धरान-लेउती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न, सवा घण्टाको बाटो १० मिनेटमै

बिजमाण्डू
२०८० जेठ २३ गते १३:४५ | Jun 6, 2023
धरान-लेउती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न, सवा घण्टाको बाटो १० मिनेटमै

काठमाडौं। धरान-लेउती सुरुङमार्गको सम्भाव्यता अध्ययन सम्पन्न भएको छ। गुणस्तर, अनुसन्धान तथा विकास केन्द्रका अनुसार सुनसरीको धरान र धनकुटाको लेउती खोलासम्म सुरुङमार्ग निर्माण गर्न सम्भाव्यता अध्ययन गरिएको हो।

Tata
GBIME
Nepal Life

केन्द्रकी इन्जिनियर सोनी श्रेष्ठका अनुसार यो अध्ययन जोगबनी-किमाथांका सडकको दूरी र समयलाई छोट्याउने उद्देश्यले धरानदेखि लेउती खोलासम्मको सुरुङमार्ग बनाउन लक्षित छ।

२०७८ पुसमा नै यसको प्रारम्भिक चरणको सम्भाव्यता अध्ययन भएको थियो। त्यसबेला गरिएको उक्त प्रारम्भिक चरणको सम्भाव्यता अध्ययनअनुसार धरानतर्फ ५ र धनकुटाको लेउती खोलातर्फ ३ स्थानमा सुरुङ बनाउने उल्लेख भएको उनले बताइन्।

उनका अनुसार अहिले गरिएको सम्भाव्यता अध्ययनले सुरुङमार्गको लम्बाई ३.८६८ किलोमिटर मिटर कायम हुने देखाएको छ। यसअघि गरिएको प्रारम्भिक सम्भाव्यता अध्ययनले ४ किलोमिटर लम्बाइ हुने अनुमान गरेको थियो।

यो सुरुङ मार्ग निर्माण भएमा सवा घण्टाभन्दा बढी समय लाग्ने बाटो छोट्टिएर ५ देखि १० मिनेटमा सीमित हुनेछ। यसको निर्माण लागत ७ अर्ब ५८ करोड ७० लाख रुपैयाँ लाग्ने श्रेष्ठले बताइन।

कुन सुरुङमार्गको काम कति भयो ?

हालसम्म नेपालमा नागढुंगा-नौबिसे सुरुङमार्गले मात्र पूर्णता पाउन लागेको छ। यो आयोजनामा मुख्य सुरुङ खन्ने काम ८२ प्रतिशत पुगेको छ।  अबको केही महिनामा यसको ब्रेक थ्रु हुने आयोजनाले जनाएको छ।

यस्तै सिद्धबाबा सुरुङमार्गको काम पनि ठेक्का लागेर डिजाइनको पर्खाइमा छ। डिजाइनको काम स्वीस परामर्शदाताले गरिरहेको छ। साथै यसको पूर्वतयारीका काम भने अहिले निर्माण व्यवसायीले गरिरहेका छन्।

अन्य भौतिक काम भने सडक विभागले डिजाइन स्वीकृति गरेपछि सुरु हुने केन्द्रका इन्जिनियर श्रेष्ठले बताइन्। हाल यसको फाइनल डिजाइन तयार भएको र यसको डिजाइन रिभ्यु गर्ने कार्य भइरहेको उनी बताउँछिन्।

उनका अनुसार गोदावरी कुण्ड-काभ्रे मानेचौर जोड्ने सुरुङमार्गको पनि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ।

यस्तै, इलाममा निर्माण गर्न प्रस्ताव गरिएको सुनमाई-राजदुवाली सुरुङमार्गको सम्भाव्यता अध्ययन गर्ने प्रस्तावको मूल्यांकन भइरहेको छ। यो सुरुङमार्गको लम्बाई १२ किमि हुने प्रारम्भिक सम्भाव्यता अध्ययनले देखाएको छ।

श्रेष्ठका अनुसार मझिमटार-शक्तिखोर सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन गर्न पनि प्रस्ताव मूल्यांकनको चरणमा छ। यसको लम्बाई ४.९ किलोमिटरको हुने अनुमान छ।

