
काठमाडौं। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडीसीएल)ले निजी क्षेत्रका आयोजनालाई ‘सफ्ट लोन’ (सस्तो ब्याजदरको कर्जा) उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।
एचआइडीसीएलका प्रमुख कार्यकारी अधिकृत अर्जुनकुमार गौतमले अब निजी क्षेत्रले विकास गर्ने जलविद्युत आयोजनामा पनि स्वपुँजी र ऋण दुवै लगानी गर्ने बताएका छन्।
स्वतन्त्र ऊर्जा ऊत्पादकहरुको संस्था, नेपाल (इप्पान)को नव निर्वाचित कार्यसमितिलाई एचआईडीसीएलमा स्वागत गर्दै सीइओ गौतमले एचआइडीसीएल अब ऊर्जा लक्षित पूर्वाधार बैंक बन्ने गरी अघि बढेको र त्यसका लागि कम्पनीको पुँजी २५ अर्ब मात्र भए पनि वित्तीय लिभरेज उपयोग गरेर १ खर्ब ५० अर्ब रुपैयाँसम्मको लगानी सक्ने अवस्थामा रहेको बताए।
‘विगतमा जस्तो कम्पनीले अब जलविद्युत आयोजनाको लाइसेन्स लिँदैन। देशलाई समृद्ध बनाउने ऊर्जा क्षेत्रमा देखिएको वित्तीय लगानीको खाडल पुरा गर्न विदेशबाट ग्रीन फण्ड, पेन्सन फण्ड जस्ता सस्तो फण्ड ल्यएर जलविद्युतमा लोन र इक्विटी दुवैमा लगानी गर्छौ,’ गौतमले भने ।
विदेशबाट ग्रीन बण्ड ल्याएर वा नेपालमै पनि बण्ड जारी गरेर जलविद्युत आयोजनालाई ‘सफ्ट लोन’ उपलब्ध गराउन कम्पनी अघि बढेको उनको भनाइ थियो। ‘लगानी कम्पनीको रुपमा दर्ता भए पनि अब एचआइडीसीएल बैंक तथा वित्तीय संस्थामा रुपान्तरण भइसकेकाले यसको काम सस्तो दरमा ऋण ल्याउने र जलविद्युत केन्द्रित भएर लगानी गर्ने नै हो,’ उनले भने।
इप्पान अध्यक्ष गणेश कार्कीले ७/८ प्रतिशत ब्याजदरमा वित्तीय व्यवस्थापन गरेका आयोजनाको बैंकको ब्याजदर १४/१५ प्रतिशतसम्म पुगेको भन्दै एचआइडीसीएलले निजी क्षेत्रका आयोजनामा गरिएको लगानीको ब्याजदरमा स्थिरता कायम गरिदिए धेरै राम्रो हुने बताए।
निजी क्षेत्रले बिश्व बैंक, आईएफसी, एडीबी लगायतका संस्थाबाट ऋण ल्याउन २/३ वर्ष लामो समय लाग्ने भन्दै अध्यक्ष कार्कीले त्यस्ता संस्थाबाट सस्तो दरमा एचआइडीसीएलले फण्ड ल्याएर निजी क्षेत्रमा लगानीतर्फ केन्द्रीत हुन आग्रह गरे।
इप्पानका वरिष्ठ उपाध्यक्ष मोहन डाँगीले बाहिरबाट सफ्ट लोन ल्याएर नेपालको जलविद्युतमा लगानी गर्ने वातावरण बन्यो भने नेपालको समृद्धिको लागि त्यो महत्त्वपूर्ण हुने बताए।