माथिल्लो ईङवाको विद्युत राष्ट्रिय प्रणालीमा ल्याउन ३३ केभी प्रसारणलाइन निर्माण हुँदै

बिजमाण्डू
२०८० असार २१ गते ०९:५८ | Jul 6, 2023
माथिल्लो ईङवाको विद्युत राष्ट्रिय प्रणालीमा ल्याउन ३३ केभी प्रसारणलाइन निर्माण हुँदै


काठमाडौं। माथिल्लो ईङवा खोला साना जलविद्युत आयोजनाको विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोड्न ३३ केभी प्रसारणलाइन निर्माण हुने भएको छ।

Tata
GBIME

प्रस्तावित प्रसारणलाइन पाँचथरको याङवरक गाउँपालिका-३ मा अवस्थित ईङवा खोला साना जलविद्युत आयोजनाको स्वीचयार्डदेखि हिलिहाङ गाउँपालिका-१ मा रहेको विद्युत प्राधिकरणको अमरपुर सबस्टेसनसम्म निर्माण हुनेछ।

प्रसारणलाइनको दुरी १६ किमी हुनेछ। ईङवा हाइड्रोपावर लिमिटेडले प्रसारणलाइन निर्माण गर्न लागेको हो। विद्युत विकास विभाग समक्ष प्रसारणलाइन निर्माणको आवेदन कम्पनी दिइसकेको छ। विभागले अनुमति दिने प्रक्रिया अन्तिम चरणमा पूर्याएको छ।

विभागले बिहिबार सार्वजनिक सूचना जारी गरेर आयोजना निर्माण तथा सञ्चालन गर्दा कुनै प्रतिकुल असर पर्ने भए ३५दिनभित्र लिखित राय/सुझाव पेस गर्न सरोकारवालाहरुलाई आग्रह  गरेको छ।

यो प्रसारणलाइनले ९.७ मेगावाट विद्युत वहन गर्न सक्छ। प्रसारणलाइनमा ३३० वटा स्टिलका पोलहरु राखिनेछ। पोलको उचाई १३ मिटरको हुनेछ। पोलहरुको बीचको दुरी ३० देखि ६५ मिटर हुनेछ। प्रसारणलाइन निर्माण ६ महिनामा सक्ने लक्ष्य छ।