संचालनमा आयो मेलम्चीको बेलिब्रिज, प्रधानसेनापति र स्वास्थ्यमन्त्रीले गरे उद्घाटन

बिजमाण्डू
२०८० असार २२ गते १८:३८ | Jul 7, 2023
संचालनमा आयो मेलम्चीको बेलिब्रिज, प्रधानसेनापति र स्वास्थ्यमन्त्रीले गरे उद्घाटन


काठमाडौं। सिन्धुपाल्चोकको मेलम्ची बजारस्थित ईन्द्रावती नदीमा निर्माण भएको बेलिब्रिज सञ्चालनमा आएको छ।

Tata
GBIME

शुक्रबार स्वास्थ्य तथा जनसंख्यामन्त्री  मोहनबहादुर बस्नेत र प्रधान सेनापति महारथी प्रभुराम शर्माले संयुक्त रुपमा बेलिब्रिज उद्घाटन गरे। २०७८ असारको भारी वर्षाका कारण ईन्द्रावती खोलामा आएको बाढीले १०४ मिटर पक्की पुल बगाएको थियो।

 मेलम्ची बजारदेखि ईन्द्रावती नगरपालिका, पाँचपोखरी थाङपाल गाउँपालिका र जिल्ला सदरमुकाम जोड्ने लामो कम्पोजिट पुल बगाएपछि स्थानीयलाई आवतजावतमा समस्या भएको थियो। हिउँदको समयमा ह्युमपाइप राखेर आवतजावत हुने गरेको भएपनि बर्खामा समस्या थियो।

सरकारले जेठ २१ गते नेपाली सेनालाई बेलिब्रिज निर्माणको जिम्मा दियो। सोही अनुरुप सेनाले ब्रिज तयार पारेको हो। नवनिर्मित बेलीब्रिजको लम्बाई ६७.७० मिटर, चौडाई ४.२ मिटर तथा अधिकतम भारवहन क्षमता १८ टन रहेको छ।

यो पुल निर्माणसँगै स्थानीयलाई आवतजावतमा भएको कठिनाई समाधान हुने सेनाले विश्वास लिएको छ। निकट भविष्यमा पक्की पुल निर्माण गर्ने योजना समेत छ।