यसैगरी, केन्द्रका अनुसार दुम्कीबास-बर्दघाटको विस्तृत सम्भाव्यता अध्ययनको लागि परामर्शदाता छान्ने काम अन्तिम चरणमा छ। प्रारम्भिक चरणको सम्भाव्यता अध्ययनले उक्त सुरुङमार्ग ६.२१५ किमिको हुने देखाएको छ।

हेम्जा-नयाँ पुल खण्ड सडकमा निर्माण हुने सुरुङमार्गको पनि विस्तृत सम्भाव्यता अध्ययन गर्न परामर्शदाता छनोट प्रक्रिया अन्तिम चरणमा पुगेको केन्द्रले जनाएको छ। यसको लम्बाई ७ किलोमिटरको हुनेछ।  

यसैगरी, बबई-छिन्चु सुरुङमार्गको पनि अहिले सम्भाव्यता अध्ययन भइरहेको छ। जसमा परामर्शदाताले ‘कन्सेप्चुअल ड्रइङ’ केन्द्रलाई दिएको छ। यसको लम्बाई ४.८५० किमि छ। यो सुरुङमार्ग बर्दिया निकुञ्जमा पर्ने भएकाले स्वीकृति पाएको छैन। त्यसैले यसका अन्य कामहरु रोकिएको उनले बताइन्।

यस्तै, बिपीनगर-खुटिया दिपायल खण्डमा निर्माण हुने सुरुङमार्गको पनि सम्भाव्यता अध्ययनको काम भइरहेको छ। यसको लम्बाई ६ किलोमिटर रहने छ।

अर्को फुस्रेखोला-छोरेपाटन पोखरादेखि स्याङ्जा गुडिकोला टनेलको सम्भाव्यता अध्ययनको इन्सेप्सन रिपोर्ट केन्द्रमा प्राप्त भएको छ। यो सुरुङमार्ग ४.८५० किमि छ। यस्तै, रारा राजमार्गको कुशेपाटनमा निर्माण गर्ने तयारी गरिएको जाजरकोट ब्याउलीढुंगा र जुम्ला इर्मिलचया खोला टनेलको पनि सम्भाव्यता अध्ययन भइरहेको श्रेष्ठले बताइन्। यसको लम्बाइ ४.८५० किमि हुने अनुमान गरिएको छ।

बागलुङ बिहुँ-नरेठाँटी सुरुङमार्गको पनि सम्भाव्यता अध्ययन भइरहेको छ। यसको लम्बाई ४.८५० किमि हुने अनुमान छ। यस्तै, पाल्पामा प्रस्तावित प्रभास-जोर्ते सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ। यसको लम्बाई पनि ४.८५० किमि हुने अनुमान छ।

यसैगरी, ४.९ किलोमिटर लामो ताथली-रविओपी सुरुङमार्गको सम्भाव्यता अध्ययन भइरहेको छ। यी सबै सम्भाव्यता अध्ययन गर्न बाँकी सुरुङमार्गको अध्ययन गर्न ५ महिनाको समयावधि रहेको श्रेष्ठले बताइन्।

यी सुरुङमार्गहरु वैदेशिक सहयोगमा निर्माण गरिने योजना सरकारको छ। वैदेशिक अनुदान तथा ऋण सहायतामा निर्माण हुने सुरुङमार्गको संख्या धेरै छन्। जसमध्ये जापानले बिपी राजमार्गअन्तर्गतको खुर्कोट-चियाबारी र अरनिको राजमार्गअन्तर्गत कोटेश्वर-जडीबुटी सुरुङमार्ग निर्माण गर्ने योजना छ।

त्यस्तै चीनले टोखा-छहरे-गुर्जभञ्याङ सुरुङमार्ग र रसुवा बेत्रावती सुरुङमार्ग निर्माण गर्ने बताइएको छ। २२ वटामध्ये बाँकी २ वटामा कुलेखानी-भीमफेदी सुरुङमार्ग वाग्मती प्रदेश र गणेशमान सिंहमार्गको थानकोट-चित्लाङ सुरुङमार्ग एसडीसीले निर्माण गर्ने योजना छ।