मध्यपहाडी राजमार्गमा बागलुङ-बुर्तिबाङ खण्डको कामै नगर्ने भारत कन्स्ट्रक्सनसँग ठेक्का तोडिदै

बिजमाण्डू
२०८० जेठ २३ गते ०९:४२ | Jun 6, 2023
मध्यपहाडी राजमार्गमा बागलुङ-बुर्तिबाङ खण्डको कामै नगर्ने भारत कन्स्ट्रक्सनसँग ठेक्का तोडिदै

काठमाडौं। मध्यपहाडी राजमार्ग अन्तर्गतको बागलुङ-बुर्तिबाङ सडकमा कामै नगर्ने निर्माण कम्पनी भारत कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढेको छ।

Tata
GBIME
Nepal Life

पुष्पलाल मध्यपहाडी राजमार्ग आयोजना निर्देशनालयले मंगलबार सूचना जारी गर्दै बागलुङ-बुर्तिबाङ सडक खण्डको काम नगर्ने भारत कन्स्ट्रक्सनसँग ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइएको जनाएको छ।

निर्देशनालयले यसका लागि निर्माण कम्पनीसँग ठेक्का किन नतोड्ने? स्पष्टिकरणसहित कारण १५ दिनभित्र पेस गर्न निर्देशन दिएको छ।

यस कार्यालयसँग भारत कन्स्ट्रक्सन-सिद्धि साई जेभी बीच २०७३ माघ १४ मा सम्झौता भएको थियो। तर पछि समयमा काम सम्पन्न गर्न नसकेपछि विभिन्न मितिमा गरी ४ पटक म्याद थप भई यस ठेक्काको म्याद २०८० असार २० गतेसम्म थियो।

निर्माण कम्पनीले ७ वर्षमा पनि काम पुरा नगरेपछि त्यहाँका स्थानीय बासिन्दा आन्दोलित समेत भएका थिए।

पछिल्लो पटक म्याद थप हुँदा सार्वजनिक खरिद नियमावलीको १२औं संशोधन अनुसार माइलस्टोन तय गरि सो बमोजिम कार्य प्रगति हासिल नगएमा क्षतिपूर्ति तिराउने र ठेक्का तोड्न सकिने समेतको स्पष्ट व्यवस्था छ। १२औं संशोधन अनुसार म्याद थप पछि गरिएको साइट निरीक्षण पश्चात निर्माण कार्यलाई तीव्रता दिन कार्यालयबाट ६ पटकसम्म ताकेता गरिएको थियो।

हालसम्म कार्यालयले गरेका कुनै पनि पत्रको जवाफ नआएको र म्याद थप गर्दाका बखत तोकिएका माइलस्टोनमा हुनुपर्ने प्रगति समेत नभएको अवस्थाले गर्दा ठेक्का तोड्न लागिएको कार्यालयले जनाएको छ।

निर्माण व्यवसायीले लापरबाही गरि लामो समयसम्म निर्माण कार्य अलपत्र पार्दा अहिले त्यहाँका बासिन्दाले हिलो र धुलोका कारण सास्तीपूर्ण यात्रा गर्नुपर्ने बाध्यता छ।