काठमाडौं। ज्ञानेश्वरचोकबाट पशुपति रोडमा केही अगाडि बढ्ने बित्तिकै ग्लोबल आइएमइ बैंकको छेवैमा छ, डी मोक्ष मुस्ताङ थकाली। रेस्टुरेन्टको प्रवेशद्वारबाट भित्र छिर्दा फराकिलो परिसर छ। दायाँ र बाँया उस्तै फराकिलो पार्किङ स्पेस। परिसरको सामुन्ने अगाडि छ, ९० वर्ष पुरानो घर।
नेपाली शैलीको त्यो इँटा रङको घरमा मुस्ताङतिरका घरको झल्को दिने झ्यालढोकाका बोडरमा सेतो रङ लगाइएको छ। झ्यालमाथिका टपमा दाउराको थुप्रोहरू मिलाएर राखिएका छन्। तीन तले पुरानो घरलाई संरक्षण गर्न घरधनीले २०७२ को भूकम्पपछि रेट्रोफिटिङ गराएका थिए। त्यही घर युवा व्यवसायीले लिएर डी मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्ट सञ्चालनमा ल्याएका हुन्।
रेस्टुरेन्ट सञ्चालकमध्येका अजय तामाङ सज्जा र खानाका परिकारले उपत्यकालाई मुस्ताङी स्वाद दिलाउने बताउँछन्। बाहिर प्लास्टर नगरेका पुराना इँटाका गारोले रेस्टुरेन्टलाई फरक सज्जा दिएको छ। आधुनिक तवरले बनेको परम्परागत शैलीको भवन र त्यसको सज्जा रेस्टुरेन्टको मुख्य आकर्षण हो।
ज्ञानेश्वरमा कंक्रिट भवनहरूको भीचमा उभिएको यो तीन तले घर निकै पृथक र आकर्षक देखिन्छ। जो कोहीको पनि आँखा तानिहाल्छ। नेपाली खानाका लागि विशेष प्रकारको रेस्टुरेन्ट खोल्ने निर्णयमा पुगेका अजय र उनका साथी आकाश भट्टराईलाई पनि यस घरको पृथकताले तानेको थियो। उपयुक्त ठाउँ खोज्न धेरैतिर हेरेपछि बल्ल दुई साथीले यो घरको पत्तो पाएका हुन्।
रेस्टुरेन्टका लागि भवनको मुख्यद्वारबाट भित्र प्रवेश गर्ने बित्तिकै जो कोहीलाई पनि शीतल आभाष हुन्छ। पुरानो शैलीको घर भएकाले मोटामोटा काठका दलिन, पुराना काठका बुट्टेदार भर्याङ, गारोमा नै जोडिएका पुराना दराजमा सजिएका भिन्टेज भाँडाकुँडा तथा सोपिस, पुरानो जमानामा हुने जस्तै वार्म लाइटिङ लगायतको सज्जाले जो कोहीलाई केही समय पछाडि फर्केर आफ्नो मौलिकता सम्झन बाध्य पार्छ।
१४ वर्ष आतिथ्य क्षेत्रमा अध्ययन तथा काममा खर्चेका अजयले आफ्नो सिकाइलाई झल्काउने गरी रेस्टुरेन्टको वातावरण तयार गरेका छन्। मुस्ताङ र थकाली मुलुकमा खानाको छुट्टै स्वाद पस्कने ब्राण्ड बनेको छ। यही ब्राण्डलाई प्रवर्द्धन गर्दै परिकारमा फ्युजन पनि ल्याएको छ डी मोक्ष मुस्ताङ थकाली रेस्टुरेन्टले।
‘किन हामी रेस्टुरेन्ट जान्छौं ? यो प्रश्न हस्पिटालिटीका विद्यार्थीहरूले सामना गरिराख्ने हो,’ उनी भन्छन्, ‘यसका अनेक उत्तर छन्। तर विशेषगरि हामी रोयल (राजा)को जस्तो महसुस गर्न जान्छौं। हामीले यहाँ आउने हरेक गेस्टलाई हाम्रो खाना र सर्भिसबाट त्यही फिल दिन खोजिरहेका छौं।’
रेस्टुरेन्टमा भ्यालेट पार्किङको सुविधा छ। गेटबाट पस्नेबित्तिकै रेस्टुरेन्टका कर्मचारीले नै ग्राहकको गाडी पार्किङ गरिदिन्छन्। कर्मचारीले मुस्कानका साथ स्वागत गर्छन्।
