सरकारले सुरक्षा दिनुपर्ने कानुनी प्रावधान छ। तर सडकमा जथाभावी कन्टेनर र छेउका खाली जग्गामा गाडीहरु राखिएका छन्।

काठमाडौंबाट नुवाकोट हुँदै १४५ किलोमिटर छ। चीनबाट काठमाडौंमा सामान ल्याउन सडकमार्ग यो सबैभन्दा छोटो दुरी हो। यहाँबाट काठमाडौं पुग्न लोड गाडीलाई ५ देखि ६ घन्टाको समय लाग्छ।  

यो नाका हुँदै अहिले गाडीदेखि कस्मेटिक, जुत्ता, लत्ताकपडा, मेसिनरी धेरै नेपाल भित्रिने गरेका छन्।

रसुवाको गोसाइँकुण्ड गाउँपालिका-२ टिमुरेमा सुक्खा बन्दरगाह निर्माणाधीन छ। चीनले तातोपानी नाकाको चाप घटाउँदै केरुङ नाका चलाउन जोड दिएको टिमुरेलाई हेर्दा थाहा हुन्छ। चिनियाँ क्षेत्र व्यवस्थित छ। तर, नेपालतर्फ व्यवस्थित हुन निकै समय लाग्ने देखिन्छ।

आवश्यक पर्ने एकीकृत भन्सार जाँच चौकीदेखि कन्टेनरहरु राख्‍ने ठाउँ र पूर्वाधार नेपालतर्फको भन्सारमा छैन। हाल खोलाले छाडेको ठाउँ र सडकमा कन्टेनर पार्किङ गरिएका छन्। 

पर्याप्त पूर्वाधार नहुँदा सामान चेकजाँच गर्न कठिन भएको भन्सार विभागका प्रमुख रामप्रसाद पाठक बताउँछन्। ‘अहिले जसोतसो म्यानेज गरिरहेका छौं। हामीलाई काम गर्न कठिन छ,’ उनले भने, ’उतापट्टिको नाका हेर्दा र हाम्रो पट्टिको अवस्था हेर्दा आकाश-जमिन फरक छ। हाम्रोमा केही छैन। न कन्टेनर पार्किङ गर्ने यार्ड, न चेकजाँच गर्ने राम्रो व्यवस्था।’ 

चिनियाँ पक्षले यही नाकालाई व्यवस्थित गर्न निकै चासो देखाएको पाठकले बताए। यसको पुष्टि सुक्खा बन्दरगाह निर्माणका लागि रहेको चिनियाँ अग्रसरताले गरेको देखियो। निर्माण कार्य भइरहेको छ।

बन्दरगाहको मेसिनरी वाल अर्थात खोलामा आएको पानीको बहाव छेक्ने पर्खाल निर्माणको काम भइरहेको थियो। सुक्खा बन्दरगाह भोटेकोशीको तटीय क्षेत्रमा भएकाले वर्षायामको पानीको बहाव व्यवस्थापन गर्न पानी एकत्रितका लागि नदीको डिलमा पुरै मेसिनरी वाल लगाउने काम भइरहेको थियो। अहिले डिजाइन अनुसार नै यस्तो वाल लगाउने काम भइरहेको छ।

चिनियाँ कामदार फिल्डमा काम खटिएका छन्। बन्दरगाह चीनले नै बनाइदिने भएकाले धेरै कामदार चिनियाँ भएको त्यहाँ काम गरिरहेका एक ट्रकचालकले बताए। निर्माणाधीन क्षेत्रमा आवश्यक मेसिनरी उपकरणसहित ३२ चिनियाँ नागरिक खटिएका थिए। 

रसुवागढी भन्सार नाकाका लागि सुक्खा बन्दरगाह नयाँ योजना भने होइन। भन्सारको पुरानो संरचना बाढीले बगाएपछि २०७६ असोजमा नाकामा सुक्खा बन्दरगाह निर्माण सुरु गरिएको थियो। बन्दरगाह निर्माणका लागि समझदारी भने २०७१ असोजमै भएर २०७२ मा डिजाइन तयार भएको थियो। 

चीन सरकारको सहयोगमा ३० महिनामा तयार हुने गरी केही ढिला निर्माण सुरु भएको थियो। काम हुँदाहुँदै कोभिड महामारी आयो। त्यसको कारणले निर्माण प्रभावित भयो। 

निर्माण सुरु भएको ४ वर्षमा बन्दरगाहका लागि जग्गा सम्याउने काम केही मात्रामा पुरा भएको देखिन्छ। सम्झौताको ९ वर्षपछि चीनले सुक्खा बन्दरगाह निर्माणलाई तीव्रता दिएको देखिन्छ। जुन २०२५ सम्ममा निर्माण कार्य सम्पन्न गर्ने योजना रहेको नेपाल इन्टरमोडल यातायात विकास समितिका निर्देशक आशिष गजुरेल बताउँछन्।  

