वेबसाइट ह्याक गरेर दुई करोड नोक्सानी भएपछि जीडीएसको सुरक्षा प्रणाली बलियो बनाउँदै

बिजमाण्डू
२०८० जेठ २३ गते ११:१० | Jun 6, 2023
वेबसाइट ह्याक गरेर दुई करोड नोक्सानी भएपछि जीडीएसको सुरक्षा प्रणाली बलियो बनाउँदै

काठमाडौं। ट्राभल एजेन्सीको टिकेटिङ प्रणालीमा ह्याकर पसेर करिब २ करोड नोक्सानी पुर्‍याएपछि सुरक्षा सतर्कता अपनाउन थालिएको छ। प्रणालीमा समस्या आएसँगै नेपालका तीनवटा ग्लोबल डिस्ट्रिब्युसन सिस्टम (जीडीएस) कम्पनीका आधिकारिक कार्यालयले सतर्कता बढाएका छन्।

Tata
GBIME
Nepal Life

पाँच महिनायता जीडीएसको नाम गरेर पठाइएको मेलमार्फत विभिन्न ट्राभल एजेन्सीको दुई करोड रुपैयाँभन्दा बढी नोक्सान भएको छ। नेपालमा सेवा दिँदै आएका ग्यालिलिओ, सेवर, एमाडस लगायत कम्पनीले सो घट्नापछि आफ्नो प्रणालीमा सुरक्षा बढाएका हुन्।

पछिल्लो समय जीडीएसको नाममा नक्कली मेल पठाउँदै ट्राभल एजेन्सीको आधिकारिक साइट नै ह्याक भएपछि तीनैवटा जीडीएसले आफ्नो सुरक्षा बढाउन लागेका हुन्।

ह्याकरले जीडीएसको नक्कली आइडी प्रयोग गरेर आयटा (अन्तर्राष्ट्रिय हवाई यातायात संगठन), वायुसेवा कम्पनी र ट्राभल एजेन्सीमै प्रवेश गरेर प्रणाली नै दुरुपयोग हुँदै आएको नेपालस्थित सेवरकी महाप्रबन्धक अनुपा बुढाथोकीले बताइन्।

सेवरको मुख्यालयले आफ्नो सुरक्षा नै विस्तार गरिसकेको उनले बताईन्।

‘हाम्रो  सिस्टम सेक्योर नभएको होइन। ह्याकरले नाम प्रयोग गरेर ट्राभल एजेन्सीको युजर नेम र पासवर्ड लिएर दुरुपयोग गरेको हो,’ बुढाथोकीले बिजमाण्डूसँग भनिन्,’हामीले अहिले आफ्नो प्रणालीमा सबैभन्दा माथिल्लो लेवलको सुरक्षा विस्तार गरेका छौं। अब सिस्टम लग इन गर्दा दुईवटा उपकरणसँग जोडिने व्यवस्था लागू गरेका छौं।’

कम्पनीले आफूसँग आबद्ध प्रत्येक ट्राभल एजेन्सीमा यो व्यवस्था लागू गरेको उनले जानकारी दिइन्। आयटासँग आबद्ध ट्राभल एजेन्सीका लागि सुरक्षा प्रणालीको ‘सेकेण्ड फ्याक्टर अथेन्टिकेसन’ लागू भइसकेको उनले बताइन्।

‘हाम्रो मात्र होइन कुनै पनि जीडीएसको दुरुपयोग गरेर राज्यलाई घाटा लाग्ने किसिमको क्रियाकलाप नहोस्। यो विषयमा सबैले आ-आफ्नो तर्फबाट सतर्कता अपनाउन आवश्यक देखिएको छ,’ उनले भनिन्।

यो समस्या आएसँगै सुरक्षा बढाउन मुख्यालयमा पत्राचार गरिसकेको नेपालका लागि ग्यालिलियोकी उपमहाप्रबन्धक बनी श्रेष्ठले बताइन्। कम्पनीले सर्भरमार्फत सेवा दिँदै आएको छ। हालसम्म ह्याक भएको जानकारी नरहेको उनले जानकारी दिइन्।

‘हामी एप बेस भएका कारण हालसम्म यहाँको ट्राभल एजेन्सीबाट यस्तो प्रतिक्रिया आएको छैन। निकट भविष्यमा यस्ता समस्या आउला कि भन्ने विषयलाई लिएर हामीले सर्भे गर्दैछौँ। सिस्टम अपग्रेडेसनको काम नियमित रुपमा गर्दै आएका छौं,’ उनले भनिन्।

यो समस्या आएसँगै प्रणाली सुरक्षा विस्तारका लागि गृहकार्य सुरु गरेको नेपालका लागि एमाडसकी कन्ट्री म्यानेजर निर्मल दुग्गलले बताईन्।  ‘हाम्रो ‘मल्टिपल फ्याक्टर अथेन्टिकेसन’ भएका कारण जहाँ पनि सहजै सिस्टम खुला हुँदैन। कुनै पनि नौलो डिभाइसबाट सिस्टम खुला हुँदा नोटिफिकेसन आइहाल्छ,’ उनले भनिन्,’तर अहिले देखिएका घटनालाई मध्यनजर गर्दै हामीले स्पेनस्थित मुख्यालयमा पत्राचार गरिसकेका छौं। पक्कै यो विषयमा कम्पनीले आवश्यक कारवाही अगाडि बढाउनेछ।’

ट्राभल एजेन्सीको छाता संगठन नेपाल एशोसिएसन अफ टुर एण्ड ट्राभल एजेन्टले नोक्सानमा परेको व्यवसायीको घाटा व्योहोर्नका लागि वायुसेवा कम्पनी र जीडीएसलाई समन्वय गर्न निर्देशन दिइएको अध्यक्ष रमेश थापाले बताए।

‘सबै टिकट बिक्री भइसकेको नहुन सक्छ। आधा प्रयोग भएका र पुरा प्रयोग नभएका टिकट फिर्ताका लागि पेनाल्टी चार्ज नलिने व्यवस्था लागू गरिनेछ,’ उनले भने,’यो सँगै पीडीत कम्पनीलाई नेपाल प्रहरीमा सम्पर्क गरेर साइबर क्राइम ब्युरोमार्फत कारवाही अगाडि बढाउन निर्देशन दिइएको छ।’