साल्ट ट्रेडिङले १२ महिनामा डेढ लाख टन मल भित्र्यायो, किसानलाई मल पाउनै सास्ती



बिजमाण्डू
२०८० असार २० गते १५:२० | Jul 5, 2023
साल्ट ट्रेडिङले १२ महिनामा डेढ लाख टन मल भित्र्यायो, किसानलाई मल पाउनै सास्ती

वीरगंज। साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडले चालू आवको १२ महिनामा झन्डै एक लाख ५५ हजार मेट्रिक टन रासायनिक मल भित्र्याएको छ ।

Tata
GBIME
Zonsen

वीरगंजस्थित प्रादेशिक प्रमुख अमोज लामिछानेका अनुसार चालू आवमा साल्ट ट्रेडिङको प्रधान कार्यालय काठमाडौं मातहत विराटनगर, वीरगंज र भैरहवा प्रादेशिक कार्यालयमार्फत उक्त मल भित्र्याइएको हो।  

साल्ट ट्रेडिङले चालू आवमा युरिया एक लाख ३१ हजार मेट्रिक टन, डिएपी ६५ हजार मेट्रिक टन, पोटास २५ सय मेट्रिक टन भित्र्याउनुपर्ने जिम्मा पाएकोमा युरिया एक लाख ११ हजार मेट्रिक टन, डिएपी ४५ हजार मेट्रिक टन भित्र्याएको छ ।

अब युरिया र डिएपी २०–२० हजार मेट्रिक टन र पोटास पूरै अर्थात् २५ सय मेट्रिक टन ल्याउन बाँकी रहेकोमा केही दिनमै ती मलहरू पनि आउने क्रममा रहेको उनले जानकारी गराए ।

विराटनगर, वीरगंज र भैरहवा कार्यालयबाट नेपालको पहाडी तथा दुर्गम जिल्लाहरूमा मल आपूर्ति एवं ढुवानी हुन्छ । वीरगंज कार्यालयले मधेस प्रदेशको आठ जिल्ला, बागमती र गण्डकी प्रदेशमा मल पठाउने गरेको मधेस प्रदेश वीरगंज कार्यालय प्रमुख लामिछानेको भनाइ छ ।

साल्ट ट्रेडिङले रासायनिक मल आइपिएल इन्डिया र दुबइको विल्सन कम्पनीबाट  खरीद गरेको जनाएको छ । साल्ट ट्रेडिङले भित्र्याएको कुल मलमध्ये ८४ हजार मेट्रिक टन नेपाल सरकारको कृषि मन्त्रालयको कोटाबाट पाएको थियो भने ग्लोबल टेन्डर अन्तर्गत फास्ट ट्रयाकबाट ४७ हजार मेट्रिक टन ल्याउने जिम्मा पाएको थियो ।

अहिले युरियाको प्रतिबोरा ७५० रुपैयाँ, डिएपीको २२ सय, पोटासको १६ सय रुपैयाँ सरकारी दरमा मल वितरण भइरहेको छ ।

सहकारीबाट वितरण हुने मलमा ठाउँ अनुसारको सहकारीले आफनो यातायात र सेवा शुल्क जोडेर बोरामा ५० देखि दुई सय रुपैयाँसम्म बढी लिने गरेको छ ।

कृषि ज्ञान केन्द्रले बनाएको गाँउपालिका तथा नगरपालिकाको रोस्टर अनुसार सहकारी (डिलर)मार्फत् मल वितरण हुने गरेको उनले जानकारी दिए।