उनका अनुसार अहिलेसम्म ४५ प्रतिशत काम भएको छ। जसमा चिनियाँ भन्सार नाका नजिकै दुई वटा भवनको काम पनि लगभग सकिन लागेको अवस्थामा छ। अहिले बाहिर एउटा टहरोबाट भन्सारको काम कारबाही भइहेको छ।   

बन्दरगाहका लागि आवश्यक पर्ने जग्गा पहिले नै अधिग्रहण गरिसकिएको छ। जसमा लाङटाङ राष्ट्रिय निकुञ्जको ५ हेक्टर, स्थानीयको ५८ रोपनी र विभिन्न सरकारी स्वामित्वमा रहेको १ सय ९ रोपनी गरी ८.५ हेक्टर जग्गा अधिग्रहण गरिएको निर्देशक गजुरेलले बताए। 

निर्माण कार्य चलिरहेको क्षेत्रमा बिजुलीको पोल सार्ने काम पनि हुँदै छ। थोरै संख्यामा बिजुलीका पोल सार्नुपर्ने र उक्त पोल सार्न ३ लाख रुपैयाँ खर्च हुने गजुरेलले जानकारी दिए।  निर्माण कार्य भइरहँदा नेपाली पक्षले स्थानीयको समस्या समाधान गर्ने, सुरक्षाको प्रबन्ध मिलाउने, सामाग्री आयातमा भन्सार छुटको व्यवस्था गर्ने लगायत कार्य गर्दैछ।

निर्माण अवधिभर नेपाली पक्षले अनुगमन, निगरानी र समन्वयको भूमिका निर्वाह गर्ने समझदारी छ। नेपाली पक्षका लागि एकीकृत जाँच चौकी र बन्दरगाहको डिजाइन तिब्बतको आर्किटेक्चरल रिकन्नाइन्सेन्स एन्ड डिजाइन इस्टिच्युटले तयार पारेको हो। बन्दरगाहमा पार्किङस्थल, गोदाम घर, प्रशासनिक भवन, जाँचपास स्थल, भन्सार, क्वारेन्टाइन, बैंक र ल्याब रहने छन्।

बन्दरगाहमा ५ हजार वर्गमिटरको पाँचतले प्रशासनिक भवन, ७ सय ५० वर्ग मिटरको एउटा गोदाम, २ हजार ८० वर्गमिटरका दुई जाँचपास स्थल रहने गजुरेलले बताए। बन्दरगाहमा ३५० वटा मालवाहक गाडी पार्किङ गर्न सकिने छ। ८.५ हेक्टर जग्गामा बन्दरगाह निर्माण हुने छ।

करिब १२ करोड ४० लाख चिनियाँ युआन (नेरु २ अर्ब १६ करोड) लागतमा सुक्खा बन्दरगाह निर्माण गर्न लागिएको हो।

सडक विस्तार

चीनले रसुवागढीदेखि स्याफ्रुबेँसी सडकखण्ड निर्माण पनि अनुदानमा गर्दैछ। यसका लागि नेपाल सरकारले अझै साइट क्लियरेन्स गरिसकेको छैन। जसका कारण चीनले सडक सुधारको काम सुरु पाएको छैन।

यता गल्छी-स्याफ्रुबेँसी सडकखण्ड भने नेपालका तर्फबाट निर्माण कार्य जारी छ। स्याफ्रुबेंसीसम्म सडक कालोपत्रे र ढलान गरिएको छ। तर नाका नजिकका सडकहरु भने कच्ची र हिलाम्मे छ। कतिपय स्थानमा पहिरोका कारण सडक बिग्रिएको र रुट नै परिवर्तन गरिएको छ। जसमा केही पानी पर्नेबितिकै कन्टेनरहरु भासिने गरेका छन।

माथिल्लो सडक पक्की भए पनि साँघुरो छ। जसले गर्दा समयमा गाडीहरु गन्तव्यमा पुग्न कठिन र जोखिम हुने गरेको छ।

यही सडकका कारण केही ग्राउन्ड क्लियरेन्स कम भएका गाडीहरु ट्रकमाथि राखेर ल्याउने गरिएको छ। जसमा बीवाइडीले ल्याएको बस भने सडक राम्रो नभएका कारण एक वर्षदेखि काठमाडौं ल्याउन सकेको छैन। उक्त गाडी त्यहाँ निजी जग्गामा पार्किङ गरिएको छ।