भुइँतलामा तीन कोठामा फैलिएको फाइन डाइनिङ रेस्टुरेन्ट छ। जसमा एकपटकमा १ सय ३६ जना अँटाउने क्षमताको टेबुल-कुर्सी व्यवस्था छ। दुई जना र चार जना बस्न मिल्नेदेखि १० जना भन्दा ठूलो समूह आउँदा पनि एकै साथ बसेर खान सक्ने डाइनिङको व्यवस्था छ।
दोस्रो तल्लामा मार्फा बार छ। बारद्वारा विशेषगरि नेपालमा नै उत्पादित भएका पेयहरूलाई प्रर्वद्धन गर्ने सोच अजय र आकाशको छ। मार्फा बार निकै आकर्षक बनेको छ।
डी मोक्ष मुस्ताङ थकालीले स्पेसल परिकारको रुपमा ससुराली सत्कार सेट, सिस्नु र ढिँडो, घोँगी पस्किरहेको छ। ससुराली सत्कार सेटमा खसीको पक्कु, चिकेन ग्रेभी र माछा तारेको समावेश छन्।
चार सिटिङ क्षेत्रमा रहेको उक्त बारमा एकटपकमा ७५ जनाले सेवा पाउन सक्छन्। धुम्रपान गर्नेका लागि यहाँ एक स्मोकिङ जोन पनि छ। तेस्रो तल्लामा १०० जना क्षमताको बैंक्वेट ‘सुरभी हल’ तयार भइरहेको अजयले जानकारी दिए। पारिवारिक रेस्टुरेन्ट भएकाले स-साना नानीहरुका लागि किड्स प्लेरुम पनि छ।
यो रेस्टुरेन्ट यसै महिनादेखि सञ्चालनमा आएको हो। खुलेको एक महिना पनि नबित्दै यहाँ दैनिक एक सय र बिदाको दिन ६०० जनासम्म पनि आउने गरेको अजयले सुनाए।
होटल म्यानेजमेन्टमा स्नाकोत्तर अजयसँग नेपाल, मलेसिया र दुबईका ख्यातिप्राप्त विभिन्न होटलको अनुभव छ। आकाशले नेपालमा नै विभिन्न व्यवसाय सञ्चालन गर्थे। अजय र आकाशको भेट उनीहरु कक्षा ११/१२ पढ्दा सन् २००७ मा भएको थियो।
अजयले भने, ‘फरक फरक क्षेत्रमा पढाइ र काम गरे पनि हाम्रो कुरा निकै मिल्थ्यो। म कामको लागि दुबईमा हुँदा पनि आकाशले मलाई नेपालमा नै आफ्नै केही गर्नुपर्छ भनेर हौस्याइरहन्थे।’
उनले थपे, ‘विदेशमा होटलमा काम गर्दा उनीहरूले आफ्नो मौलिक खानालाई खुब प्रोमोट गरेको महसुस गर्थे। त्यो देख्दा नेपाली खाना त्यसरी नै प्रवर्द्धन गर्ने रहर जाग्यो। तर नेपालमा त्यो प्राक्टिस भएको मैले पाइन।’
अजयले स्नातकको पढाइका क्रममा मुस्ताङको थकाली खानाको बारेमा केस स्टडी गर्ने पनि मौका पाएका थिए। अजयले आफ्नो आतिथ्य क्षेत्रको ज्ञान र अनुभव र आकाशले व्यवसाय सञ्चालनको कौशललाई मिलाएर अथेन्टिक नेपाली खानालाई विश्वस्तरमा चिनाउने लक्ष्यका साथ थकाली खाना केन्द्रित डी मोक्ष मुस्ताङ थकाली सुरु गरे। यसमा हालसम्म १.५ करोड लगानी भएको अजय बताउँछन्।
६ महिनाको तयारीपछि यो रेस्टुरेन्ट सञ्चालनमा आएको हो। ‘हामीले यो परिसर र घरलाई यो अवस्थामा ल्याउन निकै मिहिनेत गरेका छौं। यहाँ प्रयोग भएका सानोभन्दा सानो कुरा पिक गर्न निकै सोचविचार गरेका छौं। कुर्सी सुदूरपश्चिमको रानी सल्लाको काठले बनाएका छौं,’ उनले भने।
