
काठमाडौं। नेपाल-चीन फ्रेण्डसीप ड्रागन बोट फेस्टिभ असार दोस्रो सातामा आयोजना हुने भएको छ। चिनियाँ संस्कृतिसँग जोडिएको महोत्सव दक्षिण एसियामै पहिलो पटक आयोजना हुन लागेको नेपाल पर्यटन बोर्डले जनाएको छ।
बिहीबार आयोजित पत्रकार सम्मेलनमा चिनियाँ दुतावासका डेपुटी चिफ अफ मिसन (डीसीएम) वाङ जीनले यस्ता खाले महोत्सवले दुई मुलुक र जनस्तरमा रहेको सम्बन्ध सुमधुर हुनका साथै पर्यटन प्रवर्द्धन हुने बताए।
जीनका अनुसार, वोट फेस्टिभल ५० भन्दा बढि मुलुक र क्षेत्रमा आयोजना हुँदै आएको छ।
बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले नेपालमा पहिलो पटक आयोजना गर्न लागिएको यो महोत्सवले समग्र मुलुककै पर्यटनमा नयाँ आयाम थप्ने विश्वास व्यक्त गरे।
बोर्डले मोत्सवलाई यो वर्ष मात्र नभइ आउँदा हरेक वर्षमा निरन्तरता दिने योजना रहेको जानकारी दिए। ‘यो कार्यक्रमले नेपालको समग्र पर्यटनमा नयाँ प्रडक्टका रुपमा थपिने छ। यसका माध्यमबाट हरेक वर्ष थप पर्यटक ल्याउन सकिन्छ। यसमा सबै सरोकारवालाहरुको सहयोग र सहभागिता आवश्यक छ’ उनले भने।
पोखरामा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न भएको अवस्थामा यस प्रकारका कार्यक्रमले विदेशीलाई पोखरामा आमन्त्रण गर्न र विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सञ्चालन गर्न पनि टेवा पुग्ने उनले बताए।
नेपालमा चिनियाँ पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको कार्यक्रममा सम्बन्धमा गत वैशाख २१ गते पर्यटन बोर्ड, चिनियाँ दुतावास र पोखरा महानगरपालिकाबीच सम्झौतापत्रमा हस्ताक्षर भएको थियो।
पर्यटन सम्वद्ध विभिन्न क्षेत्रको सहकार्यमा आयोजना हुन लागेको महोत्सव असार ८ र ९ गते आयोजना हुने बोर्डले जनाएको छ।