भन्सारमा सुक्खा बन्दरगाह आवश्यक पूर्वाधार भए पनि सँगै सडकको अवस्था सुधार्नैपर्ने गजुरेलको भनाइ छ। ‘हामीले बन्दरगाह बनाउने र संचालनमा ल्याउने हो। तर बन्दरगाहमा आएर भन्सार जाँचपास भएका गाडीहरु काठमाडौं जान सडक एकदम महत्त्वपूर्ण पाटो हो,’ उनी भन्छन्, ‘बन्दरगाह मात्र बनेर हामी सफल हुँदैनौ। सडक विस्तार तथा स्तरोन्नति पनि सरकारले समयमै गर्नुपर्छ।’

काठमाडौंदेखि गल्छी ४४ किमि, गल्छीदेखि बट्टार २२ किमि, बट्टारदेखि बेत्रावती ११ किमि, बेत्रावतीदेखि मैलुङ १२ किमि र मैलुङदेखि स्याफ्रुबेसी १६ किमि दूरी छ। 

यस्तै काठमाडौंबाट बेत्रावती धुन्चे रसुवागढीको दुरी १४५ किलोमिटर छ भने काठमाडौंबाट बेत्रावती, मैलुङ हुँदै रसुवागढी जोड्ने सडकको दुरी १२२ किलोमिटर मात्र छ। 

आयात र निर्यात दुवै बढ्दो क्रममा

रसुवा र तातोपानीबाट हुने आयातनिर्यात र राजस्व संकलनको तथ्यांकले पनि अहिले रसुवा नाकाबाट नेपाल-चीन व्यापार बढ्दो क्रममा रहेको देखाउँछ। रसुवा भन्सारले चालु आर्थिक वर्ष २०७९/८० को जेठसम्ममा ७ अर्ब २५ करोड रूपैयाँ राजस्व संकलन भएको जनाएको छ। 

सडक निर्माण दस्तुर, मूल्यअभिवृद्धि कर र अन्तःशुल्क गरी ७ अर्बभन्दा बढी राजस्व संकलन भएको छ। यो भन्सार नाकाबाट मात्रै जेठमा इभी र पेट्रोल इन्जिन गरेर ७०० युनिटभन्दा बढी गाडी नेपाल भित्रिएका छन्।   

२०७६ जेठदेखि तातोपानी-खासा (चीनतर्फ)को नाका खुले पनि कोरोना भाइरसका कारण सामान आयात न्यून नै थियो। रसुवामा बन्दरगाह निर्माण भएपछि भारतको विशाखापट्नम हुँदै आउने सामान छोटो समयमा रसुवा नाकाबाट आउने हुँदा लागत र समय कम लाग्ने व्यवसायीको भनाइ छ। 

अहिले चीनको सामान भारतको हुँदै नेपाल ल्याउँदा ४५ दिनसम्म समय लाग्ने गरेको छ। रसुवा नाकाबाट सामान आउँदा ढुवानी लागत घट्ने भएकाले उपभोक्ताले सस्तो मूल्यमा पाउने व्यवसायीको दाबी छ। रसुवा नाकाबाट सामान ल्याए १० देखि १२ दिनमा काठमाडौं आउने व्यवसायीको अनुमान छ। चीनमा नेपालको व्यापार १३ प्रतिशत छ। तातोपानी नाका, रसुवा र हुम्लाको हिल्सा नाकाबाट आयात निर्यात हुने गरेको छ।

चीनले नेपाल निर्यात व्यापारलाई स्थलमार्गमा रसुवागढी नाकालाई प्राथमिकतामा राखेको देखिन्छ। तातोपानी भन्सार नाकाबाट स्वदेशी सामान निर्यात हुन छाडेको छ। करिब ८ वर्षपछि यो नाकाबाट निर्यात सुरु भए पनि हालसम्म ३ वटा कन्टेनरमा मात्र सामान पारि गएको छ। आयात निर्यातका लागि छोटो दुरी र खर्च कम हुने भए पनि उक्त नाकाबाट १२ दिनमा एकपटक मात्र निर्यात भएको छ।

निर्यात खुलेको पहिलो दिन ३ वटा कन्टेनरमा करिब २९ लाख रुपैयाँ बराबरको सामान पठाइएको थियो। यसअघि तातोपानी नाकाबाट मुडा, म्याट्रेस र बेतका कुर्सीहरु निर्यात भएको थियो। 

अब भने रसुवा नाकाबाट पानी र चाउचाउ चीन निर्यात भएको भन्सार प्रमुख पाठक बताउँछन्। हाल दैनिक ४ देखि ५ कन्टेनर निर्यात भइरहेको छ। ‘अहिले हाम्रो भन्सार हुँदै दैनिक ५ कन्टेनर सामान चीन निर्यात हुने गरेको छ,’ उनले भने, ‘हालसम्म चालु आर्थिक वर्षमा लगभग ५०० कन्टेनर सामान निर्यात भएका छन्।’