डी मोक्ष मुस्ताङ थकालीले स्पेसल परिकारको रुपमा ससुराली सत्कार सेट, सिस्नु र ढिँडो, घोँगी पस्किरहेको छ। ससुराली सत्कार सेटमा खसीको पक्कु, चिकेन ग्रेभी र माछा तारेको समावेश छन्। यस रेस्टुरेन्टले डेजर्टमा खिर र बेक्ड योगर्ट चखाउँदैछ।
ससुराली सत्कार सेटको ११ सय छ भने घोँगी सेटको ५८५ रुपैयाँ छ। त्यस्तै, यहाँ चिकेन थाली सेटको ५७५, मटन सेटको ७७५ र सिस्नु सेटको ५३० रुपैयाँ पर्छ।
यो रेस्टुरेन्टमा पाहुनाले इच्छाअनुसार भात सेट र ढिँडो सेट छान्न सक्छन्। विशेषगरि बच्चाको लागि बेबी सेट पनि अफर गर्दै आएको छ। नेपाली खाना बाहेक यस रेस्टुरेन्टले मल्टीकुजिन खानाको छनोट पनि दिएको छ।
अजयले भने, ‘अहिलो बढ्दो महँगी र व्यस्त जीवनशैली हेर्ने हो भने यो मूल्य महँगो होइन। हामीले मध्यम वर्गीयदेखि उच्च वर्गीय सबैलाई लक्षित रेस्टुरेन्ट बनाएका हौं।’
अजयका अनुसार यस रेस्टुरेन्टले मेलम्चीको बास्मती चामल, जुम्लाको दाल, इलामको घ्यु र होम मेड मसला नै प्रयोग गर्दै आएको छ। उनले सुनाए, ‘सकेसम्म सबै नेपालमा नै उत्पादन भएका सामाग्री प्रयोग गर्न खोजिरेहेका छौँ। हामीले आलु पनि सोलुखुम्बुबाट मगाउन लागिरहेका छौँ।’
गुणस्तरीय खाना पस्कन अजय र आकाशले करिब तीन दशक लामो पाक कलामा अनुभव बटुलेका सेफ उद्धव तिमल्सिनालाई जिम्मेवारी सुम्पेका छन्। अन्नपूर्ण होटल, ग्राण्ड होटल, अष्ट्रेलिया र यूएईका प्रसिद्ध होटलमा काम गरिसेका तिमिल्सिनाको विशेषता भने कन्टिनेटल परिकार र नेपाली परिकारमा छ।
तिमिल्सिनाले भने, ‘खाना भनेको हेर्न र बास्ना लिन पनि राम्रो हुनुपर्छ। जिब्रो र पेटलाई त अझ मन पर्नुपर्छ। हामी स्वाद, स्वरुप, हाइजिन र गणस्तरमा निकै ध्यान पुर्याएर खाना तयार पार्छौ।’
यसमा अजयले थपे, ‘हामीले गेस्टहरुको निरन्तर प्रतिक्रियाहरु पनि लिइरहेका छौं। सल्लाहअनुसार सुधार गर्दै लगेका छौँ।’
बजारमा थकाली खाना पस्कने धेरै स्थापित रेस्टुरेन्हरु छन्। यस्तो प्रतिस्पर्धी बजारमा आफ्नो नाम स्थापित गर्न सहज पक्कै नहुने अजयको बुझाइ छ, ‘तर हामी आफ्नै हिसाबले अगाडि बढिरहेका छौँ। हाम्रो बलियो पक्ष(लोकेसन, खाना र सर्भिस)लाई ध्यान दिदैँ गुणस्तरीय र अथेन्टिक खाना पस्कदै जानेछौँ। सुरु भएका एक महिना पनि भएको छैन। तर गेस्टहरु दोहोर्याएर आइरहनु भएको छ। यसले हामीलाई निकै हौस्याएको छ।’
यस रेस्टुरेन्टमा हाल अजयसँग ३७ कर्मचारी छन्। ४० बाइक र २३ कार-जिप पार्किङका लागि फराकिलो स्पेस छ।
अजय र आकाशले डी मोक्ष मुस्ताङ थकालीलाई थकाली खानाको लागि स्थापित रेस्टुरेन्टको विकास गर्ने सपना देखेका छन्। यसका साथै यो जोडीले यसको शाखा विश्वका विभिन्न सहरहरूमा विस्तार गरेर नेपाली खानालाई विश्वस्तरमा चिनाउने लक्ष्य पनि लिएका छन्।