
काठमाडौ। लामो समय एउटै शाखामा काम गरेका सिन्धु विकास बैंकका कर्मचारीले मिलेमतोमा बाह्रबिसे शाखाबाट निक्षेपकर्ताको रकम हिनामिना गरेको खुलेको छ। घटनामा संलग्न केही कर्मचारीलाई प्रहरीले पक्राउसमेत गरेको छ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले अनुसन्धान गरी बैंक कर्मचारीलाई नै नियन्त्रणमा लिएपछि घटना बाहिरिएको हो। शाखा प्रमुख रुक्शा श्रेष्ठको योजनामा बैंकको २ करोड ६८ लाख रुपैयाँ हिनामिना भएको प्रहरीको अनुसन्धानमा खुलेको छ।
प्रहरीले यस घटनामा संलग्न शाखा प्रमुख रुक्शा श्रेष्ठ, कर्मचारीहरू एलिसा बस्नेत र अस्फना श्रेष्ठलाई पक्राउ गरेको छ। बैंकका अर्का कर्मचारी नितिका श्रेष्ठ भने फरार छिन्।
घटनामा जोडिएका पदमबहादुर प्रधानलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ। प्रहरीको अनुसन्धानमा बैंकका पाँच कर्मचारी र अन्य पाँच जना बाहिरका व्यक्तिको संलग्नता देखिएको छ।
‘बैंकका कर्मचारीको संलग्नतामा नै बचतकर्ताको रकम हिनामिना गरेको देखियो। अहिले पाँच जनालाई पक्राउ गरेका छौँ। बाँकीको विरुद्धमा पक्राउ पुर्जी जारी भइसकेको छ,’ जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका प्रहरी प्रमुख एसपी बालनरसिंह राणाले भने।
प्रहरीले फरार रहेका पाँच जनाविरुद्ध जिल्ला अदालत सिन्धुपाल्चोकबाट पक्राउ पुर्जी जारी गरेको छ। फरार हुनेहरूमा बैंकका कर्मचारी एलिसा, अस्फना र नितिका श्रेष्ठका श्रीमान् छन्।
उनीहरूले आफ्ना श्रीमानको नाममा खाता खोलेर त्यसमा बचतकर्ताको रकम पठाएको देखिएको छ। रकम श्रीमानहरूको खातामा गएको र झिकेको देखिएपछि उनीहरूलाई पनि प्रहरीले अनुसन्धानमा तानेको हो।
‘उनीहरू नगद र ग्राहक सेवा (कस्टमर केयर) मा बस्ने कर्मचारीहरू हुन्। जसले श्रीमानलाई समेत आफ्नो योजनामा संलग्न गराएका छन्। एक जना समातिएका पनि छन्,’ अनुसन्धानमा खटिएका एक प्रहरी अधिकृतले भने।
सुन व्यापारीको खातामा लाखै रकम
बचतकर्ताको रकम हिनामिनाको प्रमुख योजनाकार रुक्शा श्रेष्ठ भएको खुलेको छ। ३१ वर्षीय श्रेष्ठ बैंक स्थापनाकालदेखि नै सिन्धुपाल्चोक बाह्रबिसे शाखामा कार्यरत थिइन।
लामो समय एउटै शाखामा काम गर्दा उनले बचतकर्ताको रकम नै हिनामिना गरेको घटना लुकाउने मौका पाइन्। बचतकर्ता रकम झिक्न आए ‘फिक्स डिपोजिट’ मा राखेको भन्दै पठाउने गरेकी थिइन्। त्यसो त पैसा चाहिँ हाल्नेहरूलाई अरूको खाताबाट समेत रकम तानेर केही समयलाई मिलाउने गरेको अनुसन्धानमा देखिएको छ।
‘अरूको खाताबाट पनि रकम तानेर मिलाउने गरेको देखिएको छ,’ एसपी राणाले भने।
बैंक खाताबाट सेवाग्राहीको रकम झिकेर उनले धेरैजसो रकम पदमबहादुर प्रधानको खातामा पठाउने गरेको देखिएको छ। जसबाट उनले राम्रो ब्याज समेत लिएको खुल्छ।
पदमबहादुर सुनचाँदी व्यवसायी हुन्। तर केही समयदेखि भने उनको सुनको पसल बन्द भएको प्रहरीको अनुसन्धानमा खुलेको छ। रुक्शाले धेरै पटक उनको खातामा पैसा पठाएको देखिएको छ।
२ करोड ६८ लाख हिनामिना भए पनि उनीहरूले बीचमा १ करोड ३३ लाख रुपैयाँ जम्मा गरेको अनुसन्धानमा खुलेको छ। अहिले पनि पीडितहरूको उजुरी आउने क्रम रहेकाले हिनामिनाको रकम बढ्न सक्ने प्रहरीले जनाएको छ।
उनीहरूले सेवाग्राहीको खाताबाट एक दिनमा ९ लाख ९० हजार रुपैयाँसम्म झिक्ने गरेको देखिएको छ। ग्राहकले बैंकमा मुद्दतीमा पैसा राख्ने गरेका थिए। त्यसको ब्याज नियमित भुक्तानी हुने गरेको थियो। जब साँवा (मूलधन) लिन गइयो त्यसको हिसाबकिताब बैंकको प्रणालीमा नभेटिएको हो। त्यो पैसा शाखा प्रबन्धक र कर्मचारी मिलेमतोमा बैंकको प्रणालीभन्दा बाहिर लगिएको खुलेको हो।
विगतमा यस्तो घटना हिमालयन फाइनान्स, नेपाल सेयर मार्केट फाइनान्सियल इन्ष्टिच्युसन, क्यापिटल मर्चेन्टमा भएको थियो। ती कम्पनीहरु डुबेर अहिले अस्तित्वमै छैनन्।
रुक्शालाई प्रहरीले जेठ २५ गते पक्राउ गरेको थियो। त्यसपछि अन्य कर्मचारीहरू समातिएका हुन्। रुक्शा २०७९ कात्तिक महिनातिर शाखाबाट सरुवा भएपछि हिनामिना प्रकरण बाहिरिएको थियो। त्यसपछि बैंकको प्रमुख कार्यालयमा खबर पुगेको थियो।
बैंकले पनि केही समय लगाएर अनुसन्धान गरेको थियो। जसमा ६ जना कर्मचारीलाई निलम्बन गरेको समेत प्रहरीको अनुसन्धानमा खुल्छ।
प्रहरीले उनीहरूविरुद्ध बैंकिङ कसुरमा म्याद थप गरेर अनुसन्धान गरिरहेको छ। अहिलेसम्म बैंकका ४२ जना सेवाग्राहीले उजुरी दिएका छन्।