भाटभटेनीका संचालक मीनबहादुर गुरुङ पक्राउको विरोधमा निजी क्षेत्र, धरपकडले लगानी निरुत्साहित

बिजमाण्डू
२०८० असार २४ गते १८:०५ | Jul 9, 2023
भाटभटेनीका संचालक मीनबहादुर गुरुङ पक्राउको विरोधमा निजी क्षेत्र, धरपकडले लगानी निरुत्साहित

काठमाडौं। भाटभटेनी डिपार्टमेन्टल स्टोरका संचालक मीनबहादुर गुरुङ पक्राउको विरोधमा निजी क्षेत्रका तीन ठुला व्यवसायिक संस्थाले आपत्ति जनाएका छन्।

Tata
GBIME
Nepal Life

गुरुङ पक्राउ परेको झण्डै दुई सातापछि नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ र नेपाल चेम्बर अफ कमर्शले संयुक्त विज्ञप्ति जारी गर्दै विरोध जनाएका हुन्। ती संस्थाले गुरुङ नाम उल्लेख नगरी उद्यमीलाई थुन्ने कार्यले लगानी थप निरुत्साहित हुने उल्लेख गरेका छन्।

संयुक्त विज्ञप्तिमा विज्ञप्ति जारी गर्दै निजी क्षेत्रका संस्थाहरुले धरपकडले लगानी थप निरुत्साहित हुन सक्ने भन्दै आरोप लागेकै भरमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने काम नगर्न सचेत गराएको छ।  

‘कानुनविपरीत काम गरेको प्रमाणित भएमा जोकोही पनि कारबाहीको भागिदार हुनुपर्छ र कारबाही गरिनुपर्छ। तर, कुनै पनि विषयमा आरोप लाग्दैमा उद्यमी व्यवसायीलाई अमर्यादित व्यवहार गर्ने, थुन्ने जस्ता कार्य गर्नुहुँदैन। यस्ता कार्यले निजी क्षेत्रलाई कमजोर बनाउने मात्रै नभई समग्र मुलुकको आर्थिक विकासमा नकारात्मक असर पर्न सक्नेतर्फ सम्बन्धित पक्षको ध्यानाकर्षण गराउन चाहन्छौं,’ विज्ञप्तिमा भनिएको छ, ‘उद्यम, व्यवसाय संकुचित हुँदा अर्थतन्त्रमा वहुआयामिक असर परेको हो । देशको अर्थतन्त्रको प्रमुख संवाहक रहेका उद्यमी व्यवसायीमाथि पछिल्लो समयमा भइरहेको धरपकडले पनि लगानी थप निरुत्साहित हुन सक्ने देखिएको छ।’

एफएनसीसीआइ, सीएनआइ र चेम्बरले अदालतले दोषी ठहर नगर्दै कुनै पनि व्यवसायीलाई थुन्ने जस्ता कार्यबाट निजी क्षेत्र पनि त्रसित हुन पुगेको प्रतिक्रिया दिएको छ।

‘त्यसैले कुनै पनि विषयमा आरोप लागेपछि व्यवसायीलाई थुनिहाल्ने नभएर राज्यले व्यवसायीका कुरा सुनिदिनुपर्छ भन्ने हाम्रो आग्रह हो। राज्यको यस्तो प्रवृत्तिले उद्यमी व्यवसायीको मनोबल कमजोर भई हतोत्साही हुने तथा मुलुकको अर्थतन्त्र संकटमा रहेका बेला साना ठूला व्यवसायी एवं उद्यमीप्रतिको यस्तो व्यवहारले नकारात्मक असर पर्ने भएकाले आवश्यक परेमा अग्रिम जमानत लिने र आरोप प्रमाणित भएपछि मात्रै कानुनी कारबाहीको प्रक्रिया अघि बढाउन निजी आग्रह गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ।

किन ढिला आयो विज्ञप्ति ?

केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले ललिता निवासको जग्गा प्रकरणमा गुरुङलाई दुई साता अघि पक्राउ गरेको थियो।

उनी पक्राउपछि निजी क्षेत्रका संस्थाबीच सामान्य छलफल मात्रै भएको थियो। गुरुङ पक्राउ परेको केही समयमै मारुती सिमेन्टबाट घर निर्माण हुँदा भत्किएको भन्दै पक्राउ पुर्जी जारी भयो।

कमसल सिमेन्ट प्रयोग गर्दा घर भत्किएको भन्दै उजुरी परेपछि पक्राउ पुर्जी जारी भएको थियो। योसँगै अरु व्यवसायीमाथि पनि विभिन्न निकायबाट अनुसन्धान अघि बढेको सुचना उद्योगीव्यवसायी पाए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगदेखि सीआइबी समेतले निशानामा उद्योगीव्यवसायी बनाउनका लागि अनुसन्धान अघि बढाएको सुचनाले उनीहरु झस्किए। त्यसपछि तीन वटै व्यवसायिक संस्था एक ठाउँ उभिएर प्रतिकार गर्ने निर्णयमा पुगेका हुन्।

‘राजनीतिक अभिष्ट पूरा गर्न उद्योगीव्यवसायी माथि निशाना साँध्ने काम हुन थालेको छ। देशमा उद्यमशिलता विकास गर्ने व्यक्तिलाई धमाधम पक्राउ गरेर निरुत्साहित गर्ने योजना बनेपछि हामी एक ठाउँमा आउन बाध्य भएका हौं,’ एक उद्योगीले भने, ‘कुनै एकजना उद्यमी पक्राउ पर्‍यो भनेर चुप बस्दा हामी सबैलाई कुनै न कुनै बहानामा आक्रमण हुने जोखिम देखेपछि संयुक्त विज्ञप्ति जारी गरिएको हो।’

उनका अनुसार कानुन भन्दा पनि सुरक्षा निकायले आफ्नो अधिकार प्रयोग गरेर जो कोहीलाई पक्राउ गर्नसक्ने अवस्था सिर्जना हुन थालेको छ। ‘कानुनभन्दा प्रहरी राज सुरु हुने अवस्था देखियो,’ उनले भने, ‘अदालतले पनि कानुन भन्दा भावना र भीड हेरेर निर्णय गर्नसक्ने अवस्था देखियो। यो अत्यन्तै चिन्ताजनक अवस्था हो।’