
काठमाडौं। नेशनल लाइफ इन्स्योरेन्सको ३५औं वार्षिक साधारणसभाले चुक्ता पुँजीको ८ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ।
सभाले आर्थिक वर्ष २०७८/७९ को कायम चुक्ता पुँजीमा कर प्रयोजनका लागि एक करोड ९५ लाख रुपैयाँ नगद लाभांस दिने प्रस्ताव पनि अनुमोदन गरेको छ।
उक्त लाभांशको अतिरिक्त चुक्ता पूँजीमा ६.५ प्रतिशतको दरले थप नगद लाभांश प्रदान गर्ने प्रस्ताव पारित भएको छ।
नियामक निकायले जीवन बीमा कम्पनीको चुक्ता पूँजी ५ अर्ब पुर्याउनु पर्ने वाध्यात्मक ब्यवस्था गरेकोमा हालको कायम रहेको चुक्ता पूँजी ४ अर्ब ६४ करोडमा ८ प्रतिशतको वोनस शेयर थप भई कूल चुक्ता पूँजी ५ अर्ब १ करोड नाघेको छ।
आर्थिक वर्ष २०७८/०७९ मा कम्पनीको सबै वित्तीय सूचांक उत्साहप्रद रहेको छ। कम्पनीको कूल बीमाशुल्क १५ प्रतिशतले बृद्धि भई १४ अर्ब ४० करोड नाघेको छ।
जीवन बीमा कोष २०.८४ प्रतिशतले वृद्धि भई ५० अर्ब ८० करोड नाघेको छ। कूल लगानी १९.८५ प्रतिशतले वृद्धि भई ४७ अर्ब ३ करोड ९२ लाख पुगेको छ।