
काठमाडौं। अन्तर्राष्ट्रिय हवाई यातायात संगठन आयटाले सन् २०२३ मा विश्व उड्डयन उद्योगले १० अर्ब अमेरिकी डलर नाफा गर्ने प्रक्षेपण गरेको छ।
सोमबार इस्तानबुलमा बसेको संगठनको बैठकले यस्तो प्रक्षेपण गरेको हो। विश्वभर कोभिड संक्रमण नियन्त्रणमा आएसँगै संगठनले नयाँ प्रक्षेपण सार्वजनिक गरेको हो। संगठनले तयार पारेको विवरण अनुसार गत डिसेम्बरदेखि हालसम्म विश्व उड्डयन उद्योगले करिब पाँच अर्ब अमेरिकी डलर नाफा आर्जन गरिसकेको छ।
कार्गो उडानबाट भएको आम्दानी, चीनले खुला गरेको आफ्नो सीमा क्षेत्र र विश्व बजारमा घटेको इन्धन मूल्यका कारण यो वर्ष १० अर्ब अमेरिकी डलरको नाफा प्रक्षेपण गरिएको संगठनका महानिर्देशक विली वाल्सले बताए।
यो वर्षभर विश्वभर चार अर्ब ३५ करोड यात्रुले हवाइ उडान गर्ने जनाइएको छ। सन् २०१९ मा हवाई यातायात सेवा लिने यात्रुको संख्या चार अर्ब ५४ करोड थियो। आयटाले तयार पारेको विवरण अनुसार सन् २०२० मा विश्वभर एक अर्ब ८० करोड यात्रुले हवाई सेवा लिएका थिए। कोभिडका कारण सो समयमा उड्डयन उद्योगले प्रति यात्रु ७६ अमेरिकी डलर घाटा व्यहोरेको थियो।
कोभिडकै कारण सन् २०२० देखि सन् २०२२ मा विश्व उड्डयन उद्योगले १८३ अर्ब अमेरिकी डलर घाटा व्यहोरेको जनाइएको छ।
‘आर्थिक सुनिश्चितिता होउन्जेल मान्छेहरु ब्यापार, भ्रमणका लागि हवाई सेवा लिँदै आएका छन्।’ महानिर्देशक वाल्सले भने,’विमानस्थलहरु व्यस्त छन्, होटलको अकुपेन्सी दर वृद्धि भइरहेको छ। स्थानीय अर्थतन्त्र चलायमान भइरहेको छ। र उड्डयन उद्योगको नाफा उकालो लागिसकेको अवस्था छ। ‘
कोभिडले रुग्ण पारेको व्यालेन्स सिटलाई पुरानै अवस्थामा फर्काउन भने उड्डयन उद्योगका लागि अझै चुनौतीपुर्ण भएको उनको भनाई छ।